२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

के के हुन् मोलुङ –७ का वडा अध्यक्ष हेम सुनुवारले एक वर्षमा गरेका ११ काम ?


२१ असार २०७५, बिहिबार  

588
Shares

ओखलढुंगा । मोलुङ गाउँपालिका ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवार वडा कार्यालय जान विहान ७ बजे हिड्छन् । उनको घरबाट वडा कार्यालय तीन घण्टा टाढा छ । वडामा सचिव पनि छैनन् । सचिवको सबै जसो काम आफै गर्छन् । घर आउँदा साँझ ८ बजिसकेको हुन्छ । उनी यस अघि काठमाण्डौमा पर्यटक गाइड लगायतको काम गरेर राम्रो कमाइ गर्दै आएका थिए । ‘अहिले जनताको सेवामा छु’ उनले भने ।
उनका यस्ता दैनिकी बाहेक अन्य एक वर्षमा वडा कार्यालयले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । सगरमाथा अनलाइन मार्फत उनले एक वर्षमा गरेका ११ काम सार्वजनिक गरेका हुन् । वडा कार्यालयबाट सम्पादन भएका काममा उनले भूकम्प पीडितले बनाएका घर प्राविधिकले सिफारिस गरे पनि अनुदान नपाएका समस्या समाधान गरेका लगायतका काम रहेका छन् ।
के के गरे एक वर्षमा ?
१. बर्थिङ सेन्टरको भवन निर्माण, सञ्चालन तालकोटमा प्रतिक्षालय निर्माण
२. हेल्थ युनिट स्थापना
३. भस्मेखोला मगरटोल खानेपानी आयोजना सम्पन्न
४. बाघचिन्दो–पात्लेमावि–तालकोट सडक निर्माण
५. पात्लेमावि–रमितेडाँडा सडक निर्माण
६. वडाभित्र पाँच टोलमा पाँचवटा घोडेटोबाटो निर्माण
७. आमा समुहहरुलाई फर्निचर खरिद
८. वडाभित्रका पाँच वटा विद्यालयको पूर्वाधार मर्मत
९. खस्रुबोट मन्दिर निर्माण
१०. भूमिहिन ८ परिवारलाई दाताको सहयोगमा जग्गा खोजेर घर निर्माण गरि हस्तान्तरण
११. खानेपानी आयोजना मर्मत तथा सञ्चालन
सुनुवारले वडा कार्यालयमा प्रापत बजेट ७० लाख सबै खर्च भएको बताए । उनले विकास निर्माणका काम गर्दा थप १३ लाख ऋण परेको जनाए । स्थानीयको माग सम्बोधन गर्न सडक, विद्यालय तथा स्वास्थ्य संस्थाजस्ता संरचना निर्माण गर्दा प्राप्त बजेटभन्दा बढी खर्च भएको जनाए । उनले छेर्मादिङ देखी वडा कार्यालय सम्म सडक ल्याएको बताए । यो सडक बनेपछि खिजीदेम्वासँग वडाको केन्द्र जोडिएको छ ।
यस्ता छन् आगामी योजना
उनले आगामी वर्ष गर्ने कामको प्रथामिकता समेत सार्वजनिक गरेका छन् । उनले वडाभित्र एकघर एक धारा पुर्याउने लक्ष्य रहेको सुनाए । त्यस्तै गाउँपालिका केन्द्रदेखी पात्ले जोड््ने, सेप्ली हुँदै गाउँपालिका केन्द्र जोड्ने योजना रहेको बताए त्यस्तै, कृषिलाई आधुनिकीकरण गरेर युवालाई स्वरोजगार बनाउने, स्वास्थ्य शिक्षाको गुणस्तर सुधार र अपांगता भएका, जेष्ठ नागरिक र बालबालिकाहरुको संरक्षण मुल मुद्दा भएको उनको भनाइ छ ।

प्रकाशित मिति : २१ असार २०७५, बिहिबार  ५ : ४१ बजे