खिरखिरेमा तैरिएका सपनाहरु

  सोभित बस्नेत
182 Shares

मानिसले हजारौ सपनाहरु देख्छ । कति पूरा हुन्छन् । कतिको अनयासै अवसान हुन्छ । कति सपनाहरु मूर्छित हुन्छन तर मानिस निरन्तर निरन्तर कुनै न कुनै सपना देखि रहेकै हुन्छ । यहि सपना देख्ने मानिसको स्वभावले त सृष्टिको उ सभ्य र सर्वश्रेष्ठ प्राणी बन्यो । राईट दाजु भाईले सपना नदेखेको भए सायद हामी आकाशमा चरा जस्तै उठ्न कहाँ पाउथिँयौं होला । अलेक्जेन्डर ग्राहम वेलले सपना नदेखेको भए हामी सात समुन्द्र पारीबाट परिवार आफन्तजनसंग दुःख सुख कसरी साट्न पाउँ थियौं होला । लि क्वान युले सपना नदेखेको भए हामी सिंगारपुर जस्तो नेपालको सायदै परिकल्पना ग¥थ्यौं होला । महाथिर महमदले सपना नदेखेका भए हामी सायदै मलेसियामा कामको खोजीमा जादैनथियौं होला । माओत्सेतुङ्ग र देङ्ग सियाओ पिङ्गले सपना नदेखेको भए हामी पनि कहाँ चिनियाँ रेलको सपना देख्थ्यौं होला । त्यहि त सपनाले नै मानिसलाई जोड्दो रहेछ र तोड्दो पनि रहेछ । स्टेफेन हकिंग्सनले सपना नदेखेको भए, विलगेट्सले सपना नदेखेको भए ? तिनलाई हामीले चिन्थ्यौं होला ?
हामीले नेपाली भएर खासै सपना देखेनौं कि? विपी कोईराला ? पुष्पलालले पनि कतै सपना नै पो देखेका थिएनन् कि ? कि उहाँहरुले देखेका सपना पो विर्सियौ कि ?, खै के भयो ?। गणेशमान र मदन भण्डारीले पनि सपना देखेथे होला ?, त्यो त धेरै पछिको कुरा हामीले विर्सिन नपर्ने हो ? कि त बुझ पचायौं ? । सपनाहरु त हाम्रा आफ्नै पनि त छन् नि । असल मान्छे बन्ने ? सुखी र सवल बन्ने ? देशका लागि केही गर्ने ? समाजका लागि केही गर्ने ? परिवारका लागि केही गर्ने ? उच्च शिक्षा लिने ?, सुन्दर र समृद्ध भविष्यको खोजी, हाम्रा सपना छैनन् र ? विल्कुल छन् त्यसो भए हामी सपना देख्नेहरुलाई किन लखेटिरहेका छौं । कतै हामीले आफ्नै सपनालाई त लखेटि रहेका छैनौं ? मलाई निकैं खुलदुली लाग्छ । सपना देखिस भने पख ? हामी के चाहना राखी रहेका छौं ? हाम्रो अन्तरात्माले के चाहेको छ र हामी के गरिहेका छौं ?, हामी बेहोसीमा त छैनौं । २०७२ असोज २५ गते पहिलो पटक नेपालको प्रधानमन्त्री बन्दा केपी शर्मा ओलीले धेरै सपना बोकेर सिंहदरवार छिर्नु भएको रहेछ । सपना कहन के थाल्नु भयो हामीले उहाँलाई नराम्ररी लखेट्न पुग्यो । नौ महिनामा सत्ताबाट सडकमा झारेर छाड्यौं तर पनि केपी ओलीले सपना देख्न छाड्नु भएन् । शहरमा बस्ने, विलासी जीवन जिउने र वुद्धिजीवी(?)का जामा लगाएका हामीलाई ति सपना देखि रीस उठ्न सम्म उठ्यो तर गाँउका दुरदराजमा बस्ने हजुर आमाहरु, हजुरवाहरु, आमाबुबा, दीदीदाजुुहरु, भाईवहिनीहरुले त सपनाको अर्थ बुझे की कसो हामीले खसाली दिएको सत्ताको भर्याङ्ग उनीहरुले त लगाई पो दिए ? तर पनि हामी हाम्रो अडानमा कायम छौं खवदार केपी शर्मा ओली, हामीले थाहा पाउने गरी सपना देखेउ भने तिमीलाई हामी छाड्ने छैनौं । शिवलाई घेरेका चतुषष्टी, नागनागिनी, यक्ष, गन्धर्व गणजस्तै तिमीलाई हाम्रा मानिसहरुले अदालत, अस्पताल, शिक्षण संस्था, प्रशासन, कर्मचारीतन्त्र, नेतातन्त्र, पार्टीतन्त्र आदि इत्यादीले हेरेर राखेका छौं खवरदार सपना देख्ने होईन ? भनेर सपना विथोल्न तल्लिन छौं ।
तिमीले कुरा बुझेनौ क्यार ? हामीले त लुटतन्त्र भनेका थियौं तिमीले लोकतन्त्र भन्ने बुझे छौं ? त्यो बदली हाल नत्र राम्रो हुने छैन् । हामी जे–जे गर्न सक्छौ गछौं ? भनेर हामी उफ्रि रहेका छौं । फेरी केपी ओली सपना देख्न छाड्दैनन् । भोली अरुले पनि समृद्धि र सुशासनको सपना देखे भने के हो ? यो त अति भयो । सपना देख्ने फोविया झन झन सर्ला जस्तो पो छ । यातायात मन्त्री र सचिवले फराकिला चौडा भएका चिल्ला सडकहरु, तिनको दायाँबायाँ हरियाली, ठाँउ ठाँउमा पार्कस्थल, भजनगृह, विश्रामकक्ष, यात्रु सुचना कक्ष, यात्रु सहायता कक्षा, ठाँउठाँउ शौचालय, खानेपानीको व्यवस्था, उर्जामन्त्रीले सवै नेपालीको घर, कोठामा विजुली पुगेको उज्यालो नेपाल, उद्योगहरु पर्याप्त विजुलीका कारण चौविसै घण्टा चलेका, विद्युत बेचेको पैशा मासिक डलरमा भित्री राखेको ? विजुलीका तारहरु र पोलहरु जमिन मुनीबाट तानिएका खुल्ला तारको जोखिम र प्रदुसनरहित शहर, वजार, वस्ती र सडकहरु ?, खानेपानी मन्त्रीले स्वच्छ र सफा खानेपानी जनताले चौविसै घण्टा निर्धक्क प्रयोग गरिरहेको, सवैका घरमा खानेपानीको धारा, ट्याङ्की बनाएको ?, शिक्षा मन्त्रीले गुणस्तरीय शिक्षा र विज्ञ, विशेषज्ञ जनशक्तिको सपना देखे भने ? हाम्रो अस्तित्व के होला ? अर्काको अस्तित्वको पनि त ख्याल गर्नु पर्यो नी ? हुँदा हुँदा स्थानीय तहका जनप्रतिनिधीले सपना देख्लान । त्यहाँ अस्पताल बन्ला, शिक्षाको गुणस्तर बढ्ला, सडक, पुलपुलेसा बन्लान, नहरहरु, कुलोहरु बन्लान, प्राविधिक शिक्षा र व्यवसायिक तालीम पुग्ला, कृषिमा आधुनिकीकरण होला, पर्यटन पूर्वाधार र विकास होला ? त्यस्तो गर्न पाईन्छ ? सपना देख्ने पनि हद हुन्छन नि ? भोली गाँउ–शहरका युवा विदेश पलायन नभएर यही रोजगारी गरेर बसे भने बौद्धिक सम्पत्ती र भौतिक, मानवीय, सामाजिक विकास र आर्थिक विकासले गरीबी र बेरोजगार नेपाली भन्ने पहिचान गुम्यो भने अनि सपना देख्ने प्रधानमन्त्रीज्यू ? अति भयो नि हिजो देखी खाईरहेको घुस, कमिशन खोस्ने, राज्यको ढुकुटीबाट ऐस आरामको जिन्दगी जिउँ भन्दा सुशासनको कुरा गर्ने ? हामीले कौडीका भाउमा बेचेका उद्योगहरु स्थापना, पूनसर््थापना गर्छु भन्ने ?, विदेशबाट बस्तु ल्याएर उपभोग गर्न पाईए कै छ, किन चाहियो राष्ट्रिय उद्योग, कलकारखाना ?, राज्यले उदारवादका नाममा सवै सार्वजनिक संस्थानहरु, कम्पनीहरु टाट पल्टाउने हो कि फेरी तिनलाई संचालन गर्ने सपना देख्ने ? त्यो अधिकार कहाँबाट पाउँनु भयो प्रधानमन्त्रीज्यू ?, तुइन हटाएर ठूलो अन्याय गर्नु भएको छ । काम नगर्ने ठेकेदारलाई कार्वाही गर्ने कुरा गलत भयो ? सुन वाहिर गएको हो र ? देशमा ल्याएको त हो नि त्यसलाई तस्करी भन्ने ? खवदार कार्वाही गरेर हाम्रो मानहानी होला ?, नपढाए पनि तलव पाएकै छन् , पार्टीको झण्डा बोकेकै छन्, ति शिक्षकलाई कार्वाही होला ? त्यस्तो सपना पनि देख्ने ?, पूर्वपश्चिम, उत्तरदक्षिण रेलको सपना देख्ने ? शहरमा मनोरेल रे ? त्यस्तो खतरनाक सपना देख्ने ?, दश हजार मेघावाटको बकमफुसे सपना देख्ने ?, खानीहरु उत्खनन् अन्वेषणको सपना देखेर पृथ्वी हल्लाउने ?, समुन्द्रमा पानी जहाज चलाउने रे?, नयाँ ट्रान्जिटहरु वा पारवहन वन्दरगाह खोल्ने ? खवरदार यि सपनाहरु नदेख्नुहोस । हामीले यो देशलाई जसरी दोहन गरेका थियौं । त्यो अवसरबाट बन्चित नगरियोस । हामीले देख्ने एउटै सपना सत्ताको रसोस्वादन गरिरहेको हो , त्यो पूरा गर्न अवरोध नगरियोस ? अन्यथा ठूलो मूल्य चुकाउनु पर्ने छ प्रधानमन्त्रीज्यू ? यि र यस्तै विच चलिरहेको छ । नेपालको वर्तमान राजनीति, सुखी नेपाली र समृद्ध नेपालको सपना देखेर केपी ओली अधिनायकवादी भए के गर्ने होला ? वहसको केन्द्रविन्दु यसमै केन्द्रित छ ।
भूमण्डलीकृत विश्व व्यवस्थाको वकालत गर्दै २०४६ को परिवर्तनपछि लागू गरेको नवउदार अर्थव्यवस्था, व्यापारिक उदारवाद, नीजिकरण र नीजी क्षेत्रको प्रवद्र्धन गर्ने भनेर अपनाएको खुल्ला बजार अर्थतन्त्रको नीतिमा फेरवदल गर्ने सपना देख्न पाईन्न भन्ने विरोधीहरुको मत रहेको छ । सपना विरोधीहरुले विश्वव्यापी कार्यक्षेत्र भएका ठूला ठूला बहुराष्ट्रिय कम्पनीहरु, निगमहरुसंग सौदावाजी गरेर कमजोर आर्थिक अवस्था भएका तेस्रो मुलुकका घरेलु तथा साना उद्योगहरुलाई शिथिल बनाएका थिए । तिनलाई बौराउने सपना देख्न थालेको कारण केपी ओली सरकार अधिनायकवादी भएको छ । वि.सं. २०६१ मा नेपालले विश्व व्यापार संगठन (WTO) को सदस्यता लिएपछि विश्वका विकसित देशहरुसंग व्यापार तथा वाणिज्यमा प्रतिस्पर्धा गर्नु पर्ने अवस्था आयो । कमजोर आर्थिक अवस्था र साधनस्रोत अभावमा नेपालले ठूला अर्थतन्त्र भएका मुलुकहरुबाट मनग्य लाभ लिन सक्ने अवस्था रहेन । बरु विगतमा ति मुलुकबाट आयात हुने सामानहरुमा र व्यापारीहरुलाई लगाउँदै आएको भन्सार महसुल समेत छुट गर्नु पर्ने वा कमी गर्नु पर्ने अवस्था आयो । परिणाम नेपालको व्यापार घाटा दिन दिनै चुलिदै गयो र अर्थतन्त्रले धान्न नसक्ने अवस्थामा पुग्यो । सवैतिर कमिशनखोर र दलाल पूँजीको वृद्धि भएर काम नै नगरी पैशा कमाउने संस्कृतिको विकास भयो । विना उद्यम पैशा कमाएर अनुउत्पादक क्षेत्रमा खर्च गर्नु नेपालीको बानी नै बन्यो । त्यसबाट अर्थतन्त्रलाई उत्पादनशील क्षेत्रमा लगाएरर उत्पादन र उत्पादकत्व वृद्धि गर्ने कुरा ति प्रवृत्तिका लागि सह्य भएन् । जसरी मनमोहन अधिकारीलाई मृत्युको मुखमा रहेर अस्पतालको शैयाबाट राजीनामा गर्न लगाएका थिए । त्यसरी नै केपी ओलीको बहिर्गमन चाहने एकथरी स्वदेशी तथा विदेशी शक्तिहरु पाँच महिनाको अवधिमा नै परिणाम खोजी रहेको छन र भन्छन् । सपना देख्ने, पूरा नगर्ने भन्ने भ्रम जनतामा फैलाउन शुरु भएको छ ।
अर्थशास्त्रले भन्छ मानिसका अनगिन्ती र असिमित इच्छा चाहनाहरु हुन्छ तर तिनको परिपूर्ति गर्ने साधन, स्रोतकको भने सिमितता रहेको हुन्छ । हो आज हामीसंग सिमित साधन, स्रोतहरु छन । तिनलाई अधिकतम र मितव्ययी ढंगले परिचालन गरेर देशको समृद्धि र विकासको मार्ग पहिल्याउनु पर्ने चुनौती छ । देश विकासका आधारहरु, मानव विकासका आधारहरु पहिचान गरेर तिनको प्राथमिकता र आवश्वकता निर्धारण गर्नु छ । छनौट भएको योजनाहरुलाई तोकिएको समयमा तोकिएको लागतमा तोकिएकै गुणस्तरमा सम्पन्न गर्नु पर्ने आवश्यकता छ । हिजो विग्रिएको हाम्रो संस्कार र आचरणलाई सुधारेर ठिक ठाँउमा नल्याईकन जनअपेक्षा अनुरुपको काम गर्न सम्भव छैन् । राष्ट्रिय ढुकुटीको दोहन गरेर कागजमा प्रगति विवरण बुझाउने संस्कारले हामीलाई नराम्ररी जकडेको छ । साना तिना काममा पनि सरकारको मुख ताक्ने प्रवृत्तिले सोचेको परिणाम हासिल गर्न अवरोध भईरहेको छ । दुई टुक्रा पाउरोटी र दिनमा ६ पटक औषधी खाएर रातविरात सम्म खट्ने प्रधानमन्त्रीलाई साथ सहयोग गर्नु त कता कता असफल पार्न तानावाना बुन्ने प्रशासनयन्त्रको नोकरशाही र भ्रष्ट्र मानसिकतामा परिवर्तन ल्याउने चुनौती छ । देखेको सपना यही कारणले पटक पटक मूर्छित भएको प्रधानमन्त्रीले आभास नपाउने कुरै भएन । त्यसैमा त सपना देख्ने दुरद्रष्टाहरु र यथास्थितिवादी परिवर्तन विरोधीहरुबीचमा भेद खुल्ने हो । एकातिरमात्र कोल्टो फेरेर परनिर्भर भएको देशलाई आत्मनिर्भर, सवल र सक्षम बनाउने सपना देख्ने धृष्ठता गर्नु प्रधानमन्त्रीको अपराध हो त ?
सुन्दा लाग्दछ सपना देख्नु अभिषाप हो । त्यस कारण देश बनाउने, जनतालाई खुसी दिने सपना देख्ने मानिस लोकतन्त्र विरोधी हो । मानवता विरोधी हो । के के हो के के जस्तो भएको छ अहिले । कृषिको आधुनिकीकरण तथा व्यवसायिकीकरणको माध्यमबाट कृषिलाई निर्वाहमुखीबाट निर्यातमुखी बनाउने, व्यापक विद्यत उत्पादन र विद्युतीकरण, वृहद पूर्वाधार विकास, रोजगारीका नयाँ नयाँ क्षेत्रहरु पहिचान, परिचालन र रोजगारीको सिर्जना, राष्ट्रिय उद्योगधन्दाको संचालन, पुनस्र्थापना र स्थापना, समृद्धिको यात्रामा आवश्यक पर्ने जनशक्ति आन्तरिक रुपमा नै परिपूर्ति गर्ने, प्राविधि शिक्षालयको स्थापना र संचालनको उदेश्य तथा विदेशीहरुहरूसित सन्तुलित, समदुरी र समकक्षी कूटनीतिक सम्बन्ध राख्ने प्रधानमन्त्रीका पाँच प्राथमिकता वा सपनाहरु हुन । यि सपनाप्रतिको प्रहार भैरहने छ । प्रधानमन्त्रीज्यू, सपना देख्न नछाड्नोस, हामीसाथमा छौं भन्ने जनता, नागरिक समाज, वुद्धिजीवी, आमसंचार जगत र राजनीतिक दलहरुको खाँचो छ, अहिले । विकास, समृद्धि , सुशासन र साजिक न्यायको सपना देख्नै नपाईने भएको छ । नेपालको लोकतन्त्रमा यसलाई चिर्दै जनतालाई प्रत्याभूत हुने गरी काम गर्नोहोस । मन्त्रीहरु, सचिवहरु र कर्मचारीहरु सवैलाई सिर्जनात्मक र रचनात्मक बनाउन पहल गर्नोस प्रधानमन्त्रीज्यू । गरीब, दुखी, असाहय र निमुखाहरुको लागि लड्दा वन्दुको गोलीमा अड्किएको जीन्दगी अहिले दवाईको गोलीले धानिरहेको छ । तपाँईले कमाउने भनेको जनताको आशिर्वाद र सम्मान हो । यसका लागि स्पष्ट भिजन, व्यापक इच्छा शक्ति भएको टिम परिचालन गर्नुहोस । अन्यथा सपनाहरु मुद्र्धित हुने छन् । तुईनको खिरखिरेमा ख्यार ख्यार गरेर वारि की पारि भनेर देश यथास्थिति र अग्रमनको दोसाधमा तैरिने छ ।
(बस्नेत, नेता, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुखुम्बु)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार