२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

वियुको निर्वाचन सारौँ महामन्त्री : डा कोइराला


१६ माघ २०७५, बुधबार  

35
Shares

भरतपुर । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्ववियु निर्वाचनको मिति सार्न माग गरेको छ ।

आज भरतपुर विमानस्थलमा रासससँग कुरा गर्दै महामन्त्री कोइरालाले नेविसङ्घभित्रको विवाद र नेतृत्वको टुङ्गो नलागिसकेको भन्दै फागुन १४ गतेको स्ववियु निर्वाचनको मिति सार्नुपर्ने माग गरेको हो ।

“नेविसङ्घमा तदर्थ समिति बनाउने कि अर्को समिति बनाएर अधिवेशन गर्ने, त्यसमा हामी छलफल गर्दैछौँ”, महामन्त्री कोइरालाले भने”– त्यस कारण स्ववियु निर्वाचनको मिति सार्न माग गरेका छौँ ।” यही महीना बस्ने पार्टीको केन्द्रीय समितिको बैठकले नेविसङ्घको विवाद टुङ्गाउने उहाँले बताए ।

अर्को प्रसङ्गमा महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उहाँले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए । सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरे पनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए ।

पार्टीको क्रियाशील सदस्यता वितरण गर्न काङ्ग्रेस गाउँगाउँमा जाने महामन्त्री कोइरालाले बताए । चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी काङ्ग्रेसले काम गर्ने उहाँको जिकिर छ । “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस सुरु भएको छ”, उहाँले भने– “पार्टी सभापतिको क्रियाकलापले उहाँको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उहाँले बताए ।

प्रकाशित मिति : १६ माघ २०७५, बुधबार  ११ : ३९ बजे