दाङ, नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपाली काँग्रेसले प्रतिपक्षमा बसेर नमूना प्रतिपक्षको भूमिका निभाउने बताएको छ ।
प्रेस युनियन दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता शर्माले काँग्रेसले सरकारका सकारात्मक कामको समर्थन गर्ने र कमीकमजोरी औँल्याएर सहयोग गर्ने भद्र प्रतिपक्षीको भूमिका निर्वाह गर्ने रणनीति अपनाएको बताए ।

काँग्रेस लगातार नहार्ने र लगातार नजित्ने पार्टी भएको भन्दै पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उहाँले अब पार्टीलाई नवीनतम बनाउन लागिएको उल्लेख गरे।
“काँग्रेसले नेतृत्व गरेको सरकारलाई जति चुनौती थिए, अहिले ओली नेतृत्वको सरकारलाई छैन, यो अवस्थामा पनि वर्तमान सरकारले आर्थिक वृद्धिदरलाई आठ अंकमा पु¥याउन सकेन भने त्यो सबैभन्दा ठुलो दुर्भाग्य हुनेछ”, युवा नेता शर्माले भने ।

उहाँले प्रधानमन्त्रीलाई दृढ इच्छाशक्ति, विशाल हृदय र अधिकतम लचकता अपनाएर समृद्धिका पक्षमा अघि बढ्न पनि सुझाव दिए ।
उहाँले वर्तमान सरकारले ल्याएको बजेट यथार्थपरकभन्दा पनि बढी महत्वाकांक्षी भएको बताए।







