बोलेको भए हुन्थ्यो नि ‘फुङलाम’

  किशोर बायुङ राई
1.5k Shares

किरात राई चलचित्र संघ(किरासं)को आयोजनामा २०७५ चैत्र २२ गते नेपाल चलचित्र विकास बोर्डको हलमा सम्पन्न विशेष कार्यक्रममा ६ वटा लघु चलचित्र प्रदर्शन भए । तीमध्ये केशव बाहिङ राई ‘युप्स’को परिकल्पना तथा युवराज (वीर ब.) थुलुङको निर्देशनमा निर्मित ‘फुङलाम’ बायुङ÷बाहिङ राई संस्कृतिमा आधारित चलचित्र पनि प्रर्दशन भयो ।
‘फुङलाम’ बोल्न नसक्ने एक टुहुरी चेलीको कथा हो । उनी जन्मैदेखि बोल्न सक्दिनन् तर मामा (आमा)को हातमा खिपिएको कला र सीप सिक्न माहिर छिन् । फुङलामको मामा उही मिथकमा बाँचेका जाउमा ख्लिउमाले जस्तै गरी मिरिक्क परेको सिप्ते (कलात्मक वस्तुहरुको निर्माण) गर्छिन् । तान बुन्छिन् । झःरझःसी बनाउछिन् । फुर्का बनाउछिन् । चाम्पुरी बनाउछिन् । सालामा बनाउछिन् । किप्सारी बनाउछिन् । मोक्ते बनाउछिन् । दासुवा बनाउछिन् । यी सब ज्ञान र सीप टपक्कै टिप्छिन् ‘फुङलाम’ । सजाउछिन् डायरी रंगैरंगले । र मामाले थमाउछिन् आशिर्वादसँगै फुर्का ।
अप्ठ्यारोमा फुलेको अम्बीरी (सुनाखरी) टिप्दा ज्यानै टिपिन जान्छ मामाको । उही त हो, कहाँपुगेर पातमा पानी ल्याउछिन् । छम्काउछिन् । झकझकाउछिन् । जोखनाकृष्ण देखाउँछिन् । लम्बिदैँन आयु चामलको गेडाले । आत्म कति पोल्दो हो । मन कति रुँदो हो । मुटु कति भक्कानिँदो हो । तर उही बाजेबोजुले कहने । नक्सोले मुध्धुममा भनिरहने मिथककी पात्र बन्छिन् । बिनायोको नाना छपरीजस्तै ।
अब, जाउमा संघर्ष, ख्लिउमा संघर्ष गर्न हट्दिनन् किराती चेली । घामजुन भइसकेको । मामाको लहराजस्तै स्मृतिहरु खिप्छिन् त्यही सिप्तेमा । चलाउछिन् ठ्याठ्यक्सी । सत्कार गर्छिन् पाहुनालाई मामाले जस्तैगरी एक डबका जाँडले । पलेँटी कसीबसेको पाहुनालाई जाँड दिँदै मुस्कुराउदै स्यिवा(ढोग) गर्दा कस्तो मीठो देखिएको ?
उनी तोः (तान) मा लण्ठालाग्दो धागोजस्तै कठिनाइहरुलाई उन्दै उन्दै, सग्ल्याउदै सग्ल्याउदै, गाँस्दै गाँस्दै, बुन्दै बुन्दै मिरिक्क परेको सपना बनाउँछिन् । झःरझःसी सहितको एक तोःलो (थुन्चे) कोसेली बोकेर सेग्रो (बायुङ राईहरुको सबैभन्दा ठुलो पितृकार्जे)मा निम्तालु भएर जाँदा न्यानो टाँसिदेल्लेकसँगै मीत बाबैले फुङलामको बाटो देखाइदिन्छन् । समाजमा व्याप्त संकुचनलाई औल्याइदिन्छन् । कस्तो सङ्लो विचार मीत बाबैको ?
हुन पनि हो । जित्छिन् नि त फुङलामले । फुक्छ सोलु एफ्.एम्. ले, “त्यसैगरी प्रथम स्थान भने सोलुखुम्बु जिल्ला नेचाबतासे ५, लिस्पुम्की सुश्री ‘फुङलाम बाहिङ राई’ ले जित्नुभएको छ ।” अनि सम्झिन्छिन् घामजुन भएकी मामालाई । सुमसुम्याउछिन् उही मामाको चिनो ‘फुर्का’ । कत्ति बोल्न मन लाग्दो हो । कत्ति बह पोखाउन मन पर्दो हो । मनमा बहिरहन्छिन् तमासले । आँखामा बगिरहन्छिन् बेतोडले । लाग्छ ‘बोलोको भए हुन्थ्यो नि फुङलाम ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार