२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

प्राज्ञ प्रेमको अन्त्य

अन्धो हुन्छ माया भन्थे साँचो रै’छ,ठेस लाग्यो:शान्तिराम राई, प्राज्ञ तथा सङ्गीतकार



क्यावीन गार्डेनको साहुले भने –“भाई बस्ने हो ? घण्टाको सय रुपैयाँ” । सुरुमा हामी त्यहाँ जाँदा युवायुवतिको मन शान्त पार्ने ठाउँमा पो गइएछ। हामी दुवै कन्फ्युज भयौं । मैले भनें–“यहाँ  बसेर कुरा गर्न मिल्छ की मिल्दैन साहुजी ?”। उनले भने –“भाई यहाँ त जोडीहरुको लागि मात्र हो” । हाम्रो गफ दाईले छेउमा उभिएर सुनिरहनु भएको थियो । अनि हाम्रो चाहना नमिलेपछि हामी त्यहाँबाट अर्कों रिसोर्ट चहार्न निस्क्यौंं । अली तल झरेपछि होटल ग्रिन ल्याण्ड पस्यौं । त्यो होटल भने एकदम शान्त र मनोरम खालको थियो । हाम्रो रोजाई त्यहि भयो । तुरुन्तै मेनु लिएर वेटर भाई आए । हामीले दुई वटा मिल्क टि मगायौं । केही क्षण पश्चात चियाको चुस्कीसँगै प्राज्ञ तथा सङ्गीतकार शान्तिराम राई विगतमा डुबे ।
santiram-rai-photo-1
पैंतालिस सालमा म राजधानी पसें । लगभग तिन दशक भयो अहिले । त्यसबेला दिक्तेल बहुमखी क्याम्पसमा आईए पढ्दै गर्दा क्याम्पस गायन प्रतियोगितामा तेस्रो भएको थिएँ । पछि साथीभाईको आग्रहलाई स्वीकार गर्दै रेडियो नेपालमा गाउन राजधानी आएको थिएँ । मेरो साथमा आमाले दिएको बाटो खर्च सोह्र सय रुपैयाँ थियो । साथमा गोठालो जाँदा रचेका गीतको डायरी र झम्के झोला पनि । खुट्टामा बकुल्ला छाप चप्पल थिए । दुई दिन हिंडेर गाइघाट झरेपछि सत्तरी रुपैयाँको टिकट काटेर नाइटबस चढी थानकोट छिचोल्दै राजधानी आएको थिएँ ।
santiram-rai-photo-2
चियाको चुस्की लिदै पुन विगत भन्न थाले । म वहाँलाई सोधिरहेको थिएँ । चिया सुरुप्प पार्दै उनि विगत सम्झन थाले ।
मेरो एउटै लक्ष्य रेडियोमा गीत गाउने थियो । म रेडियोमा गाउनैको लागि राजधानी छिरेको थिएँ। सुरुमा लाजिम्पाट मामाकोमा बसे, छ महिना जति । तत्कालीन समयमा रेडियो नेपाल सिंहदरबार भित्र थियो । त्यहाँ पुग्न मलाई झण्डै एकमहिना लागेको थियो । कोही चिनेका थिएनन्, इच्छाशक्तिले त्यहाँसम्म पुगें । रेडियो नेपाल छेउमा माछापोखरी थियो । हामी सवै पोखरीको डिलमा बसेका हुन्थ्यौं । त्यहाँ मैले रेडियोमा नाम सुनेका मान्छेहरु देखें । निकै खुशी लाग्यो । तारादेवी, मिरा राणा, नातिकाजी, शिव शंकरलाई देखें । पछि शम्भु राई र बुलु मुकारुङलाई पनि देखें । गीत गाउनको लागि नाम टिपाएँ । चौतारी कार्यक्रम सारै लोकप्रिय थियो । पाण्डव सुनुवार र युक्त गुरुङले चलाउने सो कार्यक्रमको लागि पालो भने अर्को महिना आउने भयो । एक महिनाको ब्यग्र प्रतिक्षा गरियो । तयारी पनि गरियो । रेकर्ड भयो । रेडियोमा मेरो नाम उच्चारण गरियो र मेरो आवाज पनि बज्यो । त्यो मेरो जिन्दगीको ठुलो खुशी थियो अनि सफलता, जसको लागि मैले गाउँ छाडेको थिएँ । सुस्केरा हाल्दै उनले भने –“अहिलेपनि सम्झन्छु त्यो दिन ।”
santiram-rai-photo-3
दाईले पुन मिल्क टी अर्डर गर्नु भो । मैले दाइको विगत सुनिरहेको थिएँ । दाईको सम्झाउनी जारी थियो ।
मेरो डेरा सिफलमा थियो । आर्थिक अवस्था कमजोर थियो । बौद्धको स्कुलमा कक्षा सात सम्म गणित पढाएँ । कक्षा ६ र ७ लाई त संस्कृत पनि पढाएँ । अंग्रेजी चाहीं मेरो राम्रो थिएन । विहान बेलुका चाही सङ्गीत साधना गर्थें । त्यसबेलाका गर्चित गायक शम्भु राईसँग नजिक भएको थिएँ । वहाँ सँगै थुप्रै लोकगीत गायौं पनि । फुल फुल्यो गाउँ वेसी छैन बासना, मोहनी भाकाले हेर हाँसेको, सुन काटी फुली आम्मैनी ठुली, यो गाउँमा फुल राम्रो चमेली जस्ता गीतहरु गायौं । ती गीतहरु निकै लोकप्रिय बने । मैले त्यस समयमा शम्भु दाईका छोरा छोरीलाई ट्युसन पनि पढाउँथे । त्यस वापत दाईले मलाई आफ्नो पुरानो हार्मोनियम दिनु भएको थियो । मैले त्यसमै सङ्गीत सिकें । धेरै रियाज त्यसमै गरें । प्रारम्भिक सङ्गीतको ज्ञान शम्भु राई र बुलु मुकारुङ बाटै लिएँ । पछि कलेज ज्वाइन गरे पछि भने सङ्गीत र समाजशास्त्र विषयमा डिग्री सम्म पढें ।
टि आइपुग्यो । हामी एकछिन रोकियौं । कपको चिया सुर्पिर्दै उनि पुन विगतमा पसे ।
वहाँको आफ्नो गरिखाने सामानै बेचिदिएछ एकजनाले । थकथकाउँदै विगत सुनाउने थाले । “मैले ट्युसन पढाएर शम्भु दाईबाट पाएको हार्मोनियम उपहार तत्कालीन नेपाली काँग्रेस सांस्कृतिक संघका सभापति तिर्थ थापाले बेचेर खाइदिए । पार्टीको गीत अरु कलाकारहरुलाई प्राक्टीस गराउन सँघको अफिसमा लगेको थिएँ ।” उनले भने–“मैले सवै काँग्रेसी नेतालाई भनें तर कसैले सुनुवाई गरिदिएनन् ।” त्यो समयमा मैले रेडियो नेपालबाट लोकगीतको भ्वाइस टेस्ट पास गरेँ । यसले मलाई खुशी दिएको थियो । लगत्तै अर्को वर्ष आधुनिक गीतको भ्वाइस टेस्ट पनि पास गरेँ । त्यस समयमा कान्छी फिल्मका हिट गायिका विमला राईसँग सँगै डोयट गीत गाउने मौका पाएँ । कसम नखाउ टाढा हुने, आवेशमा सधैं तिमी यो जीवनमा भन्ने । खुबै हिट भयो । रेडियो नेपालमा हरेक दिन जसो फर्माइस कार्यक्रममा बज्थ्यो । रेडियो नेपालमा त्यस बेला वर्षमा एक पटक मात्रै गीत गाउन पाईन्थ्यो । त्यहि समयमा अहिलेका प्राज्ञ तथा कवी श्रवण मुकारुङसंग भेट भयो । वहाँले मलाई गायन भन्दा सङ्गीत गर्न तिर लाग्न सल्लाह दिए । एकदिन मेरो हातमा उनले कागजको चिर्कटोमा तिमी तारे भिर म त लहरा र बाटो हेरे हुन्छ आमा बोलका गीत थमाइदिए । मैले सङ्गीत गरेँ । नभन्दै दुवै हिट गीतमा दरियो । त्यसले निकै तहल्का मच्चायो । ती गीतहरु पवित्रा सुब्बा र शभ्भु राईको स्वरमा छ ।
santiram-rai-photo-4
रमाईला रहेछन् शान्तिराम राई । रसिक पाराका शान्तिराम आफ्नै किस्सा पनि सुनाए । यसले अघि देखिको हामी दुवैको मुड फ्रेस पनि बनायो । यसरी सुनाए आफ्नै किस्साहरु,
दुखजिलो गरेरै मैले सङ्गीतकारको रुपमा अघि बढें । दुखलाई रमाईलो बनाउने खुबीलिटी हामीसित थियो । हामी दुखमा पनि रमाईला थियौं । साथीभाईहरु पनि धेरै थिए । ज्ञानेश्वरमा डेरा थियो । मेरो कोठामा साथीभाई निकै भेला हुन्थे । किनकी मेरो कोठामा उधारोमा ल्याएको चामल पाकिरहेको हुन्थ्यो । म खाना पकाउन अल्छि गर्दिनथेँ । अनुहारमा मुस्कान छर्दै उनले भने –“कहिले काहीँ पाकीरहेको भात साथीहरुले खाईदिएर आफू भोकै बसेको छु, त्यसबाट बच्न मैले जुक्ती पनि लगाएँ ।” बाहिरपटि ढोकाको छेउमा मन्त्रीको क्वाटरमा जस्तै, शान्तिराम राई इन/आउट राखेको थिएँ । शान्तिराम बाहिर देखाएर उनि भने भित्र भात पकाएर बस्थे । शुरुमा त साथीभाई म बाहिर गाको भनि फर्किए । पछि भने भित्र बसेर भात खाको देखेछन् । मलाई जिस्काएर हैरानै पारे ।
एक पटक हङकङ जाँदा एयरपोर्टमा बस्ने अधिकारीहरुले साँच्चैका ज्याकी चेन ठानेछन् मलाई । त्यो बेला उनिहरुले आफूसँग सेल्फी खिचेको उनि बताउँछन् । अनुहारमा चमकका साथ भने –“ज्याकी चेनसँग मेरो अनुहार ठ्याक्क मिल्छ अरे । प्राय सवैले मलाई अहिलेपनि ज्याकी चेननै भन्छन् ।” हलीउड हिरो ज्याकी चेनसँग आफ्नो अनुहार मिलेकोमा उनि पनि दङ्ग छन् ।
किस्सा सुनेर हामी दुवै हाँस्यौ । मैले वहाँको पहिलो विवाह बारे जिज्ञासा राखेँ । टी को पुन अर्डर भो । यो पटक चाहीँ ब्लाक टी खाने सल्लाह भो ।
santiram-rai-photo-5
श्रवण मुकारुङ र म मिल्ने साथी बनेका थियौं । पैसो हुन्नथ्यो । त्यो बेला चार रुपैयाँ ग्लास पर्ने रक्सी र साँधेको भटमास खुबै खान्थ्यौं । रक्सी निकै कडा । युरिया मल हालेको भन्थे । भित्र पेटसम्म चहरयाउँदै गाको थाहा पाइने । कोठामा सधैं चामल हुँदैनथ्यो । रक्सीलेनै रात पनि कटाउँथ्यौं । हामी प्राय आधा रात भन्दा बढी समय सम्म गीत सङ्गीत गर्दै बस्थ्यौं मेरो कोठामा । गोपाल योञ्जन र अम्बर गुरुङ जस्तो ठुलो श्रष्टा हुनुपर्छ भन्दै श्रवणजीले गितार बजाउनु हुथ्यो भने म गीत गाउँदै हार्मोनियम बजाउँथे । त्यो गीतलाई टेप रेकर्ड गरेर पटक पटक सुन्थ्यौं । भावुक पनि बन्थ्यौं । रुन्थ्यौं । सङ्गीत पटि मेरो लगाव भैसकेको थियो । म शम्भु दाईको श्रद्धा रेकर्डिङ स्टुडियोमा आफ्नो सङ्गीतको एरेन्ज आफैं गर्दै बस्थेँ । मेरा सङ्गीतहरु थुप्रै सुपरहिट भै सकेको थियो । व्यस्त सङ्गीतकार भै सकेको थिएँ । त्यसै बखत लिला लिम्वु गीत गाउन भनेर स्टुडियो छिरेकी रहेछिन । उनको र मेरो त्यहीँ भेट भयो । उनको कुरा सुने पछि मैले उनलाई गीत गाउन सिकाउन थालेँ । गायनको समयमा हाम्रो भेटघाट बाक्लो हुन थाल्यो । त्यसबेला म निकै दुब्लो र डण्डीफोरे अनुहार थियो । थाहा नपाई हामीले गीत सिक्दै गर्दा पत्तै नपाइ एकापसमा मन पनि साटीसकेछौं । चाबाहिलमा बस्थेँ । उनलाई मेरो नयाँ डेरा चाबहिलमा लगेँ । पछि हाम्रो धरानमा विहे भयो । त्यो बेला (बाउन्न सालतिर) हाम्रो लागि श्रवणजीले एउटा गीत लेखीदिनु भएको थियो । लिला र मैले त्यो गीत सँगै डोयट गायौँ ।
पुतली बस्यो बाबरी फुलमा, धपाउन मन छैन
हजुरको हातमा सुनको औंठी, म सँग धन छैन

santiram-rai-photo-6
“हाम्रो छोरो जन्मियो, स्विकार । छोरो दुई वर्षको थियो । यति बेलासम्म लिला लिम्वुसँगको नौं वर्षको सहयात्रा टुङगीने सङ्घारमा थियो ।” यस पटक उनि निकै भावुक बने । आँखा टिल्पिलाए । ओँठहरु कलेटी पर्न थालिसकेको थियो । तर पनि आफ्नो विगत भनिनैरहे । चियाचुस्की लिँदै । मैले पनिचिया सुर्पिएँ ।
“हाम्रो सम्बन्ध खासै मिठो थिएन । म गरिब परिवारबाट आएको एउटा सामान्य मान्छे थिएँ । उनि लाहुरे फेमेलीको धनि र सौखमा हुर्केकी थिइन् । म भित्र एउटा हिनताबोध त छँदै नै थियो । तै पनि सङ्गीतमा लागेर धन कमाउन नसके पनि नाम कमाएर इज्जत राख्ने अभिलाषा म भित्र थियो । त्यो बेला अहिले जस्तो सङ्गीत ब्यवसायिक बनेको थिएन । पैशाको अभाव नै थियो । तर स्वाभिमानी थिएँ । घरमा हार्दिक प्रेम नहुँदा प्राय धेरै समय बाहिरै रहन्थें । गीत रेकर्डिङ, कलेज अध्ययन, सङ्गीत साधना, विद्यार्थी राजनीति, साथीभाई जस्ता कुराहरुले निकै नै व्यस्त पनि थिएँ । सायद मेरा यस्ता गतिविधिहरु लिलालाई मन परेन । मैले पनि उनलाई बेवास्ता गर्न थालें । सँगै जीवन बिताउन सायद हाम्रो भाग्यमा थिएन । त्यसपछि हामीले सहमतिमै अलग्गीने मोडमा पुग्यौं । संयोग पनि कस्तो भने, लिला सँगको डिर्भोस र मेरो जीवनको खुशी एकै दिन भयो । यता ललितपुरको जिल्ला अदालतमा दिउँसो बाह्र बजे लिलासँग डिभोर्स पेपरमा हस्ताक्षर गरेँ । तुरुन्त म २०६१ सालको रेडियो नेपालको सर्वोकृष्ट सङ्गीतकारको पुरस्कार ग्रहण गर्न दुई बजे रेडियो नेपाल पुगेँ । एकतर्फी मलाई पत्नि बिछोडको पिडा थियो भने अर्कोतर्फ जिन्दगीको सवैभन्दा ठुलो खुशी थियो । जसको लागि म काठमाडौं आएको थिएँ । र अर्को पनि संजोग थियो । जुन गीतले मैले सर्वोकृष्ट सङ्गीतकारको पुरस्कार प्राप्त गरेँ त्यो गीत प्रतिमा श्रेष्ठको शब्द थियो । प्रतिमा सँग मेरो सम्बन्ध अगाडि बढ्ने्  क्रममा थियो । पहिलो श्रीमतिसँग डिभोर्स दिँदा दुई वर्षको छोरो मैलेनै लिएँ । बढो दुख गरेर हुर्काएँ । अहिले कक्षा नौंमा पढ्दैछ मेरो स्विकार ।”
वेटर भाईले पुन मिल्क टी टेबलमा राखिदिए । चम्चाले चिनी कपमा हाल्दै फेरी उनि घोत्लीए । म कपीमा धामधम नोट गरिरहेको थिएँ ।
santiram-rai-photo-7
सन्नाटा छायो एकछिन । यस पटक हाम्रा छेउको टेवलमा एक जोडी आएर बसे । उनिहरु निकै प्रेम दशाईरहका थिए । उनिहरुलाई देखाउँदै दाईलाई प्रेमिल प्रश्नहरु राख्न सुरु गरिहालेँ । उनि पनि आफ्नो विगतको प्रेमिल भावलाई प्रफुष्टन गर्न लागे । मैले सोधे दाई प्रतिमा श्रेष्ठसँग चाहीँ कसरी लभ परयो ? उनले फलाफली भन्न थाले ।
मेरो त्यसबेला पेजर थियो । मलाई म्यासेज आयो । मैले कल गरेँ । हाम्रो पहिलो भेट जावलाखेल स्थित होटल क्लेरियनमा भयो । म रमाईलो पाराको मान्छे छु अहिले पनि । सायद उसलाई मन परयो । प्रतिमा श्रेष्ठ कान्तिपुर एफएमका सुसेली कार्यक्रमको आरजे थिईन् । प्रतिमा पनि दुई बच्चाकी आमा रहेछिन् तर असाध्यै फरासिली र हँसिली । एकदिन मलाई उनले आफ्नो रेडियोको कार्यक्रमको सिग्नेचर सङ्गीत गर्दिनको लागि अनुरोध गरिन् । उनले चारलाइन शब्द हातमानै लेखेर आएकी थिईन् । म अझै सम्झीन्छु ।
समयको बहावसँगै यहाँ सम्म आईपुग्दा
तिम्रो सम्झनाका छालहरु उठ्न छाडेनन्
र प्रिय फेरी तिम्रो याद आयो ।
कार्यक्रमको सिग्नेचर ट्युनको लागि भनेर बनाइएको चार लाईनको शब्द पछि पुरै गीत नै बन्यो । जुन निकै रुचाईयो श्रोतामाझ । साँच्चै यो गीतले हामीलाई अझ नजिक्यायो । त्यस पछि कार्यक्रम सञ्चालीका र मेरो भेट निरन्तर हुन थाल्यो । म पनि एक्लो थिएँ । पछि उनको पनि डिभोर्स भयो । उनिसित एक छोरी र एक छोरा थिए । मेरो पनि एक छोरा । हाम्रा सवै कुराहरु मिले । हामीले एकअर्कालाई स्विकार गरयौं । करिव सात वर्ष प्रेममा रह्यौं । प्रतिमा निकै ट्यालेन्ट, स्मार्ट, संघर्षशिल, जिम्मेवारर हिम्मतवाली थिईन् । मलाई उनको सवै कुराले पग्ल्यायो । त्यसपछि हामीले सल्लाहमा इमाडोलमा मिलेर घर बनायौं । सात वर्ष प्रेममा रहेका थियौंं । त्यसपछि घरमा सँगै छोराछोरीहरु सहित बस्न थाल्यौं । तर हामी लिभिङ टुगेदर जस्तै थियौं । औपचारिक विहे भएको थिएन । तिन वर्षसम्म मात्र हामी संगै बस्न सक्यौं । अहिले हामी पनि अलग भै सकेका छौं ।
santiram-rai-photo-8
प्रतिमाले तीन वटा गीति संग्रह प्रकाशन गरेकी छिन् । जसमा प्राय हाम्रो प्रेम र जीवनको बारेमा समर्पित गीतहरु समावेश छन् । उनका धेरै गीतहरुमा मैले सङ्गीत गरेको छु, गाएको छु । नेपालका हस्तीहरुले उनका गीत गाएका छन् । हामीले एक अर्कामा धेरैनै प्रेम गर्थ्यौं त्यसका लागि सवै कुरा जायज भए पनि । उनि विगतमा डुब्दै थप्छन् –“हो रै छ, माया अन्धो हुँदो रै छ ।” प्रतिमाले सँगै हुँदा शब्द कोरेकी थिईन् – “अन्धो हुन्छ माया भन्थे साँचो रै छ ।” उनिहरु एक जनाले शब्द कोर्थेे अर्कोले सङ्गीत भर्थे । तर अन्धो मायालाई साँचो र अमर बनाउन भने चुके ।

“मेरो वैवाहिक जिवन पूर्ण असफल बन्यो । लिलासँग त्यस्तै भयो । अहिले प्रतिमासँग पनि । अब बिहे गर्दिनँ होला, कि । मन र मुटु छिया छिया भइसक्यो । कहिले काहीँ सोच्छु, म जतिको प्रेममा समर्पित मान्छे शायद उनिहरुले पाउँदैनन् होला । म बाट उनीहरुले संघर्ष गर्न सिके, मिहिनेत गर्न जाने । मैले उनिहरुबाट समय प्रति सचेत हुन, परिवार प्रति जिम्मेवार बन्न र काममा समर्पित हुन सिकें । तर पनि प्रतिमा मेरो अविष्मरणिय प्रेम हुन् । म मिस गर्छु ।”
यो बेला छेउको फुलको बोटमा हाम्रै अघि भंगेरा र भंगेरी माया साटिरहेका थिए । मैले दाईलाई देखाएँ । दाईले पनि उत्तर दिईहाले –“बरु पशुपंक्षीको प्रेम राम्रो ।” कुरा जारीनै थियो ।
अहिले हामी दुवै जना अलग छौं । भित्तातिर एकोहोरीदै भन्छन् –“अब हाम्रो सम्बन्धको पुनर्मिलन असम्भव छ । थप्छन् –“मलाई लाग्छ प्रतिमा प्रेमका लागि उत्कृष्ट प्रेमिका थिईन् । विवाहका लागि होइन ।” त्यो प्रेमिल सम्बन्ध सुमधुर राख्न हामीले सँगै बस्न हुँदैनथ्यो उनले प्रष्ट पारे । बालबच्चा र सम्पतीको कुरालेनै हाम्रो सम्बधमा दरार आएको उनले खुलाए । भन्छन् –“सँगै घरमा बस्दा मैले, हामी दुवैको छोरा छोरीलाई उत्तिकै माया गर्थेँ । म पनि त्यहीँ चाहन्थेँ । तर मैले प्रतिमाबाट धेरै नै डोमिनेट खेपेँ। भन्छन् –“किनकी म प्रतिमालाई अतिनै माया गर्थे ।” यो बेला उनका आँखाका डिल रसाए ।
तर प्रतिमा भने निकै मुडी थिईन् । सम्झीदै भन्दै थिए–“म उनिबाट निकै डोमिनेट भएँ ।” उनमा पछिल्लो समय सम्पति र छोराछोरीको अहँकार र दम्भ थियो । उनको नेवारी संस्कृतिलाई म निकै सम्मान गर्थे । उनि भने मेरो संस्कृति र संस्कारलाई खासै मन पराउँदिनथी । घर निर्माणमा त उनको नै बढी लगानी छ । मेरो थोरै । अन्तत मैले केही चाहिनँ अहिले डेरामै छोरासँग बस्छु । म स्वतन्त्र छु अहिले । यतिसम्म की हामीहरु फेसबुकमा पनि सँगै छैनौं, फोनको त के कुरा । उनले कामना पनि गरे –“प्रतिमाको सधैँ उन्नति र प्रगति होस् म उनको भलो नै चिताउँछु ।” भेटघाटको कुरामा उनले थपे –“कहिलेकाहीँ बाटोमा देख्छु, प्रतिमा नयाँ कारमा हुईकिईरहेकी हुन्छे म खटेरा बाइकमा ।”
santiram-rai-photo-9
करीव तीन घण्टा वितेको पत्तै भएन । टेवलभरी चियाका कपहरु भएछन् । फर्किने क्रममा बाइक पछाडी म बसेँ । हाम्रो बाइक सल्लाहघारीको नागबेली ओरालो बाटोमा कुदिरहेको छ । मेरो जिज्ञासा अझै सकिएका थिएनन् । बाटोमा जिज्ञासाहरु राखिरहेको थिएँ । म सोचीनै रहेको थिएँ । यति प्रेम गर्दा पनि किन उसको मायामा भर थिएन ? जसले लामो समय प्रेम गरे । मुलबाटो भङ्गालोमा हाम्रो बाइक पनि मिसिसकेको थियो । साँझपख कोटेश्वरतर्फ आउने बाटोमा सवारीको निकै घुईचो भैसकेको थियो । ठुलो पिच बाटो पनि सवारीले ढाकीएका थिए । अघि अघि ट्रक हुईकिईरहेको थियो । हामी ट्रकको पिछे पिछे । ट्रक एक्कासी रोकियो । हाम्रो बाइकको पनि झ्याप्प ब्रेक लाग्यो । म हुक्तिएँ । यो बेला मैले ट्रकमा लेखिएको ट्रक साहित्य देखेँ । अनि दाईलाई देखाएँ । दाईले मुस्कुराउँदै पढ्नु भयो माया र मौसमको भर हुँदैन, दाईले कन्फीडेन्स देखाउँदे भने–“हैट,धन्न ब्रेक लाग्यो ।”
शान्तिरामद्धारा चर्चित सङ्गीतबद्धगीतहरु
– धोका दियौ तिमीले बदनामको दाग लाग्यो
– तिमी तारे भिर म त लहरा
– बाटो हेरे हुन्छ आमा, म त आउँदैछु
– तिमीलाई हङकङ पुरयायो, आइडी कार्डैले
– धरान सुनसरी, यो मनमा चल्छनी तिम्रै मनपरी
– भेटौंला मायालु, इन्टरनेटैमा
– छालहरु ओ छालहरु, आएर मलाई भिजाएर जाऊ
– समयको वहाव संगै, यहाँ सम्म आईपुग्दा
– भञ्याङको चौतारिमा, आउनु है माया आउनु है
– डुल्न मन लाग्छ मायालु, साँझ सँगै बतास सँगै
– आजको यो साँझ, सम्हालेर राख
– एकै छिनको छुटाई पनि, कति नमिठो लाग्न थाल्यो
– तिम्रो माया लाग्छ नी लै लै हो
– सङ्गीतको भाका मीठो, झरनाको पानी जस्तो
उनका लोकगीतहरु पनि उतिकै चर्चित छन् ।
– ए पारि सालघारी, मिनी बसमा चढेर जाउँला बेलबारी
– उकाली ओराली, पुग्नै पर्छ आज लौ सिम्ले पुल पारि
– ए कान्छी, दिक्तेल बजार, माया लाउँ भनेर यो मन हतार
– ए बैनौ बिस्र्यौ कि कसो हो

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ७ : ४३ बजे