सोलुखुम्बु बोलेरो दुर्घटनाले उब्जाएको तीन शंका

बोलेरो जीप दुर्घटनाका १० हृदयविदारक तस्वीर

Facebook Debugger

सोलुखुम्बु । नेचासल्यान गाउँपालिका वडा नं. २ सल्यानबाट सदरमुकाम सल्लेरी तर्फ जाँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा बोलेरोमा सवार सातै जनाको मृत्यु भएको छ । ६ जनाको दुर्घटना स्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारको क्रममा जिल्ला अस्पताल फाप्लुमा मृत्यु भएको छ ।

बोलेरो दुर्घटनालाई लिएर विभिन्न किसिमका शंका, उपशंका र अड्कलबाजी लगाउँन थालिएको छ । कसैले सवारी साधनलाई दोष लगाएका छन्, त कसैले चालकलाई । अनि कसैले बाटोलाई । दुर्घटना हुने मुख्य कारण पनि यी तीनैमध्ये एक हो । राम्रो बाटो र सीपालु चालक भएर मात्र हुँदैन ? यदि सवारी साधन ठीक छैन भने कुनै न कुनै समय बिग्रिन सक्छ । तेर्सोबाटोमा बिग्रियो भने त ठीकै हो, तर उकालो र ओरालो बाटोमा बिग्रियो भने त दुर्घटना नहोला भन्न सकिन्न ?

यी तीन कारणलाई विश्लेषण गर्दा यीमध्ये एक कारणले गर्दा दुर्घटना भएको अनुमान लगाउन त्यत्ति गाह्रो नहोला । यी तीन कारणलाई विस्तृत रुपमा यसरी विश्लेषण गरिएको छ ।
शंका नं. १
सबैभन्दा पहिले त सवारी साधन ठीक हुनुप¥र्यो । अनि मात्र चालक र बाटोको विषय हुन सक्छ । यदि सवारी साधन ठीक छैन भने कुनै न कुनै बेला साधन बिग्रिन सक्छ । त्यसैले सवारी साधन ठीक छ की छैन भनेर समय समयमा जाँच गराउँनु पर्छ ।

तिङ्लाको महादेव भीरमा भएको बोलेरो दुर्घटनामा पनि सबैभन्दा पहिलो शंका सवारी साधनको अवस्था कस्तो थियो भन्ने प्रश्न उब्जिन स्वभाविक छ । दुर्घटना स्थलको बाटोलाई हेर्दा अप्ठ्यारो बाटो पारगरी दम्साईलो उकालोमा दुर्घटना भएको छ । दुर्घटनाको प्रकृतिलाई हेर्दा सवारी साधनको अवस्थाप्रति शंका गर्ने प्रशस्त ठाउँहरु भेटिन्छन् ।

नेचासल्यान गाउँपालिकाको सीमाना समाप्ती पश्चात करिब दुई किलोमिटर बाटो त्यो क्षेत्रकै सबैभन्दा अप्ठ्यारो र कठिन छ । महादेवको मन्दिरलाई तल र माथिबाट बाटोलाई अप्ठ्यारो तरिकाले घुमाइएको छ । जसले त्यो क्षेत्रमा सजिलै सवारी साधन चलाउन चालकलाई कठिन र साहास चाहिन्छ ।

गएको साउन महिनादेखि उपत्यकामा सार्वजनिक सवारी साधनले ६/६ महिनामा र नीजि सवारी साधनलाई १ वर्षमा एक पटक प्रदुषण जाँच गराउने नियम छ । अहिले उपत्यका लगायत देशभरका महानगर र उपमहानगमा ४० वटा मेसिनले डिजेल गाडीको प्रदुषण जाँच गर्ने ‘स्मोक मिटर’ र पेट्रोल गाडीको प्रदुषण जाँच गर्ने ‘ग्याँस एनालाइजर’ को प्रयोग गरी यातायात विभागले सवारी साधन जाँच गरिरहेको छ । तर कच्ची र पहाडी बाटोमा चल्ने सवारी साधनहरुको कति समयमा जाँच गरिन्छ ? अनि केहि समस्या आए त्यो समस्यालाई तत्कालै समाधान गर्ने वर्कशपसम्म पु¥याउन सकिन्छ त ? यी र यस्ता समस्याहरु यावत रुपमा यत्रतत्र छरिएर रहेका छन् ।
शंका नं. २
बोलेरो दुर्घटनाको दोस्रो शंका कच्ची र साँघुरो बाटोलाई लिन सकिन्छ । सवारी साधन र चालक राम्रो भएर मात्र हुँदैन । यदि बाटो नै अप्ठ्यारो भयो भने चालक र सवारी साधनको सानो गल्तीले पनि ठूलो दुर्घटना हुन सक्छ । गुप्तेश्वर महादेव भीरमा भएको दुर्घटनामा पनि अप्ठ्यारो बाटोका कारण भएको हो भन्ने अड्कल लगाउँदा अस्वभाविक हुँदैन ।

सोलुखुम्बु, ओखलढुंगा र खोटाङ जिल्लालाई जोड्ने क्षेत्रिय सडकको रुपमा समेत विकास गर्दै लगिएको यो सडक भौगोलिक र प्राविधिक रुपमा त्यत्ति उपयुक्त छैन । यो सडकलाई प्राविधिक रुपमा भन्दा पनि केहि व्यक्तिको स्वार्थ अनुरुप विस्तार गरिएकाले जुन आकारमा सडकको ट्रयाक खोल्नु पर्ने हो त्यत्ति मात्रमा सडकको चौडाई छैन । जसको कारण दुर्घटना बढि हुन सक्ने सम्भावना पनि हुन्छ ।

नेपालको प्रायः सबै क्षेत्रमा खनिएका अधिकांश सडकहरु न्यूनतम मापदण्ड समेत पूरा नगरि व्यक्तिगत स्वार्थको लागि खनिएकाले दुर्घटनाहरु भइरहन्छन् । जुनसुकै क्षेत्रमा सडक खन्दा प्राविधिक रुपमा र वातावरणीय प्रभाव मूल्याङकन गरी खन्नु पर्छ । तर सोलुखुम्बुमा पछिल्लो समयमा खनिएका कुनै पनि सडकको वातावरणीय प्रभाव मूल्याङन त कता हो कता सामान्य प्राविधिक र भौगोलिक अवस्थालाई समेत वास्ता नगरी मनलाग्दी रुपमा खनिएका छन् । त्यसैको कारण पनि यस्ता किसिमका दुर्घटनाहरु दोहोरी रहन्छन् ?

शंका नं. ३
राम्रो बाटो र कण्डिसनको सवारी साधन मात्र भएर हुँदैन । चालक पनि अनुभवी र दक्ष हुनुपर्छ । यो दुर्घटनामा चालकको पनि गल्ति हुन सक्छ । दुर्घटनाको प्रकृतिलाई हेर्दा अप्ठ्यारो बाटो पार गरी दम्साईलो उकालोबाट गाडी दुर्घटनामा परेको छ । जसले चालकलाई पनि दुर्घटनाको कारण हो की भन्ने शंका लगाउनु स्वभाविक हुन्छ ।

यो दुर्घटनालाई हेर्दा चालकको लापर्वाही, कमजोरी वा गल्तीले भएको शंका गर्ने केहि कारणहरु छन् । किनभने अप्ठ्यारो बाटो पारगरी सो क्षेत्रको केहि सजिलो बाटोमा दुर्घटना भएको छ ।

तस्वीरः सन्तोष राउत/प्रकाश गाउँले
यी तीन शंकालाई दुर्घटना पश्चात उद्धारमा खटिएका उद्धारकर्मी र दुर्घटनाको प्रकृतिलाई हेरेर उब्जिएका स्वभाविक अनुमान र आँकलनहरुको रुपमा व्याख्या गरिएको हो । विकास र समृद्धिको नाममा न्यूनतम मापदण्ड समेत पूरा नगरि गरिएका विकासले यस्ता दुर्घटना निम्त्याई रहेका छन् । त्यसैले विकास र समृद्धि हतारमा होइन, प्राविधिक र मापदण्ड अनुसार नै बनाउँदा सबैलाई राम्रो होला की ?

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार