२८ कार्तिक २०८३, शुक्रबार | Fri Nov 13 2026

अनुदान रकम दुरुपयोग हुँदा पुनःनिर्माण हुन सकेन


२३ कार्तिक २०७३, मंगलबार  

0
Shares

मेलम्ची, २३ कात्तिक । विनाशकारी भूकम्प गएको १८ महिना बितिसक्दा पनि सबैभन्दा बढी मानवीय तथा भौतिक क्षति भएको सिन्धुपाल्चोकमा अझै पनि पुनःनिर्माणले गति पाउन सकेको छैन ।

नेपाल सरकारले भूकम्पपीडितका लागि भनेर दिएकोे पहिलो किस्ताको रु ५० हजार समेत स्थायी आवास पुनःनिर्माणमा प्रयोग नभएकाले पुनःनिर्माणको कार्यले गति पाउन नसकेको हो ।

अनुदान सम्झौतालगत्तै भूकम्पपीडितका लागि पाएक पर्ने बैंकबाट अनुदान वितरण गरिएको थियो । दसैँको मुखमै अनुदानको रकम वितरण गरेकाले पनि पीडितले अनुदानको लागि पाएको पैसाले दसैँ खर्च चलाउनाले तथा उक्त रकम पुनःनिर्माण प्रयोग नगरी अन्यत्र दुरुपयोग गरेका कारणले पनि पुनःनिर्माण अन्योलमा परेको शेर्माथाङका कर्मतोप्के लामा ह्योल्मोले बताए ।

यसरी पुनःनिर्माणको लागि दिएको अनुदान दुरुपयोग भएका कारण जिल्लाभरिका अधिकांश गाविसमा पुनःनिर्माण हुन सकेको छैन । कतिपयले अनुदानको पहिरो रकम लिएर शौचालय समेत बनाउने गरेको पाइएको छ ।

Sagarmatha

भूकम्पले घर, शौचालय दुवै भत्काएपछि जलवीरेका कृष्णबहादुर खड्का शौचालय निर्माणमा आफैँ लागि परे । उनले भने, “बास बस्न पालको छानो छ तर हामीले शौचालय बनाउन महत्वपूर्ण ठान्यौँ ।”

अहिले सबैको घरमा चर्पी निर्माण भइसकेको छ । अनुदानको रकम सबैभन्दा बढी शौचालय बनाउनमा प्रयोग भएको देखिन्छ । भूकम्पअघि नै खुला दिसामुक्त गाविस घोषणा भइसकेकाले शौचालय निर्माणलाई पहिलो प्राथमिकता दिएको स्थानीय बताउँछन् ।

यसरी अनुदानको रकम अन्यत्र प्रयोग भएपछि अनुदानको पहिलो किस्ताले निर्माण गर्नुपर्ने स्थायी आवासको पहिलो चरणको जग खन्ने कार्य समेत सुरु नहुँदा सरकारले मापदण्डअनुरुप कार्य नभए दोस्रो किस्ताको रकम समेत उपलब्ध गराउँदैन । यसका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुसार आवास निर्माण गरेमात्र दोस्रो किस्ता वितरण गर्ने प्रावधान छ ।

जिल्लाको हिमाली गाविस हेलम्बु, गुन्सा, किउल, भोताङ, सेलाङलगायतका क्षेत्रमा समेत पुनःनिर्माणको अवस्था चिन्ताजनक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७३, मंगलबार  २ : ५३ बजे