यिपिन । चीन भ्रमणमा रहेका उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले सिचुवान प्रान्तको यिपिन क्षेत्रको भ्रमण गरेका छन् । पुनले शनिबार विभिन्न विश्वविद्यालय, मोबाईल उत्पादक कम्पनीहरुको अवलोकन भ्रमण गरेका हुन् ।

यिपिन पोखरासँग असोज १ गते भगेनी सम्बन्धमा जोडिएको चिनियाँ सहर हो । ५५ लाख ६० हजार जनसंख्या भएको यिपिनलाई रक्सी र बाँसको सहर भनेर चिनिन्छ । उपराष्ट्रपतिले शनिबार विहान सिचुवान यूनिभर्सिटी एण्ड ईन्जिनियरिङको भ्रमण समेत गरे । भ्रमणको क्रममा उनलाई विश्व विद्यालयलमा अध्ययनरत नेपाली विद्यार्थीहरुले स्वागत गरेका थिए ।
नेपाली विद्यार्थीहरुसँग संक्षिप्त अन्तरक्रिया गर्दै उपराष्ट्रपतिले विश्वविद्यालयमा उत्कृष्ट नतिजा लिएर नेपालको शीर उचो राख्न आग्रह गरे । उनले यिविन नगरका चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी)का सचिवले सिचुवान यूनिभर्सिटीमा अध्ययनरत नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताएको सुनाउदै थप प्रगतिका लागि शुभकामना दिए । ‘हिजो मैले यहाँका नगर सेक्रेटरीसँग भेटेँ, उहाँले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको सुनाउनुभयो, यो हाम्रो लागि ज्यादै खुशीको कुरा हो,’ उपराष्ट्रपतिले भने, ‘तपाईंहरुले अझै राम्रो गर्नुस्, तपाईंहरुले राम्रो नतिजा ल्याउन अरु नेपाली विद्यार्थीलाई पनि यहाँ आउन सहज हुन्छ ।’

विश्व विद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरुले आफूहरुले उत्कृष्ट नतिजा ल्याउन कोशिस गरिरहेको बताए । विश्व विद्यालयका अन्तर्राष्ट्रिय विद्यार्थी एशोसिएसनका अध्यक्ष सुरजले आफूहरुले राम्रो गरिरहेको बताए । सो अवसरमा विश्वविद्यालयका अन्तर्राष्ट्रिय विभाग प्रमुख लिविङ मेले नेपाली विद्यार्थीहरु उत्कृष्ट रहेको बताएका थिए ।
उपराष्ट्रपतिले लिनकाङ आर्थिक क्षेत्रमा रहेको डोब मोबाईल र लिगो मोबाईल उत्पादन उद्योगको अवलोकन भ्रमण गरे । उनले चीनको सबै भन्दा लामो नदि याङसीमा बनेको यिपिन बन्दरगाहको समेत अवलोकन भ्रमण गरे ।

उपराष्ट्रपतिले शनिबार नै आधुनिक चीनका भवन निर्माण डिजाईनका बुवा मानिने लियाङ सिछङको निवासको अवलोकन भ्रमण गरे । लियाङ चीन जापान युद्धको बेला बेईजिङबाट याङसी नदिको किनारमा रहेको लिच्वाङमा आएर बसेका थिए । उनले त्यहीं बसेर आधुनिक चीनको भवनहरुको डिजाईन गरेका थिए ।

उपराष्ट्रपतिले चीन जापान युद्धको क्रममा बेईजिङबाट लिच्वाङमा सारिएका विभिन्न विश्वविद्यालयका अवशेष तथा हाल ती विश्वविद्यालय सम्बद्ध कलेजहरुको अवलोकन भ्रमण समेत गरे । उनले करिब दुई सय वर्ष पूरानो बस्ती सिजको पनि भ्रमण गरेका थिए ।
उपराष्ट्रपति शुक्रबार साँझ यिपिन आईपुगेका हुन् । उनको सम्मानमा शुक्रबार यिपिन नगर सरकारले रात्रीभोज दिएको थियो । उनी आईतबार छेन्दु फर्कने कार्यक्रम रहेको छ ।










