किरात विविधता : विरोधी राई यायोक्खा

Facebook Debugger

“प्रख्यात जातिहरुमध्ये एक (राई) पनि पर्छन् रे ! राईले नै हामी चिनी सकियौं रे ! अब हाम्रो पहिचान राईमै भैसक्यो रे ! त्यसकारण राईले अर्को पहिचान खोज्नु हुन्न रे ।” यी सब कुरा त अवसरवादी राईहरुले भन्दै आइरहेका छन् । ठिक छ, यदि त्यसो हो भने राईले ‘किरात’ किन जोड्छन् त ? हो, ‘किरात राई’ भन्नलाई जति सजिलो छ, यो त्यतिनै अप्ठ्यारो पनि छ । किनभने किरात र राईबीचको ऐतिहासिक सम्बन्ध देखिँदैन । सुन्दा अचम्म लाग्न सक्छ परन्तु, सत्य यही हो । हुनत यी हरफ लेखिरहँदा राई भनेर चिनिएका मानिसहरु रिसाउन पनि सक्छन् । यसबारे लेखक निनाम लोवात्ती कुलुङ भन्छन् “जसले आफ्नो इतिहास अध्ययन, अनुसन्धान गरेकै हुँदैनन्, त्यस्ता राईहरु यस्ता कुराले रिसाउन सक्छन् ।” स्वाभाविक हो । तर, जसले आफ्नो इतिहासलाई अध्ययन, अनुसन्धान गरेका छन् तिनीहरु रिसाउँदैनन् । विरोध पनि गर्दैनन्, किनकि उनीहरु यस मामलामा प्रष्ट छन् ।
जस्तै : ‘किरात’ शब्दले इतिहास, भूमि, सभ्यता, धर्म, दर्शन आदिलाई उजागर गर्छ भने, ‘राई’ भनेको शासकले दिएको पद, पदवी मात्रै हो । अब भन्नुहोस् ‘किरात’ र ‘राई’ शब्दको मिलन भयो कसरी ? यसरी हेर्दा किरात र राईबीचको दुरि आकाश जमीनकै फरक देखिन्छ । अझ भन्नेहरुले त हामी (राई) भित्रका जातजातिहरु हौं भन्दै आइरहेका छन् । तर यो भनाई पनि शतप्रतिशत गलत छ । किनकि पद, पदवी भित्र जातजाति वा समुदाय हुनै सक्दैन । बरु विविध जातजाति, समुदायका मानिसहरुका क्षमता, दक्षता अनुसार चाहिँ पद, पदवी सृजना भएको मान्न सकिन्छ । तैपनि विवादित (राई) जाति हो वा होइन भन्ने निष्कर्ष निकाल्नलाई त इतिहासकै सहारा लिनु पर्ने हुन्छ । आफै जान्ने सुन्ने भएर मनगढन्ते तर्क गर्नुको कुनै तुक छैन । किनकि कुतर्क गरेर कोही पनि मिलन विन्दूमा पुग्न सक्दैन । यदि ‘शक्ति र पहुँच’ को बलले पुगिहाले पनि त्यो दिगो हुँदैन । यसको ज्वलन्त उदाहरणमध्ये केही अंश यहाँ समावेश गरिएको छ । ‘राई शब्द राजाको पर्यायबाची हो र उपाधिका रुपमा मात्र प्रयोग गरिन्थ्यो ।’ (नगेन्द्र शर्मा : नेपाली जनजीवन, १९७६, दार्जिलिङ्ग, भारत) । ‘राई’ भन्ने कुनै जातिको नाम नभई गाउँका ठालू वा मुखिया जनाउने शब्द मात्रै हो । बाहुनलाई पण्डित, नेवारलाई साहुजी, ठकुरीलाई बाबुसाहेब, छेत्रीलाई काजी, लिम्बू र थकालीलाई सुब्बा, तामाङ र हिमालीलाई लामा, थारुलाई चौधरी, दमाईलाई नगर्ची, सार्कीलाई मिजार, कामीलाई सुनार शब्दले सम्बोधन गरेजस्तै हो । (डोरवहादुर विष्ट : सवै जातको फूलवारी) । यसैगरी राईको बारेमा दर्जनौ इतिहासकार, खोज अनुसन्धान कर्ताले प्रष्ट्याएका छन् । त्यसकारण (राई) शब्दले वास्तवमा किरातभित्रका विविध जातजाति, समुदायका मानिसहरु भ्रममा परिरहेको स्थिति छ । राईको वंश, भूगोल, इतिहास, भाषा संस्कृति, नहुनुले पनि यी कुराको पुष्टि गर्दछ ।
यसरी किरातीहरु पछाडि पर्नुको प्रमुख कारण तत्कालिन शासक रहेको कुरा इतिहासले बोली दिएको छ । किरातीहरु शासक एवं नेतृत्वपंक्तिबाटै समेत पढ्न, लेख्न बञ्चित हुने गरेका थिए । अर्कोतर्फ उनीहरु आफै पनि लेखपढ गर्नमा कमजोर थिए/छन् । उनीहरु आफ्नो इतिहासिक पृष्ठभूमि आफै पनि खोजतलस गर्दैनन् । जसले गर्दा उनीहरु आफै के हो? पहिचान गर्न सकिरहेका छैनन् । प्राय धेरैजसो किरातीहरु आफ्नो इतिहास, मौलीक भेषभूषा, भाषा, संस्कार, संस्कृतिबारे अनविज्ञ रहेको पाइन्छ । हुनत हामीकहाँ किराती बुद्धिजीवीहरु हुँदै नभएको भने होइन, थुप्रै छन् । पिडाम्बना : उनीहरुले अशिक्षित, अनविज्ञ, पिछडिएका वर्ग, समुदायका किरातीहरुलाई यसबारे सत्यतथ्य सूचना प्रवाह गर्दैनन् । कथित बुद्धिजीवी, विज्ञ भनौदाहरुले आफूले आयआर्जन गरेको ज्ञानगुणका कुरा आफैभित्र सिमित राख्ने गरेको पाइन्छ । त्यसो गर्नुको पछाडि आ-आफ्नो निहित स्वार्थ लुकेको देखिन्छ । हो, किरातीहरु पछि पर्नुमा यस्तै प्रबृत्तिले महत्वपूर्ण भूमिका खेलेकोे छ । खासगरी राई भनेर चिनिएका बुद्धिजीवी, डाक्टर, इन्जिनियर, प्राध्यापकहरुले राईकै वकालत गर्ने गर्दछन् । उनीहरु आफूलाई राई भनेर चिन्न चिनाउनमै गर्व गर्दछन् । तर त्यही (राई) पगरीले आफ्नो असली पहिचान नामेट पारेको तथ्य भने कहींकतै भन्दैनन् । यसबारे खोज, अनुसन्धान गरी कोही कसैले तथ्यलाई बाहिर ल्याईहाले पनि स्वीकार्दैनन्, बरु उल्टै विरोध गर्न अघि सर्छन् । यसरी लामो समय देखि राई भनेर चिनिएका बुद्धिवीजी अगुवाहरुबाटै समेत किरात भित्रका विविध जातजाति, वर्ग, समुदायका महत्वपूर्ण सूचना लुकाउने, छिपाउने काम हुँदै आइरहेको देखिन्छ ।

इतिहासकार राजेश गौतम र के. थापा मगर लेख्छन्-“किरातीहरुको संरचना ध्वस्त पारी, किराती प्रमुखहरु हटाइए र तिनीहरुको ठाउँमा ‘राई’ नियुक्त गरिए । पृथ्वीनारायण शाहले किरात भूमीलाई (१८३१ वि.स.तिर) नेपालमा मिलाएपछि राई शब्दको प्रयोग हुन थालेको हो । किरात क्षेत्रमा राई, सुब्बा, मुखिया र देवान पद प्रदान गरी उनीहरुलाई किपट भूमिको राजस्व संकलन गर्ने जिम्मेवारी दिइएको थियो ।” (ट्रइबल इथ्नोग्राफी अफ नेपाल, पृष्ठ १५५ र १५६) यसरी इतिहासलाई अध्ययन गर्ने हो भने विक्रम सम्बत १८३१ बाट राई शब्दको प्रयोग भएको बुझ्न सकिन्छ । त्यसैगरी राईले पाएको क्षेत्र, अधिकार अलिअलि कटौती गर्दै लगेर भूमिसुधार ऐन २०२१ को नापीले पूर्णरुपमै अन्त्य गरेको कुरा समेत विभिन्न इतिहासिक दस्तावेजहरुमा पढ्न पाइन्छ । राई पद खारेज भैसकेपछाडि राईले पाउने सेवा, सुविधा, अधिकार समेत उतिखेरै समाप्त भएको प्रष्ट हुन आउँछ । तर, जब किरात शब्दको दूरुपयोग गर्दै २०४७ सालमा “किराँत राई यायोक्खा” नामक संस्था (एन.जी.ओ.) खडा गरियो । त्यसले निर्जीव (राई) पगरीलाई बचाउनका लागि ठूलो भूमिका खेल्यो । अचम्म त के भने (राई) पगरीलाई नै जाति मान्न थालियो । जसले गर्दा किरातीहरुको पहिचानलाई समाप्त पार्नुमा अझ मद्दत पुग्यो । यसरी केही राईहरुको निहित स्थार्थकै लागि सम्पूर्ण किरातीहरुको पहिचानमा प्रहार गरियो । यस कुरालाई राई यायोक्खाकै गतिविधिले समेत उदाङ्गो पारिसकेको अवस्था छ । किनकि राई यायोक्खाले (राई) भनेर चिनिने कमजोर किराती वर्ग, समुदायहरुलाई माथि ल्याउनुको साटो उल्टै दबाउने, उनीहरुलाई माथि उठ्न नदिने काम गर्दै आइरहेको धेरैलाई थाहा छ । यसरी शक्तिशाली केही राईहरुका निहित स्वार्थकै कारण कुलुङ, थुलुङ, बाहिङ, बान्तवा, नाछिरिङ, चाम्लिङ, साम्पाङ, याम्फू, आठपहरिया, मेवाहाङ, लोहोरुङ आदि जातजाति, समुदायहरु दशकौं देखि राईकरणको खाल्डोमा परेका छन् । खाल्डोबाट निस्किन चाहने किरातीहरुलाई सहयोग गर्नुको साटो राई यायोक्खा नामक (एन.जी.ओ.) ले अझ उनीहरुलाई दबाउनमै खर्चिरहेको प्रष्ट देख्न सकिन्छ । यसरी विविध जातजाति र समुदायहरुलाई राईकरणको खाल्डोबाट निश्किनै नदिनुु, राईहरुको ठूलो संख्या देखाउँदै सदाबहार शक्तिमा रहन खोजिनुले पनि राई यायोक्खा जातिय संस्था नभई एउटा राजनीतिक पार्टी जस्तो भएको छ ।

अझ उल्टै राई यायोक्खाका जिम्मेवार व्यक्ति र तिनका निकटतमहरु भन्ने गर्छन्- ‘राई फुट्नु हुँदैन, एकताबाट अनेकतामा जानु हुँदैन ।’ झट्ट सुन्दा हो जस्तो लाग्ने, तर राई यायोक्खाको चलाखीपूर्ण जाली शब्द मात्रै हो । राईको एकता भएकै छैन, कसरी फुट्नु ? के राई राई भन्दैमा वा लेख्दैमा राईको एकता भएको मानिन्छ त? यदि त्यसो हो भने यूरोेप, अमेरिकालगायत छिमेकी राष्ट्र भारत, बंङ्लादेशका गडवाली, पंजावी, काला, गोराहरुले पनि राई लेख्ने गरेका छन् । के ती राईहरुलाई पनि राई यायोक्खाले समेटेको छ त ? छैन । नेपालमै पनि नेपालगञ्जतिर मुस्लिम राईहरुको संख्या कम छैन । जस्तै वर्तमान सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईलाई लिन सकिन्छ । दनुवार समुदायका मानिसहरुले पनि राई लेख्ने गरेको पाइन्छ । त्यसकारण राईले एकता गरेको छ भन्नु हस्यास्पद कुरा हो । यसरी कुतर्क गर्दै केही शक्तिशाली राईवादीहरुले राजनीतिक एवं निहित स्वार्थपूर्तिकै लागि शक्तिविहिन किरातीहरुको टाउको प्रयोग गर्दै आइरहेको कुरा घाम जस्तै छर्लङ्ग देख्न सकिन्छ ।

वास्तवमा भन्ने हो भने राई पगरीले किरातका विविधतालाई समाप्त पारिदिएको छ । किरात भित्रका जातजाति वा समुदायलाई पद पगरीले होइन, किरातले चाहिँ एकता गर्छ । जसमा सत्यता छ, इतिहास साँची छ । किरात इतिहास, आधार, प्रमाणहरु थुपै्र छन् । जसलाई बुझाउन सकियो भने सम्पूर्ण किरातीहरुले स्वीकार्न सक्छन् । जस्तैः किरात काल थियो । किराती राजाहरु थिए । हो, त्यही किरात भित्रका फूलबारी हुन् ‘किरात समुदाय’ । हेर्दा उस्तउस्तै हुलिया देखिएता पनि यी जातजातिहरुका इतिहासिक भूमि, भाषा, संस्कार, संस्कृति, रहनसहन अलग-अलग रहेका छन् । यी जातजातिहरुमा विविधता झल्किन्छन् । तिनै विविधता नै एकताका प्रतिक हुन् । तर खोई कुरो बुझेको? यदि किरातीहरु एकता भएको खण्डमा के फेरिपनि किरातकाल नदोरिएला भन्न सकिन्छ ? सम्भावना छ । यदापी किरातीहरुमा यस्ता चेतना अत्यन्त न्यून देखिन्छ । भएका केही किराती बुद्धिजिबी, डाक्टर, इन्जिनियर, प्राध्यापक, राजनीतिज्ञहरु र तिनलाई पच्छ्याउने आसेपासेहरु समेत आ–आफ्नो स्वार्थमै लिप्त छन् । त्यतिमात्र होइन, उनीहरु गैरकिरातीहरुको झोलेपोके हुनमै रमाउने गरेका छन् । त्यसरी झेलेपोके भएर २/३ जना राईहरु मन्त्री हुँदैमा के समग्र किरातीहरुको जीवनस्तर माथि उठ्न सक्छ त ? दुई चारजना राईहरु पहुँचमा पुग्दैमा सम्पूर्ण किरातीहरुको शिक्षा, दिक्षा, उनीहरुको भाषा, संस्कार, संस्कृति, पहिचानलगायतका कुरालाई अगाडि बढाइन्छ त ? बढाइँदैन । यदि त्यसो हो भने विगतमा पनि दर्जनौ राईहरु मन्त्री भएकै थिए । ठिक त्यही अवस्था अहिले पनि छ । तर किरातीहरुका लागि “कागलाई बेल पाक्यो, हर्ष न बिस्मत” झैं भएको छ । पहँुचवाला राईहरुले पहुँचविहिन किरातीहरुलाई माथि उठ्न नदिनु, उनीहरुमाथि सदाबहार शासन गर्न खोखिनु, यो भन्दा दुःखद् अरु के हुनसक्छ ? के राईको ठूलो संख्या देखाएर एक दर्जन राईको भलाई भएर मात्र हुन्छ ? राई पगरीलाई जात मान्दै १/२ जाति र समुदायका भाषा, संस्कृतिलाई अगाडि बढाएर मात्र कसरी एकता भयो ? आजसम्म राई यायोक्खाले गरेको कामहरु यस्तै प्रकारको देखिन्छ । विभिन्न संघ संस्थाहरु, विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरु, विभिन्न दातृ निकायहरुबाट राई यायोक्खामा करोडौं धनराशी आउने गरेका छन् । राज्यबाट (राई) जातिको नाममा आउने स्रोत, साधनहरु पनि राई यायोक्खाकै पोल्टामा जाने गरेको छ । त्यतिमात्र होइन, राई भनिने स्वदेश तथा विदेशीहरुबाट आउने विविध किसिमका चन्दा समेत राई यायोक्खामै थुप्रने गरेको छ । तर त्यसरी आउने स्रोत, साधनहरु के कसरी प्रयोग गरिन्छ ? यसबारे लाखौं राईहरु अनविज्ञ छन् । यो पंक्तिकार पनि ठूलै राई गाउँमा जन्मे हुर्केको मान्छे हो । तर खै त राई यायोक्खाका जिम्मेवार व्यक्तिहरु यो पंक्तिकारको राई गाउँमा पुगेको? जहाँ राई राई भन्नेहरु कुलुङ, चाम्लिङ, साम्पाङ समुदायका बाहुल्यता रहेको छ । लाखौं जनसंख्या देखाउने कथित राई यायोक्खाका जिम्मेवार व्यक्तिहरु राईहरु बसोबास गर्ने थातथलोमा किन पुग्दैनन् ? राईहरुको गाउँघरमा कार्यक्रम किन लाँदैनन् ? गम्भीर प्रश्न हो, यो । केन्द्रको त कुरै छाडौ, जिल्लाका प्रतिनिधि समेत गाउँगाउँमा पुग्दैनन् । यदि पुगिहाले पनि तिहारमा देउसीभैलो खेल्न वा खेलाउन मात्र पुग्ने गरेको पाइन्छ । त्यसरी देउसीभैलो खेलेको आधा रकम समेत केन्द्रतिरै जाने गरेको बुझिन्छ । यसरी हेर्दा के राई यायोक्खा ठ्याक्कै राजनीतिक पार्टी जस्तो देखिएन त? त्यसकारण वास्तवमा (राई) पगरीले किरातीहरुको असली पहिचानलाई ध्वस्त पारेको छ भने, कुलुङ, थुलुङ, बाहिङ, बान्तवा, लोहोरुङ, आठपहरिया, चाम्लिङ, मेवाहाङ, याम्फू, साम्पाङ आदि जातजाति, समुदायहरुका मानिसलाई राज्यको स्रोत, साधनको पहुँचमा पुग्नबाटै वञ्चित गरिएको स्थिति छ । यस्तो अवस्थमा राई पगरीलाई जात मान्नेहरुले यी र यस्ता सम्वेदनशील कुरालाई बेलैमा बुझ्न सकेनन् भने भोली आउने भावी पुस्तासमेत दुःख पाउने प्रायः निश्चित छ । (यो लेख लेखकको नितान्त व्यक्तिगत विचार हो । सम्पादक)

Published On:  2008पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार