२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

पहिरोले मेचीराजमार्ग अवरुद्ध, यात्रु अलपत्र


२७ भाद्र २०७३, सोमबार  

21
Shares

ताप्लेजुङ, २७ भदौ । अविरल वर्षासँगै गएराति झरेको पहिरोका कारण मेची राजमार्गअन्तर्गत पाँचथर ताप्लेजुङ सडकखण्ड पुनः अवरुद्ध बनेको छ ।

गत भदौ १७ गते गएको पहिरोले सडक अवरुद्ध भए पछि स्काइभेटर मेसिनको सहायताले सात दिन पछि नयाँ ट्रयाक खोलेर सडक सञ्चालनमा ल्याइए पनि पुनः त्यही ठाउँमा झरेको पहिरोले सडक अवरुद्ध भएको हो । पहिले गएको क्षेत्रबाट नै पुनः पहिरो झरेको बताइएको छ । पहिरो पाँचथर ताप्लेजुङ सडकखण्डको ल्याङ्वा, बहानन्दे क्षेत्रमा झरेको हो ।
पहिरोका कारण सडक अवरुद्ध भएसँगै सो क्षेत्रको गोरेटो बाटो समेत बन्द भएको स्थानीय रुपनारायण भट्टराईले जानकारी दिए ।

पहिरोले सडक अवरुद्ध बने पछि पाँचथर, इलाम, झापालगायतका ठाउँमा जाने र जिल्लामा भित्र्ने दर्जनौँ सवारीका साधन बीच बाटोमै रोकिए पछि सयौँ यात्रु अलपत्र परेका छन् भने सवारीसाधनलाई सुरक्षित स्थानमा राखिएको छ ।

गएराति देखिनै परेको वर्षा अझै जारी रहेकाले र पहिरो समेत झरिरहेकाले तत्काल पहिरो पन्छाउन सकिने अवस्था नरहेको सडक डिभिजन कार्यालय इलामले जनाएको छ ।

Sagarmatha

यदि वर्षा रोकिएमा छोटो समयमा नै बाटो खुलाउन सकिने र वरपरका केही क्षेत्रमा भने अहिले पनि पन्छाउने कार्य जारी रहेको कार्यालयका फिल्ड सुपरभाइजर नवीन उप्रेतीले जानकारी दिए ।

प्रकाशित मिति : २७ भाद्र २०७३, सोमबार  ४ : ४७ बजे