भूकम्पपीडित सम्झौताबाट वञ्चित

0 Shares

त्रिशूली (नुवाकोट), २४ भदौ । सरकारले घर बनाउने अनुदान रकम देला र घर बनाउने सुरसार गरौँला भनेर बसेका घ्याङ्फेदी गाविसका भूकम्पपीडितसँग अनुदान सम्झौता हुन नसक्दा हजारौँ भूकम्पपीडित अनुदान पाउनबाट वञ्चित हुने भएका छन् ।

भूकम्पले भत्काएको डेढ वर्ष बितिसकेको छ । सरकारले भूकम्पपीडितसँग निजी आवास अनुदानको सम्झौता गर्न थालेको छ महिना पुगिसक्दा पनि घ्याङ्फेदीका पीडितसँग भने अनुदान समेत सम्झौता हुन सकेको छैन । सिङ्गै गाविस गुठीको जग्गामा बस्दै आएको कारण यहाँका पीडित अनुदान सम्झौताबाट वञ्चित भएका हुन् ।

जिल्लामा ५१ हजारभन्दा बढी भूकम्पपीडितसँग अनुदान सम्झौता भइसक्दा पनि घ्याङ्फेदीमा एक जनाको पनि सम्झौता हुन सकेको छैन । यस्तै शिखरबेँसी र लच्याङ गाविसमा भूकम्पपीडित सम्झौताबाट वञ्चित भएका हुन् ।

गोसाइँकुण्ड गुठीका नाममा गाविसमा जग्गा रहेको कारण घ्याङ्फेदी गाविसका अहिलेसम्म एक जनाको पनि निजी आवास निर्माणका लागि अनुदान सम्झौता हुन नसकेको गाविस सचिव राजु अधिकारीले बताउनुभयो । “सरकारले गुठीको जग्गाको लागि के गर्ने भनेर निर्णय गर्नासाथ हामी काम थाल्छौँ तर के गर्ने भन्ने निर्णय नआएकाले रोकिएको हो” उहाँले भन्नुभयो ।

घ्याङ्फेदीका सबै जग्गा रसुवाको धार्मिकस्थल गोसाइँकुण्डका नाममा गुठीमा रहेको छ । सरकारले प्रकाशन गरेको लाभग्राहीको सूचीमा गाविसमा ८०४ जनाको नाम छ ।

यस्तै शिखरबेँसी गाविसका पनि धेरैको गुठीकै जग्गाको कारण सम्झौता हुन सकेको छैन । शिखरबेँसीमा ४०० जनाको गुठीकै जग्गाको कारण अनुदान सम्झौता हुन नसकेको गाविसका प्राविधिक सहायक रुद्रप्रसाद भट्टराईले बताउनुभयो । “सम्झौता गर्दा लालपुर्जा अनिवार्य गरेको छ सरकारले । गुठीको जग्गा कमाउनेको आफ्नो व्यक्तिगत जग्गा धनी प्रमाणपत्र नहुँदा समस्या भएको हो” उहाँले भन्नुभयो ।

यस्तै लच्याङ गाविसका भैरवी मन्दिरको गुठीको जग्गामा बसोबास गर्ने ८५४ जना भूकम्पपीडित सम्झौताबाट वञ्चित भएका छन् । गुठीको जग्गालाई आफ्नो नाममा नामसारी गराउन पटक पटक पहल गर्दा सफल नभएका पीडितले भूकम्पपछि झनै पीडित हुनुपरेको छ । पीडितको खातामा पहिलो किस्ताको रकम जान थालिसकेका बेलामा गुठी जग्गा कमाउने पनि सम्झौता समेत नहँुदा के कसो हुने हो अन्योलमा छन् ।

पुस्तौँदेखि गुठीको जग्गामा बसेको सबैलाई थाहा हँुदा पनि सरकारले बेलैमा निर्णय नगर्दा घर बनाउने काम थाल्न नपाइएको घ्याङ्फेदी–६ सिसिपुका राजु तामाङले बताउनुभयो । अरु गाविसमा सम्झौता भइसकेर धमाधम अनुदानको पहिलो किस्ता लिइरहेका बेलामा घ्याङ्फेदीमा कामै सुरु नहुनु दुःखद् रहेको तामाङले बताउनुभयो ।

गुठीको जग्गाका विषयमा कुनै पनि निर्देशिका नआएका कारण सम्झौता रोकिएको जिल्ला आयोजना कार्यान्वयन एकाइका प्रमुख लोकनाथ रेग्मीले बताउनुभयो । सरकारले छिट्टै त्यसको निर्णय गरी हामीलाई निर्देशन दिने आशा राखिएको उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार