सन्तोष न्यौपाने/काठमाडौं । आमा-बुबा संसारबाट गएपछि बल्ल बुझ्दैछु- घर कहिल्यै खाली हुँदैन रहेछ । मान्छेहरू गएपछि त घर झन् धेरै बोल्दोरहेछ । उहाँहरू हुँदासम्म जुन घर सामान्य लाग्थ्यो, जसका भित्ता, झ्याल, ढोका, छानो र आँगन दैनिक जीवनका साधारण वस्तुजस्तै लाग्थे, आज त्यही घर मेरो स्मृतिको सबैभन्दा गहिरो पाना बनेको छ । पहिले घरभित्र बुबाआमा बोल्नुहुन्थ्यो, हाँस्नुहुन्थ्यो, आज उहाँहरु हुनुहन्न, तर उहाँहरुका आवाजहरू भित्ताभित्तामा प्रतिध्वनित भइरहेका छन् । पहिले आँगनमा पाइला पर्थे, आज सम्झनाहरूले त्यहाँ पाइला टेक्छन् । पहिले साँझहरू बुबाको प्रतीक्षामा बित्थे, आज ती साँझहरू उहाँकै स्मृतिमा बित्छन् ।
त्यो पुरानो पैतृक घर आज पनि उभिएको छ- समयका चिरा बोकेर, घाम-पानीले थकाएको छानो ओढेर, पुराना काठका झ्यालबाट अतीत नियाल्दै । कहिलेकाहीँ मलाई लाग्छ, त्यसका भित्तामा देखिएका ती चिराहरू चिरा होइनन्; ती त बुबाको निधारमा जीवनभर कोरिएका श्रमका रेखाहरू हुन् । छानोका जीर्ण टायलहरू पनि जीर्णता मात्र होइनन्; ती त आमाले जीवनभर हामीमाथि ओत बनेर ओढाइरहनुभएको ममताका तहहरू हुन् । घरको जीर्ण शरीरमा समयको थकान देखिन्छ, तर त्यही थकानभित्र मलाई मेरा बुबा-आमाको जीवनभरको संघर्ष देखिन्छ ।
हरेक काठमा बुबाको पसिनाको गन्ध छ, हरेक कुनामा आमाको हातको स्पर्श छ, र आँगनको माटोमा हाम्रो बालापनका नाङ्गा पाइला अझै दौडिरहेका छन् । यही आँगनमा हामी लड्यौँ, उठ्यौँ, हाँस्यौँ, रोयौँ, धुलोसँग खेल्यौँ, कहिले एकअर्कासँग झगडा गर्यौँ र केही बेरमै त्यो झगडा बिर्सेर फेरि सँगै खेल्यौँ । आमाको आवाज सुनिनासाथ खेल अधुरै छोडेर घरभित्र पस्ने ती दिनहरू आज पनि सम्झनाको कुनै कुनामा उस्तै ताजा छन् । समयले शरीरमा उमेर थप्दै गयो, तर त्यो आँगनले हाम्रो बालापनलाई कहिल्यै बूढो हुन दिएन ।

यही पिँढीमा आमाको काख नै हाम्रो संसार थियो । यही ढोकाको चौकोसबाट बुबा फर्किने बाटो हेर्दै कति साँझहरू बिताएका थियौँ । बुबा दिनभरि श्रमको घाममा थाकेर फर्किनुहुन्थ्यो- निधारमा पसिना, हातमा ठेला, लुगामा दिनभरको माटो र धुलो । तर ती थकित आँखाभित्र भने हाम्रो उज्यालो भविष्य हुन्थ्यो । उहाँको शरीरले थकान बोकेको हुन्थ्यो, तर मनले हामीलाई सपना बोकेर घर फर्किन्थ्यो । उहाँले आफ्नो जीवनको सहजता त्यागेर हाम्रो भविष्यको कठिन बाटो सजिलो बनाउन खोज्नुभयो ।
आमा पनि चुल्होको धुवाँभित्र आफ्ना रहरहरू जलाएर हाम्रो थालमा खाना मात्र होइन, आफ्नो सिंगो माया पस्किनुहुन्थ्यो । उहाँका हातबाट पाकेको साधारण खानामा पनि संसारकै मिठास मिसिएको हुन्थ्यो । आज महँगा भोजनले पेट भरिएला, स्वादले जिब्रो रिझाउला; तर आमाको हातको त्यो आत्मीय स्वाद कहाँ भेटिन्छ ? सायद त्यसैले आमाले पकाएको खाना केवल भोजन थिएन- त्यो त ममताको अर्को भाषा थियो ।
त्यसैले त्यो घर काठ, ढुङ्गा, माटो र टायलको संरचना मात्र होइन । त्यो बुबाको पसिनाले उठेको स्मारक हो, आमाको ममताले छाएको आकाश हो, हाम्रो बालापनको छहारी हो र उहाँहरूले छोडेर जानुभएको मायाको जीवित चिनो हो । त्यस घरका भित्ताहरूले हाम्रो परिवारको इतिहास बोकेका छन्; ढोकाले हाम्रा आगमन र प्रस्थानका कथा सम्झेको छ; आँगनले हाम्रो हाँसो सुनेको छ; अनि छानाले हाम्रा दुःख र सुख दुवैमा ओत दिएको छ ।
समय बित्दै गयो । मैले पनि अर्को घर बनाएँ- नयाँ भित्ता, नयाँ झ्याल, नयाँ ढोका, नयाँ रङ र नयाँ सुविधा । घर सुन्दर छ, सुविधासम्पन्न छ, आधुनिक छ । तर त्यहाँ एउटा कुरा भेटिएन- बुबा- आमाको स्पर्श । त्यतिबेला मैले गहिरोसँग बुझें- घर बनाउनु र घर पाउनु एउटै कुरा रहेनछ ।
सिमेन्टले भित्ता उठाउन सकिन्छ, ढुङ्गाले जग बसाल्न सकिन्छ, काठले झ्याल बनाउन सकिन्छ, रङले घर सजाउन सकिन्छ; तर प्रेम, आत्मीयता र स्मृतिले बनाएको घर कुनै निर्माण सामग्रीबाट फेरि बनाउन सकिँदैन रहेछ । नयाँ ढोकाले बुबाको पाइला चिन्दैन, नयाँ भित्ताले आमाको हात चिन्दैन, नयाँ आँगनले हाम्रो बालापनको आवाज सुन्दैन । त्यसैले कहिलेकाहीँ नयाँ घरको छानोमुनि बसेर मन आफैँलाई सोध्छः घर त बनाएँ, तर त्यो घर कहाँ पाएँ?
उत्तर पनि मनभित्रैबाट आउँछ- घर त्यही रहेछ जहाँ माटोले विगत बोलाउँछ; जहाँ पुरानो काठ छोएर बुबाको हात सम्झन सकिन्छ; जहाँ बतासको एउटा स्पर्शमा आमाको माया महसुस गर्न सकिन्छ; जहाँ भित्तामा परेको एउटा चिराले पनि विगतको कुनै कथा सुनाउँछ । घरको मूल्य त्यसको क्षेत्रफल, उचाइ वा सजावटले मात्र निर्धारण हुँदैन रहेछ; घरको वास्तविक मूल्य त त्यसमा बाँचेका मानिसहरू, सम्बन्धहरू र सम्झनाहरूले निर्धारण गर्ने रहेछन् ।
केही समयअघि यही पुरानो आँगनमा मैले आमा-बुबाकै नाममा सप्ताह पुराण लगाएँ । त्यो केवल धार्मिक अनुष्ठान थिएन; त्यो त उहाँहरूप्रतिको मेरो ऋण सम्झिने, उहाँहरूले दिएको संस्कारलाई फेरि एकपटक मनमा उतार्ने र उहाँहरूको स्मृतिलाई परिवार र आफन्तका बीच पुनः उज्यालो बनाउने अवसर थियो । आँगनमा मन्त्र गुञ्जिए, कथा वाचन भयो, दीपहरू बले, आशीर्वादका हातहरू उठे, आफन्त र मान्यजनहरू भेला भए । त्यो दिन मलाई लाग्यो-आमा-बुबा शरीरमा नहुनुभए पनि उहाँहरूले रोपेर जानुभएको संस्कार अझै यही आँगनमा जीवित रहेछ ।
आफन्तका अनुहारमा उहाँहरूको आत्मीयता देखेँ । मान्यजनका आशीर्वादमा उहाँहरूको संस्कार सुनेँ । दीपको ज्योतिमा उहाँहरूको स्मृतिको उज्यालो देखेँ तर मेरो कानले पुराणका कथा मात्र सुनेन; आँखाले आमा-बुबालाई खोजिरह्यो । कहिलेकाहीँ लाग्थ्यो-सायद उहाँहरू त्यही पुरानो पिँढीमा बसेर हामीलाई हेरिरहनुभएको छ । कथाका प्रत्येक शब्दसँग मैले उहाँहरूको सम्झना चढाएँ, दीपको प्रत्येक ज्योतिमा उहाँहरूको अनुहार खोजेँ र मनमनै भनेँ-“आमा, तपाईंले माया रोपेको यो आँगन अझै उज्यालो छ । बुबा, तपाईंले पसिना बगाएर उभ्याएको यो घर अझै उभिएको छ ।”
त्यस दिन मलाई झन् गहिरोसँग अनुभूति भयो-मान्छे शरीरबाट टाढा हुन सक्छ, तर माटोबाट टाढा हुँदैन रहेछ । आमा-बुबाको उपस्थिति कुनै टाढाको आकाशमा मात्र होइन; यही माटोको सुवासमा, यही घरको हावामा, यही आँगनको धुलोमा र हाम्रा संस्कारका हरेक तहमा बाँचेको हुँदोरहेछ ।
तर समयसँगै कसैको आवाज आयो-“घर पुरानो भयो, भत्काऊ । नयाँ बनाऊ । नत्र बेचिदेऊ ।” मेरो मनले त्यो कुरा स्वीकार्न सकेन । किन भत्काउनु ? चुहिएको छानो मर्मत गरौँला, चर्किएको भित्ता टालौँला, कुहिएको काठ फेरौँला, आँगनमा फेरि जीवन भरौँला । समयले थकाएका हरेक अंगलाई फेरि जीवन दिऔँला । तर घरको आत्मा नभत्काऔँ ।
किनकि पैतृक घर बेच्नु मेरो लागि ढुङ्गा-माटो र काठ बेच्नु मात्र होइन । त्यो त बुबाको पसिनाको इतिहास बेच्नु हो, आमाको ममताको छाया बेच्नु हो, आफ्नो बालापन बेच्नु हो, आफ्नै अस्तित्वको एउटा अमूल्य अंश गुमाउनु हो । सम्पत्तिको मूल्य कागजमा लेख्न सकिन्छ, तर आमाको स्पर्शको मूल्य कुन बजारले तोक्छ ? बुबाको पसिनाको मूल्य कुन तराजुले जोख्छ? घर बेचेर धन कमाउन सकिएला, तर बुबाको हात फेरि पाउन सकिँदैन, आमाको काख फेरि फर्काउन सकिँदैन । समयलाई पछाडि फर्काएर बालापन फेरि बाँच्न पनि त सकिँदैन ।
त्यसैले यो घर जोगाउनु महल जोगाउनु होइन-स्मृति जोगाउनु हो । चुहिएको छानो टाल्न सकिन्छ, चर्किएको भित्ता जोड्न सकिन्छ, पुरानो काठ फेरि बलियो बनाउन सकिन्छ; तर समयले मेटेको इतिहास फेरि लेख्न सकिँदैन । घरका घाउहरू निको पार्न सकिन्छ, तर घरले बोकेको कथा हरायो भने त्यसको पुनर्जन्म सम्भव हुँदैन ।
र आज मलाई अझ ठूलो सन्तोष छ-यी दुवै घर एक्ला छैनन् । एउटा घरमा हाम्रो अतीत सास फेरिरहेको छ, अर्को घरमा हाम्रो वर्तमान र भविष्य । एउटामा आमा-बुबाको सम्झना छ, अर्कोमा हामीले बनाएको जीवन । यी दुई घरलाई जोड्ने एउटै अदृश्य धागो छ-माया ।
मेरी श्रीमती पुरानो घरका घाउहरूमा मर्मतको मलम लगाउँछिन्, आँगन सिँगार्दै घर जोगाउँछिन् र नयाँ घरको संसारलाई पनि उस्तै आत्मीयताले सम्हाल्छिन् । उनी घरकी संरक्षक मात्र होइनन्; आमा-बुबाबाट बलेर आएको उज्यालोको दीप समातेर अर्को पुस्तासम्म पुर्याउने माध्यम पनि हुन् । हरेक बिहान उज्यालोका सपना बोकेर उनी विद्यालयतिर लाग्छिन् । कक्षाकोठामा साना आँखाभित्र लुकेका ठूला सपनाहरू पढ्छिन्, ती सपनालाई पखेटा दिन्छिन्, अज्ञानका पर्दा चिर्दै भविष्यको बाटो देखाउँछिन् । मलाई लाग्छ-आमाको हातले बाल्नुभएको त्यो सानो दियो घरको चौकोस नाघेर समयका पाइलाहरू पछ्याउँदै आज मेरी श्रीमतीको हातमा ज्ञानको दीप बनेर धेरै बालआँखासम्म पुगेको छ । आमाले एउटा घर उज्यालो पार्नुभयो; उनी धेरै घरका भविष्य उज्यालो पारिरहेकी छिन् । बुबाले पसिनाले एउटा घर उभ्याउनुभयो; उनी ज्ञानले भोलिका पुस्ता उभ्याइरहेकी छिन् ।
र मेरी छोरी-कहिले त्यो पुरानो आँगनमा हजुरबा-हजुरआमाको अदृश्य छायासँग खेल्छे, कहिले नयाँ घरमा आफ्नो भविष्यको सपना बुन्छे। हिजो जुन आँगनमा हाम्रो बालापन दौडिएको थियो, आज त्यही आँगनमा छोरीका पाइला छन् । समयले बालापनका अनुहार फेरिदिएको छ, तर आँगनले बालापनको अर्थ बदलेको छैन । सायद यही नै समयको सबैभन्दा सुन्दर निरन्तरता हो-हिजो हामी थियौँ, आज छोरी छे, भोलि उसका सन्तानहरू होलान् । घर उही रहनेछ तर कथा बदलिँदै जानेछ ।
बुबाको पसिनाबाट घर उठ्यो, आमाको मायाबाट परिवार बन्यो, सप्ताह पुराणबाट संस्कारले निरन्तरता पायो, श्रीमतीको शिक्षाबाट उज्यालो फैलियो र छोरीको हाँसोबाट भविष्यले आकार लियो । त्यसैले त्यो पुरानो घर अब अतीतको भग्नावशेष मात्र होइन-यो पुस्ताहरू जोड्ने एउटा जीवित पुल हो । एक छेउमा बुबाको पसिना छ, अर्को छेउमा आमाको माया; बीचमा हाम्रो बालापन छ र अर्को किनारमा छोरीको भविष्य ।
त्यसैले यो घर भत्काउने होइन-मर्मत गर्नेछौँ । बेच्ने होइन-सम्झेर राख्नेछौँ । यसका घाउहरूमा समयको मलम लगाउनेछौँ, यसका थाकेका काठहरूलाई फेरि बलियो बनाउनेछौँ र यसको आँगनमा छोरीको हाँसो गुञ्जिन दिनेछौँ । किनकि घरको जीर्ण शरीर मर्मत गर्न सकिन्छ, तर घरले बोकेको इतिहास मेटिएपछि फेरि लेख्न सकिँदैन ।
मलाई थाहा छ, भोलि छोरीले एक दिन सोध्नेछे-“बुबा, यो पुरानो घर किन जोगाउनुभएको ?” त्यस दिन म उसको हात समातेर त्यो पुरानो भित्तोतिर लैजानेछु र भन्नेछु-“छोरी, यही घरमा तिम्रा हजुरबा-हजुरआमाले आफ्नो जवानी छोड्नुभएको थियो । यही माटोमा तिम्रो बुबाको बालापन हुर्किएको थियो । यही आँगनमा उहाँहरूकै नाममा सप्ताह पुराण लागेको थियो । यही आँगनमा आफन्तका पाइला टेक्थे, इष्टमित्रका हाँसो गुञ्जिन्थे, मान्यजनका आशीर्वाद झर्थे र यही घरमा हाम्रो परिवारको इतिहासले आकार लिएको थियो ।”
त्यसपछि उसले पुरानो भित्तो छुनेछे । म भन्नेछु-“स्पर्श गर छोरी, यहाँ तिम्रा हजुरबा-हजुरआमाको माया अझै बाँचेको छ।” सायद उसले त्यो भित्तामा केही देख्नेछैन तर म जान्नेछु-त्यहाँ समयभन्दा पुरानो एउटा कथा छ । त्यहाँ एउटा परिवारको इतिहास छ । त्यहाँ श्रमको सुगन्ध छ, ममताको न्यानोपन छ, बालापनको हाँसो छ र एक पुस्तादेखि हस्तान्तरण हुँदै आएको प्रेम छ ।
आमा-बुबा जानुभयो, तर घर गएन । स्पर्श हरायो, तर माया हराएन । समय बित्यो, तर सम्झना बितेन । त्यसैले यी दुई घर मेरा लागि दुईवटा संरचना मात्र होइनन् । एउटा मेरो अतीत हो, अर्को मेरो वर्तमान । एउटामा आमा-बुबाको आशीर्वाद छ, अर्कोमा छोरीको भविष्य र यी दुवैलाई मायाले जोडिरहेकी मेरी श्रीमती घरको चौघेरो सम्हाल्ने हात मात्र होइनन्; आमा-बुबाबाट बलेर आएको उज्यालोको दीप समातेर असंख्य बालमनमा भोलिको बाटो देखाइरहेकी एउटी शिक्षिका पनि हुन् ।
त्यसैले मेरो पैतृक घरलाई म मनमनै भन्छु-तिमी भत्किनु हुँदैन । तिम्रा घाउहरूमा मर्मतको मलम लागोस् । तिम्रा थाकेका काठहरू फेरि बलिया बनून् । तिम्रो आँगनमा छोरीको हाँसो गुञ्जिरहोस् । तर तिम्रो स्मृति कहिल्यै नमेटियोस् ।
किनकि तिमी बुबाको श्रमको साक्षी हौ, आमाको ममताको छाँया हौ, हाम्रो बालापनको संरक्षण हौ, सप्ताह पुराणमा पुनः जागेको हाम्रो संस्कार हौ, आफन्त र सम्बन्धको चौतारी हौ, मेरी श्रीमतीको संरक्षणले बाँचेको धरोहर हौ र आउने पुस्ताले आफ्ना पुर्खाको कथा पढ्ने जीवित पाना ।
तिमीलाई जोगाउनु एउटा पुरानो घर जोगाउनु होइन-हामी को हौँ भन्ने कथा जोगाउनु हो ।
त्यसैले यो घर बेचिने छैन । सम्झनामा बाँच्नेछ । भत्किने छैन-मर्मत भएर उभिनेछ । मेटिने छैन-पुस्तौँसम्म बोलिरहनेछ ।
किनकि यसका भित्तामा केवल माटो छैन-बुबाको पसिना छ । यसको छानामुनि केवल ओत छैन-आमाको ममता छ । यसको आँगनमा केवल धुलो छैन-हाम्रो बालापन छ । यसको हावामा केवल सुवास छैन-आमा-बुबाको सम्झना छ ।
आज उहाँहरू शरीरमा हुनुहुन्न तर उहाँहरूको माया अझै यस घरका भित्ताभित्तामा सास फेरिरहेको छ । सायद त्यसैले, आमा-बुबा गएपछि मसँग बाँकी रहेको सबैभन्दा ठूलो घर यही घर हो । पुरानो काठ छोएर बुबालाई सम्झन्छु, आँगनको माटो छोएर आमालाई सम्झन्छु, छोरीको हाँसो सुनेर भोलि देख्छु । अनि मनमनै भन्छुः
मान्छेहरू जान्छन्,
समय जान्छ,
पुस्ताहरू बदलिन्छन्;
तर साँचो माया
घर छोडेर कहिल्यै जाँदैन ।
त्यही माया आज पनि
मेरो पैतृक घरमा
बुबा-आमाको स्पर्श बनेर
बाँचेको छ ।







