काठमाडौं । सरकार, राजनीतिक दल र जेनजीहरूबीच वार्ता सुरु भएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा त्रिपक्षीय छलफल चलिरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार छलफलमा प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिल कुमार सिन्हा, शिक्षामन्त्री महावीर पुन र सञ्चारमन्त्री जगदिश खरेल सहभागी छन् ।

त्यस्तै, राजनीतिक दलका तर्फबाट विभिन्न दलका १५ जना सहभागी छन् भने जेनजीका तर्फबाट १३ जना प्रतिनिधि सहभागी छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले निर्वाचनको माहोलका लागि पहिलो पटक सरकार, राजनीतिक दल र जेनजी पुस्ताबीच संयुक्त बैठक आयोजना भएको जानकारी गराएका छन् ।
यस अघि ४ कात्तिकमा सरकार र राजनीतिक दलहरूबीच छलफल भएको थियो ।
प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा भएको सर्वदलीय बैठकमा निर्वाचनको वातावरण बनाएर निर्धारित समयभित्रै निर्वाचन सम्पन्न गर्ने गरी सबैपक्ष सकारात्मक भएका थिए ।
यसबीचमा विभिन्न औपचारिक छलफल र संवाद पनि भएका थिए । लामो समयपछिको औपचारिक राजनीतिक संवादले निर्वाचन वातावरण तयार गर्ने अपेक्षा सरकारको छ ।







