२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

काँग्रेस सभापति देउवाद्वारा शुभकामना



काठमाडौँ, ३ असोज । नेपाली काँग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जनताका निर्वाचित प्रतिनिधिद्वारा संविधानसभाबाट पारित भई घोषणा भएको नेपालको संविधान नेपाली इतिहासको एउटा महत्वपूर्ण उपलब्धि भएको बताउनुभएको छ ।

संविधान दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा सभापति देउवाले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त नेपाली समाजलाई संविधानले पारस्परिक एकता र सहकार्यतर्फ डो¥याउन बलियो आधार प्रदान गरेको उल्लेख गर्नुभएको छ ।

यस संविधानले नेपाली जनतालाई सार्वभौमसत्ता र राजकीयसत्ता सम्पन्न बनाएकाले नेपाली जनताको लोकतन्त्रप्रतिको अटुट निष्ठालाई नेपाली काँग्रेसले हृदयदेखि नै सम्मान गरेको सभापति देउवाले बताउनुभएको छ ।

यस्तै सभापति देउवाले संविधानको कार्यान्वयन अहिलेको महत्वपूर्ण दायित्व र जिम्मेवारी रहेको भन्दै संविधानको कार्यान्वयन र मुलुकको समग्र विकासमा सबै राजनीतिक दललाई इमान्दार रहन संविधान जारी भएको यस ऐतिहासिक दिनले प्रेरणा र मार्गदर्शन प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ ।

यसैबीच नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशीता, सामाजिक न्यायजस्ता कुराको मूलभूत विशेषता रहेको यस संविधानले खासगरी उपेक्षित र उत्पीडित जनताका अधिकार सुरक्षित गर्न सफल रहेको बताउनुभएको छ ।

संविधानबाट प्राप्त उपलब्धिहरुलाई संस्थागत एवम् सुरक्षित गर्दै यसैका माध्यमबाट जनताका हक अधिकार सुनिश्चित गरी आर्थिकरुपमा समृद्ध नयाँ नेपाल निर्माणको बाटोमा अग्रसर हुन उहाँले सबैमा आग्रह गर्नुभएको छ ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर जबराले संविधानको सफल कार्यान्वयनका लागि मुलुकमा स्थानीय, प्रान्तीय र सङ्घीय निर्वाचन अपरिहार्य भएको र यसका लागि सरकार, राजनीतिक दल र सम्बद्ध पक्ष जागरुक रुपमा तयार रहनु आवश्यक भएको बताउनुभएको छ । उहाँले असन्तुष्ट पक्षका भावना र विचारलाई समेट्दै संविधान संसोधनको माध्यमद्वारा उनीहरुको माग सम्बोधन गर्न जोड दिनुभएको छ । रासस

प्रकाशित मिति : २ आश्विन २०७३, आइतबार  ५ : ४४ बजे