२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

आयल निगम भन्छ:खाना पकाउने ग्यास मागभन्दा बढी आपूर्ति भइरहेको छ


२१ माघ २०८२, बुधबार  

14
Shares

काठमाडौं । पछिल्लो समय बजारमा खाना पकाउने एलपी ग्यास अभाव भन्दै फैलिएको हल्ला निराधार रहेको भन्दै नेपाल आयल निगमले तथ्यांक सार्वजनिक गरेको छ ।

निगमका कार्यकारी निर्देशक डा। चण्डिकाप्रसाद भट्टले तथ्यांक सार्वजनिक गर्दै देशमा ग्यास आपूर्ति मागभन्दा बढी भइरहेको जानकारी दिएका हुन् ।

देशमा ग्यास आपूर्ति मागभन्दा बढी रहेको तथ्यांक सार्वजनिक गर्दै उनले उपभोक्तालाई नआत्तिन आग्रह गरेका छन् ।

कार्यकारी निर्देशक भट्टका अनुसार नेपालमा दैनिक औसत ९० बुलेट करिब १ लाख १४ हजार सिलिन्डर ग्यासको माग रहेको छ । इन्डियन आयल कर्पोरेसन आईओसी बाट पछिल्ला दिनमा उक्त परिमाणभन्दा धेरै बढी ग्यास लोडिङ भइरहेको उनले बताए ।

भट्टले गत शनिबार १ सय १८ बुलेट अर्थात् १ लाख ४९ हजार ५ सय सिलिन्डर ग्यास लोडिङ भएको बताए । त्यसैगरी सोमबार १ सय १५ बुलेट अर्थात् १ लाख ४५ हजार ७ सय सिलिन्डर र मंगलबार १ सय ३२ बुलेट अर्थात् १ लाख ६७ हजार ३ सय सिलिन्डर ग्यास लोडिङ भएको उनको भनाइ छ ।

सो लोडिङ भएका यी बुलेटमध्ये केही नेपाल भित्रिसकेका र केही बाटोमै रहेको जानकारी दिँदै उनले आगामी चुनाव अवधिभरि पनि यसैगरी नियमित ग्यास आपूर्ति भइरहने दाबी गरे ।

ग्यास आपूर्ति सहज र पर्याप्त रहेकाले बजारमा अभाव हुन सक्ने त्रासका कारण घरमा अनावश्यक रूपमा सिलिन्डर स्टक नगर्न निगमले उपभोक्तालाई विशेष अनुरोध गरेको छ ।

निगमले आपूर्ति व्यवस्थामा कुनै समस्या नरहेकाले ढुक्क हुन आग्रह गर्दै अनावश्यक सञ्चयले बजारमा कृत्रिम दबाब मात्र सिर्जना गर्नेतर्फ सचेत गराएको छ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ८ : ३३ बजे