२८ आश्विन २०८३, बुधबार | Wed Oct 14 2026

बक्राहाका बाढीपीडित रातभर जाग्रम बस्छन्


९ असार २०७४, शुक्रबार  

0
Shares

पथरी (मोरङ), ९ असार । पानी परेको रात मोरङको हसन्दह–अमदरदह र सुगाबजार क्षेत्रका सर्वसाधारण रातभर जग्रम बस्ने गरेका छन् । स्थानीयवासी धिरेन्द्र कार्कीका अनुसार बर्सात भएको रात बक्राहा खोला कतिखेर गाउँमै पस्ला र बगाउला भन्ने टुङ्गो नभएपछि रातभर जाग्रम बस्न बाध्य भएका हुन् ।

उहाँले भन्नुभयो, “बर्सात भएको रात जाग्राम बस्ने गरेका छौँ कतिखेर कता दर्गुनुपर्ने हो भनेर पोका पुन्तुरा कसेर भाग्न तयारी अवस्थामा हुन्छौँ ।” गत वर्ष भएको बर्सातको कारण नजिकै रहेको बक्राहाले बाँध भत्काएर खोला हसन्दह र अमरदह, सुगाबजार गोविन्दपुरका विभिन्न क्षेत्रमा पसेर हजारौँ बिघा जमिन बगरमा परिणत गरेको थियो । लाखौँ रुपैयाँको धनजनको क्षति भएको थियो । यसपटक पनि बक्राहा खोलाले कटान गरेको क्षेत्रमा तटबन्धन निर्माणमा ढिलासुस्ती भएको छ । तटबन्ध निर्माण कार्यमा ढिलासुस्ती भएका कारण मोरङको अमरदह–हसन्दहका सर्वसाधारण आन्दोलित भएको स्थानीय प्रताप तामाङले बताउनुभयो ।

हसन्दह–अमरदह क्षेत्रमा बाढी पसेको एक वर्ष बित्दासमेत सरकारी निकायले तटबन्धन निर्माणको काम सम्पन्न गर्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यलय मोरङमा चाँडोभन्दा चाँडो काम सम्पन्न गर्न ध्यानाकर्षण गराइएको छ । ठेक्का लागेको सात महिना भइसक्दासमेत कुनै काम नगरेको भन्दै छिटोभन्दा छिटो बक्राहा खोलाको बाँध बाँध्न अनुरोध गरेको स्थानीयवासी अगुवा देवेन्द्र बस्नेतले बताउनुभयो ।

Sagarmatha

ठेक्केदारले तटबन्धन निर्माणको काम ढिलासुस्ती गरेको स्थानीयवासी नगेन्द्र कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेसम्म ठेकेदारले तटबन्धन बाँध्ने कुनै काम गरेको छैन ।” जिल्ला प्रशासन कार्यालय मोरङले बक्राहाको तटबन्धन निर्माण गर्न सकेसम्म चाँडो तटबन्धन निर्माण गर्न पहल गर्ने बताएको छ । मोरङका सहायक प्रजिअ शेषनारायण पौडेलले बर्खाभन्दा अगावै काम सम्पन्न गर्नेगरी काम गर्न सम्बन्धित निकायमा कुरा गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सो बाँध निर्माण गर्न चाँडोभन्दा चाँडो प्रयास गर्नेछौँ ।”
जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय विराटनगरका प्रमुख डा देवनारायण साहले बक्राहाको तटबन्धनको काम सकेसम्म चाँडै सक्ने बताउनुभयो ।

प्रकाशित मिति : ९ असार २०७४, शुक्रबार  ४ : १० बजे