काठमाडौं । रुकुमपूर्वको सिस्ने गाउँपालिका-५ र ६ अन्तर्गत पर्ने कैचिमोड, कमलदहलगायतका क्षेत्रमा सडक अतिक्रमण गरेर बनाइएका संरचनामाथि डोजर चलेको छ । पटक-पटक सूचना, आग्रह र समयसीमा दिंदा पनि अटेरी गरेपछि गाउँपालिकाले कडा सुरक्षा व्यवस्थाबीच संरचना हटाउन सुरु गरेको हो ।
पुष्पलाल-मध्यपहाडी राजमार्ग क्षेत्र मिचेर बनाइएका घरटहरा, व्यावसायिक संरचना तथा अस्थायी निर्माण हटाउन गाउँपालिकाले यसअघि नै सार्वजनिक सूचना जारी गरेको थियो । तर, केही व्यक्तिले सरकारी निर्देशनलाई बेवास्ता गर्दै संरचना यथावत राखेपछि स्थानीय प्रशासन डोजरसहित मैदानमा उत्रिएको हो । सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले सरकारी जग्गा अतिक्रमण गरेर सडक नै साँघुरो बनाउने कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए ।
डोजर चलाइएका क्षेत्रमा सुरक्षाकर्मीसमेत परिचालन गरिएको छ । गाउँपालिकाले अब पनि राजमार्ग क्षेत्र मिचेर बनाइएका संरचना नरोकिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ । सडक अतिक्रमणका कारण राजमार्ग विस्तार, यातायात सञ्चालन र सार्वजनिक सुरक्षामै असर पर्दै आएको थियो । हटाइएका संरचनाबाट उत्पन्न हुने खर्च, क्षतिपूर्ति तथा अन्य दायित्व सम्बन्धित व्यक्तिबाटै असुल गरिने जनाइएको छ ।








