२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

विपीको ४३ औं मेलमिलाप दिवस सोलुखुम्बुमा पनि !



सोलुखुम्बु । विपी कोइरालाको ४३ औं राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा नेपाली कांग्रेस सोलुखुम्बुले पनि एक दिवसिय कार्यक्रम गरी मनाएको छ । जिल्ला समन्वय समिति सोलुखुम्बुको समीक्षा हलमा आयोजित एक दिवसिय मेलमिलाप, राष्ट्रिय एकता तथा विचार गोष्ठिको आयोजना गरी विपीको मेलमिलाप दिवस मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अथिति तथा नेपाली कांग्रेस सोलुका सचिव धनजन राईले विधि र विधान सम्मत सबै तहका नेता कार्यकर्ताहरुले अनुसरण गरेमा कांग्रेसलाई कसैले हराउन नसक्ने बताए । ‘हामी अनुशासित रुपमा स्वार्थभन्दा माथि उठेर पार्टीको लागि सोच्ने हो भने पनि एकताको सुत्रमा बाधिन सक्छौं,’ सचिव राईले भने, ‘जसले गर्दा पार्टी बलियो हुन्छ, राष्ट्र बलियो हुन्छ, अनि देश समृद्धितर्फ लम्किन्छ ।’
कार्यक्रमका सभापति तथा नेपाली कांग्रेस सोलुका सहसचिव कुशराज राईले नेपाली कांग्रेस पार्टीभित्रको आन्तरिक विवाद र समस्याले कमजोर भएको बताए । ‘पार्टीभित्र भनिदै आएको वैधानिक, अवैधानिकको विवादले पार्टी पछिल्लो समयमा कमजोर भएको हो,’ सहसचिव राईले भने, ‘नेपाली कांग्रेसको महासमिति बैठकले पार्टीभित्र भएको सबै विवाद अन्त्य गरेको छ ।’ उनले कांग्रेस प्रतिपक्षमा रहेकाले सरकार चलाउनेहरुको राम्रो कामको समर्थन र नराम्रो कामको खबरदारी गर्ने समेत बताए ।
कांग्रेसका महासमिति सदस्य जयप्रसाद राईले पार्टीलाई बलियो बनाउँनका लागि यूवा तथा विद्यार्थीहरुलाई आकर्षण गर्ने प्रभावकारी कार्यक्रम अनिवार्य रुपमा ल्याउनु पर्ने बताए । नेपाल विद्यार्थी संघ सोलुखुम्बुका अध्यक्ष अश्विनबाबु थापाले संघीय लोकतान्त्रिक गणतन्त्रबाट आएको संविधानमा व्यवस्था भएको कक्षा १-१२ सम्म सबैका लागि शिक्षा निःशुल्क रुपमा लागू गर्नुपर्ने बताए । अध्यक्ष थापाले निःशुल्क शिक्षा पाउने संविधानमा व्यवस्था भएपनि अधिकांश विद्यालयमा मनोमानी शुल्क लिएकाले त्यस्ता खालका गतिविधि अविलम्ब रोक्नु पर्ने बताए । उनले नेविसंघको स्थानीय र जिल्ला अधिवेशनका लागि सबै विद्यार्थीलाई आ-आफ्नो क्षेत्रबाट लाग्न समेत निर्देशन दिए ।

नेविसंघ सोलु काठमाडौं सम्पर्क समितिका अध्यक्ष हेमराज शर्माले विपिले प्रतिपादन गर्नुभएको राष्ट्रिय एकता र मेलमिलापको बारेमा बोल्दै राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विपी नेपाल फर्कने निर्णय गरेको बताए । नेपाली कांग्रेस जिल्ला कार्यसमिति सचिव धनजन राईको प्रमुख आतिथ्यता तथा जिल्ला सहसचिव कुशराज राईको सभापतिवमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा नेका जिल्ला सदस्य सन्तोष कट्टेल, नविन थापा, शारदा तामाङ लगायतले आफ्नो धारणा राखेका थिए ।

प्रकाशित मिति : १६ पुस २०७५, सोमबार  २ : ४८ बजे