जिज्ञासापुर्ण र साहसिक यात्राः नाँगी

Facebook Debugger

हामी एउटै कार्यलयमा काम गर्ने आठ जनाको टोलीले यात्रा तय गरेको पनि दुई दिन भईसकेको थियो । यात्राका लागि विभिन्न स्थानहरुको नाम पनि सुचीमा रहेपनि मुख्य जिज्ञासाको केन्द्र भनेको म्याग्दी जिल्लाको नाँगी थियो । अमेरिकामा अध्ययन गरेर आफनै जन्मभुमिका लागि विभिन्न क्षेत्रमा निकै उदाहरणीय कार्य गरेका एक सामाजिक अभियन्ता एमब् बैज्ञानिक महावीर पुनको गाउ हो नाँगी, त्यहाँको वस्तुस्थितीको बारेमा यसभन्दा अगाडि नै विभिन्न संचारमाध्यम तथा सामाजिक संजालमा सुनेर आफनै आँखाले हेर्ने धोको पुरा गर्ने रहरले एकाविहानै बेनीको एक होटलमा सबेरै निन्द्रा खुल्यौ । वायरलेस प्रविधिद्धारा देशको ग्रामीण भेगमा सुचना प्रबाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सन्जाल परियोजनामार्फत इन्टरनेट संजाल विस्तार गर्न सफल एक ब्यक्तित्व महावीर पुनको जन्मथलो भएकोले पनि मेरो मनमा कौतुहलता जागीरहेको थियो । अघिल्लो दिन नै नाँगीसम्म पुग्नका लागि पैदल यात्रा तथा सवारी यात्रा दुवै अत्यन्तै जटिल छ भन्ने जानकारी पाईसकेकोले एकाविहानै सहयात्री रुपक महर्जन र झनक कार्कीद्धयले गाडीको ब्यबस्थाका लागि विहानै दौडधुप गर्न थाल्नुभयो । बर्षायम भएकोले कुनै लोकल गाडी नचल्ने जानकारी पाईसकेपछि विकल्पको रुपमा बलेरो जीप रिजर्भको निर्णय भयो र नाँगीकै एकजना शिक्षक कृष्ण सरमार्फत बलेरो जीप कन्फर्म भयो तर गाडी आईपुग्न ११ बजेसम्म कुर्नु पर्ने खबर आयो । एकछिन त अल्मलमा पर्यौ, अब के गर्ने भनेर तर हामी बसेको होटलबाट पारी ठ्याक्कै पारीपट्टि रहेको पर्वत जिल्ला हालको जलजला गाउँपालिकामा पर्ने मल्लाज माझफाँट गाउँ जाने अत्यन्तै सुन्दर, सुरक्षित फलामे पोलले घेराबार लगाएको पहाडै पहाडको भर्याङ बाटो देख्यौ । खाली समयमा त्यही बाटो हुदै मल्लाज माझफाँट गाउँ घुम्न जाने निर्णय गर्यौ ।

रुपक सरको भने अफिसियल काम गर्नुपर्ने भएकोले वहाँ भने घुम्न निस्कनुभएन । हामी ७ जनाको समुह स्टेपवाल भर्याङ हुदै मल्लाज माझफाँट गाउ घुम्न निस्क्यौ । जति माथी गयो उति नै कालीगण्डकीको तिरमा रहेको बेनी बजारको सुन्दर दृश्य आ(आफनो क्यामेरामा कैद गर्ने होडबाजी नै चल्न थाल्यौ । सामुहिक फोटो सेसन आ आफनो स्मार्टमोबाईलको क्यामेरामा सेल्फी खिच्दै मल्लाज गाउ करिब २ घण्टामा पुग्यौ । कतिले यस बीचमा आफनो फोटो सामाजिक संजालमा समेत पोष्ट गर्न सफल भईसकेका रहेछन्, र कसले के टिप्पणी गरे सुनाउदै थिए । मल्लाज गाउँ शिरानमा अग्लो पहाड, त्यसको मुनि अलि भिरालो परेको जमिन सतहमा मानव बस्ती र मानव बस्तीभन्दामुनि फिजिएको जमिनमा भर्खर लाएको धानको भर्खरै तङिग्रदै थियो । यो दृश्यले उकालोमा थकित भएका साथीहरु पनि झन झन उत्साहित हुन थाले । गाउको पुच्छरमा केही समयमको विश्रामपछि हामी गाउभित्र नै प्रबेशगर्ने सल्लाह गरेर गाउ नै प्रबेश गर्यौ । मल्लाज गाउ विशेष त त्यहाँ रहेको मल्लाज दरबार र कोटकालिका मन्दिरका कारण चर्चामा रहेको रहेछ । बेनी आउने प्रायः सबै पर्यटक एक पटक मल्लाज गाउ घुम्न आउने गरेको त्यहाँका एक स्थानीयले सुनाउनुभयो । मल्लकालीन राजाले शासन गरेको मल्ल दरबार र मल्लकालिन सभ्यता बोकेको कोटकालिका मन्दिरको हाल पुननिर्माण गरिएको रहेछ । मन्दिर र दरबारको भित्री रुपमा अवलोकन गर्ने मौका त मिलेन तर बाहिरबाट नै अवलोकन गरी हामी पुन बेनी झर्यौ । बेनी झर्दा होटलमा खाना तयारी अवस्था थियो । खाना पनि खायौ । खाना खादै गर्दा नै गाडी पनि आईपुगेको थियो । खाईसकेपिछि हामी नाँगीको यात्राका लागि तयारी भयौ र करिब ११ बजेतिर गाडीमा सबैजना चढ्यौ ।
अब यसपछिको यात्राको भने अर्कै अनुभव छ । शुरुमा नै बेनीका एकजना होटल साहुजीले नै नाँगीको बाटो अहिले बर्षामा भैसी हिड्ने बाटोभन्दा फरक छैन भनेकाले मनमा चिसो पसि गयो तर जसरी भएपनि जाने भनेर नै यहाँसम्म आईसकेपछि किन आत्तिने भनेर मनलाई आफैले सान्त्वना दिदै यात्रा शुरु गरियो । आठजनाको टिम भएकोले बलेरो जीपकोअगाडीको सीटमा सबैजना अटीएन, पछाडिको सीटमा पनि आठजनाको सामानले भरिएको ठुलाठुला झोला खाँदिएकाले मान्छे बस्न सहज थिएन । विकल्पको रुपमा साथीहरु छतमा बस्ने सल्लाह भयो । तीनजना साथीहरु छतमा बसे । छतमा बस्न आँट आउने थिएन होला सायद, तर बलेरो चालकको आफनो दुईजना मान्छेहरु नाँगीसम्म जाने रहेछन् । उनीहरु पनि माथी छतमा नै चढेका थिए । त्यही देखेर साथीहरु माथी बसे, म लगायत ५ जना चाही सीटमा नै कोचिएर बस्यौ, बीच बाटोमा पुगेपछि चाहि सिट परिवर्तन गरेर बस्यौ । मनमा जति कौतुहलता थियो, त्यो भन्दा बढी त्रास थियो किनकी कच्ची र चिप्लो बाटो भएका कारण गाडी कतिखेर के हुन्छ थाहा थिएन । कतिपय साथीहरुले त आफनो परिवारलाई अन्तिम कल गर्न सोचिसकेको नाँगी पुगीसकेपछि सुनाउदै थिए । यात्राका क्रममा देखिएका परम्परागत घरहरु, त्यहाँ खेतीपाती तथा जीवनशैलीलाई गाडीबाट नै देख्न पाईयो । यी दृश्यहरुले मनका त्रासलाई कम गर्न सजिलो बनाईदियो । बीच बाटोमा गाडी ३ पटकसम्म फस्याँै,सबैले गाडीलाई ठेल्दै ठेल्दै यात्रा अगाडि बढाउदै करिब बेलुका ५ बजे नाँगी पुग्यौँ । त्यहाँ पुगीसकेपछि चाँिह बल्ल मनमा शान्ति छायो ।

नाँगीमा हामी बस्ने स्थानको बारेमा रुपक सरले अगाडि नै ब्यबस्था गरीसक्नुभएकोले हामी सिधैँ गाडीबाट ओर्लेर बासस्थान तर्फ लाग्यौ । बासस्थान पुगीसकेपछि हामीले फरक अनुभुति गरेका थियौ । त्यहाँ एकवटा सामुदायिक गेष्ट हाउस रहेछ । गेष्ट हाउसको गेटअगाडि पुग्न नपाउँदै होटलका दिदीले हामीलाई आईपुग्नुभयो भन्दै भित्र बोलाउनुभयो । सामुदायिक गेष्ट हाउसको ब्यबस्थापन तथा डिजाईन परम्परागत तथा कलात्मक ढंगबाट निर्माण भएकोले फरक अनुभुति गर्नु स्वभाविक नै थियो । हामीलाई लजमा त्यहाँको दिदीले लजमा पुर्याउनु भयो । केही समयको विश्रामपछि चिया खायौ, हामी त्यहाँ पुगेको खबर थाहा पाउने वित्तिकै नाँगीकै हिमान्चल मा.वि. का एकजना शिक्षक एबम् सामाजिक अभियन्ता तोया परियार हामीलाई भेट्न आईपुग्नुभयो । वहाँको आगमनले हामीलाई अत्यन्तै उत्साहित तुल्यायो । करिब एक घण्टाको बसाईमा वहाँले नाँगी गाउँमा महावीर पुनले पुर्याएको योगदानको चर्चा गर्नुभयो । यस बसाईमा नेपालकै दुर्गम क्षेत्रमा वायरले प्रविधिमार्फत इन्टरनेट सेवा पुर्याएको, ग्रामीण पर्यटन प्रबद्र्धनका लागि पुर्याएको योगदान, हाल आएर टेलिटिचिङ, टेलिमेडिसिन आदिको अवधारणा लागु गर्न खोजिरहेको आदि विषयमा जानकारी गराउनुभयो । नाँगीको सामुदायिक विद्यालय संचालन तथा ब्यबस्थापनका लागि सामुदायिक माछापालन, सामुदायिक चौरीपालन, सामुदायिक गेष्ट हाउस संचालन , सामुदायिक हस्तकला तथा कागज उद्योग संचालन गरेको जस्ता प्रेरणामुलक कार्यहरुको सुची सरसर्ती विस्तृत रुपमा सुनाउनुभयो । वहाँको यो कुराले हामीलाई झन झन जिज्ञासु बनाउदै लगेको थियो । यो कर्म सकिएपछि हामी सबैजना हाम्रो यात्राको समिक्षामा एकछिन्, बस्यौ र यात्रा अत्यन्तै साहसिक र अविष्मरणीय समेत रहेको निष्कर्श निकालेर खाना खान चर्फ लाग्यौ । खाना खाईसकेपछि नाँगीको विशेषता रुपमा चर्चा गरिएका क्षेत्रहरमा भोलि प्रत्यक्ष रुपमा आफनै ज्ञानेन्द्रियद्धारा स्पर्श गर्ने सपना बुन्दै र सबेरै विहान उठ्ने बाचाका साथ हामी आ(आफनो सुत्ने कोठातर्फ लाग्यौ ।

Published On:  408पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार