काठमाडौं । ड्रागन मिडियामा प्रसारण समाचारको सार,चीन अध्ययन केन्द्रका अध्यक्ष तथा वरिष्ठ पत्रकार मदन रेग्मीले ड्रागन मिडियामा प्रकाशित चिनियाँ पत्रकार पु यु हाईको चर्चित लेखको पूर्ण समर्थन गरेका छन् र सरकार तथा राजनीतिक दलहरूलाई चीन–विरोधी गतिविधिहरू नियन्त्रण गर्न चेतावनी दिएका छन् ।
आफ्नो फेसबुक पेजमा विस्तृत विश्लेषण पोस्ट गर्दै रेग्मीले पु यु हाईको लेखलाई “समयसापेक्ष चेतावनी“ भनेका छन् र नेपालमा चीन–विरोधी तत्वहरूलाई चुनौती दिन अपील गरेका छन् । उनले लेखेका छन्, “हामीले चीनलाई खण्डित गर्न खोज्ने दलाई लामा गुट र त्यसलाई समर्थन गर्ने केही विदेशी शक्तिहरू, गुप्तचर एजेन्सीहरू तथा एनजीओहरूको निन्दा गर्नुपर्छ—यी सबैलाई नेपालमा विभिन्न प्रकारका चीन–विरोधी गतिविधि सञ्चालन गर्न राज्यका सुरक्षा एजेन्सीहरू, सरकार, प्रशासन तथा राजनीतिक दलहरूले दर्शक बनेर अनुमति दिइरहेका छन् ।”
रेग्मीको विश्लेषणले चीनको कूटनीतिक व्यवहारलाई नेपालका लागि ‘अल्टिमेटम’ (अन्तिम चेतावनी) को रूपमा व्याख्या गरेको छ । उनले दाबी गरेका छन्, “यदि हामीले सुधार गरेनौं भने, हाम्रो मैत्रीपूर्ण राष्ट्र चीनले हाम्रो सार्वभौमसत्ता, स्वतन्त्रता तथा क्षेत्रीय अखण्डतालाई मात्र नष्ट गर्ने होइन, निल्ने पनि छ ।”
वरिष्ठ विश्लेषक रेग्मीले नेपाली जनतालाई सक्रिय हुन आह्वान गर्दै भनेका छन्, “नेपाललाई चीनबाट अलग गर्ने तथा हामीलाई असहाय बनाउने अभियानविरुद्ध नेपाली जनताले सक्रिय भूमिका खेल्नु अत्यावश्यक छ । यदि चीन–विरोधी गतिविधिहरू रोक्न सकिएन भने, राज्य सत्ता, सुरक्षा एजेन्सीहरू, सेना तथा राजनीतिक दलहरूले चीनको गुमेको विश्वास फिर्ता ल्याउन कुनै कसर बाँकी राख्नु हुँदैन । ”
पु यु हाईको चेतावनी उद्धृत गर्दै रेग्मीले लेखेका छन्, “नत्र त पु यु हाईले भने जस्तै, ‘चीनको धैर्य अब समाप्त भइसकेको छ । मैत्री छनोट गरेर सम्मानपूर्वक बाँच्नुहोस्, वा छलकपट छनोट गरेर इतिहासले निर्धारित परिणाम भोग्नुहोस ।’”
उनले नेपाली राज्यलाई चीनप्रति ‘पिठ्युँमा छुरा हान्ने’ नीति अपनाएको आरोप लगाएका छन् र भनेका छन्, “नेपाली राज्यले लामो समयदेखि चीनलाई पिठ्युँमा छुरा हानेको पर्याप्त प्रमाण छन् । यस्तो छलकपटपूर्ण व्यवहार अब रोकिनुपर्छ ।”
लेखको अन्त्यमा रेग्मीले चीनसँगको मैत्रीलाई रणनीतिक आवश्यकता बताउँदै भनेका छन्, “राष्ट्रलाई बचाउन तथा निर्माण गर्नका लागि हामीले सधैं चीनसँग सम्मानपूर्वक मैत्री कायम राख्नुपर्छ । नेपाली जनता इमानदार छन् र चीनप्रति मौन मैत्री राख्छन ।”
मदन रेग्मीको यो विश्लेषणले कूटनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ। विश्लेषकहरूका अनुसार, यसले नेपालको चीन नीतिमा आन्तरिक बहसलाई नयाँ मोड दिएको छ भने केहीले यसलाई चीनको तर्फबाट नेपालमाथि दबाब सिर्जना गर्ने प्रयासको प्रतिध्वनि भनेका छन् । चीनले नेपालमा आफ्नो प्रभाव कायम राख्न तथा विदेशी (विशेष गरी पश्चिमी) प्रभावलाई सीमित गर्न रणनीतिक चासो राखेको देखिन्छ ।
२० माघ २०८२, मंगलबार
35
Shares







