जनगणना २०७८ : गणक को खटाउने ?

  निनाम कुलुङ ‘मंगले’
112 Shares

नेपाल सरकारको मातहतमा रहेको केन्द्रीय तथ्यांक विभाग (केतवि) ले हरेक १०–१० वर्षमा देशको जनसंख्याको लगत लिने गरेको छ । जसलाई ‘राष्ट्रिय जनगणना’ भन्ने गरिन्छ । त्यस्तै हालै आएको समाचाअनुसार केतविले विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनाका लागि सातैवटा प्रदेश र अन्तर–सम्बन्धित सरकारी निकायहरु र विभिन्न सरोकारवाला संघ–संस्थाहरुसँग छलफल र बहस चलाउन थालेको छ, जुन धेरै राम्रो कुरो हो । केतविले यस्तो छलफल र बहस विसं २०६८ को ‘राष्ट्रिय जनगणना’को सन्दर्भमा पनि आयोजना गरेको थियो ।
विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनालाई आधार मानेर केतविले सार्वजनिक गरेको पछिल्लो जनगणनाको नतिजाअनुसार (विसं २०६८ को जनगणना) नेपालको कुल जनसंख्या दुई करोड ६४ लाख ९४ हजार ५०४ जना रहेको छ । (हाल दुई करोड ९७ लाख चानचुन भै सकेको छ) त्यसमध्ये महिलाको जनसंख्या एक करोड ३६ लाख ४५ हजार ४६३ (५१.५० प्रतिशत) र पुरुषको जनसंख्या एक करोड २८ लाख ४९ हजार ०४१ (४८.५० प्रतिशत) रहेको थियो । त्यस्तै केतविले विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा नेपालको जनसंख्या लगभग ३ करोडको हाराहारीमा पुग्ने अनुमान गरेको छ ।
भनिन्छ, विसं २०६८ को राष्ट्रिय जनगणनाको नतिजा प्रकाशन र जातजाति एवम् भाषाभाषीको बढोत्तरीले नेपालमा जातजाति, भाषाभाषी, धर्म आदिको नाममा (खासगरी संख्याको राजनीति गर्नेहरु) अमेरिकी डलर, क्यानेडीयन डलर, युरोपेली युनियनको युरो, बेलायती पाउन्ड, जापानी येन, स्वीस फ्रैन्क, भारु, चिनियाँं युआन, मलेसियन रिंगेट, साउदी रियाल, कुवेती दिनार आदि हजम गर्दै आएका केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरुको भने टाउको दुखेको थियो, नीद हराम भएको थियो । केही आईएनजिओ÷एनजिओका हर्ताकर्ताहरुले यो कुरोको संकेत (जातजाति र भाषा बढ्ने) पहिले नै थाहा पाएकाले अनेक जालझेल र तिकडम गर्न खोजेका थिए । त्यसरी टाउको दुःखाउने र नीद हराम हुनेहरुमध्येमा कथित् राई जातिको नाममा खुलेको र, समाज कल्याण परिषद दर्ता नम्बर–२६५६ रहेको ‘राई यायोक्खा (किराती जातिभित्रको बान्तावा जातिको भाषामा ‘यायोक्खा’ नाम रहेको र यायोक्खाको अर्थ भने यो पंक्तिकारलाई थाहा नभएको) नामक एनजिओ’का हर्ताकर्ता राई सर राईनी म्याडमहरु पनि थिए । अझ केही राई पत्रकारहरुको त मिसन नै थियो कि, सूचीकृत जातिका रुपमा रहेका ५९ जातिबाहेक अरु जातजाति २०६८ को ११ औं राष्ट्रिय जनगणनामा अलग्गै जातिका रुपमा नआऊन् ! उनीहरुको टाउको दुःखाईको मुख्य विषय भनेको हिजोसम्म जानेर वा नजानेर राई लेख्दै आएका किराती महाजातिभित्रका कुलुङ, मेवाहाङ, बाहिङ लगायतका १२ वटा नयाँ जातिहरु जो अलग्गै जातिको रुपमा आए, उनीहरु अलग्गै जातिको रुपमा नआऊन् भन्ने नै थियो ।
कुलुङ लगायत १२ वटा किरातीहरुलाई सकेसम्म राईमै गाभ्नका लागि विसं २०६८ को राष्ट्रिय जनगणना सम्बन्धी समाचार लेख्ने क्रममा बान्तावा जातिलाई राईभित्रको भाषिक समूह भनेर किटेरै लेखेका थिए, कान्तिपुर दैनिकका पत्रकार गणेश राईले । तर अचम्म के भने, कान्तिपुर दैनिक जस्तो पत्रिकाका सम्पादक वा भनौं समाचार प्रमुखले पनि उक्त समाचारलाई भेरीफाई नगरीकनै छाप्थे । गणेश राई त त्यो बेला राई यायोक्खा नामक एनजिओका केन्द्रीय सचिवसमेत भएकाले उनले कुलुङ लगायत किरातीहरुलाई राईकरणको घानमा पार्न खोज्नु अचम्म भएन । यसरी हेर्दा राई यायोक्खाका हर्ताकर्ताहरुको जोडबल के मा देखिन्थ्यो भने, विसं २०५८ सालमा तत्कालीन श्री ५ को सरकारले सूचीकृत गरेको कथित् ५९ आदिवासी जनजातिलाई मात्रै समेटेर केन्द्रीय तथ्यांक विभाग (केतवि) ले आफ्नो प्रतिवेदन प्रकाशित गरोस ! तर, केतविले भने, एकसय २५ जातजाति र एकसय २३ भाषाभाषीको तथ्यांक बाहिर ल्याउँदै थियो । केतविले साँच्चै राईयायोक्खा नामक एनजिओकै कुरोलाई सदर गरेर ५९ जातजातिको मात्रै तथ्यांक सार्वजनिक गरेको भए ६६ वटा अन्य जातजातिहरु छुट्ने थिए । हुन त विसं २०६८ को जनगणनामा आएको जातजाति र भाषाभाषीको तथ्यांकले कुलुङ लगायत १२ वटा किराती जातिहरु अन्य जातजाति र भाषाभाषीबारे थप अध्ययन–अनुसन्धान गर्नका लागि देशका भाषाशास्त्री, समाजशास्त्री, जातिशास्त्री, मानवशास्त्री र नृवंशशास्त्रीहरुका बाटो–पाटो खुलाएको छ ।

हुन त जातजाति, भाषाभाषी, धर्म आदिको संख्या बढ्ने क्रम विसं २०५८ को जनगणनादेखि नै देखिन्छ । किनभने, विसं २०५८ मा भएको दशौंं राष्ट्रिय जनगणनामा पनि जातजाति, भाषाभाषी र धर्मको संख्या बढेको थियो । जस्तो कि, विसं २०४८ को नवौं जनगणनामा ६० वटा जातजाति मात्रै पहिचान भएको थियो भने विसं २०५८ को जनगानामा जातजातिको संख्या बढेर १०३ भयो भने ९२ वटा भाषाहरु देखा परे । विसं २०५८ को जनगणनादेखि जातजाति र भाषाभाषीको संख्या लगातार बढेको देखिन्छ । यसलाई सम्बन्धित जातजाति वा समुदायमा आएको चेतनाको परिणाम वा प्रतिफल हो भन्न सकिन्छ । २०६८ को ११ औं जनगणनाको समग्र पक्ष हेर्दा आदिवावी जनजातिको जनसंख्या झण्डै दुई प्रतिशतले घट्नु, बौद्घ धर्मालम्बीको जनसंख्या लगभग एक प्रतिशतले घट्नु, हिन्दु धर्मालम्बीहरुको जनसंख्या पनि लगभग एक प्रतिशतले नै बढ्नु अनि क्रिश्चियनहरुको जनसंख्या भने अपेक्षित नबढ्नु आदिलाई जनगणना २०६८ को परिणामलाई अनपेक्षित मान्नु पर्ने हुन्छ । त्यस्तै २०६८ को जनगणनामा भाषाभाषीको संख्या बढ्नुमा नेपाली भाषाको भाषिकाहरुलाई भाषाको मान्यता दिनु पनि हो भन्न सकिन्छ । जस्तै नयाँ भाषाको रुपमा आएको डोटेली, अछामेली, बैतडेली, बाजुरेली, बझाँगी आदि भनेर जसरी अलग्गै भाषाको रुपमा मान्यता वा पहिचान दिईयो, यसले २०५८ को जनगणनापछि नेपाली भाषा अल्पमतमा (पचास प्रतिशत भन्दा पनि कम) परेपछि राज्य पक्षले जानाजान यो कदम चालेको हो कि ? भनी आशंका गर्ने प्रशस्त ठाऊँ रहेको छ ।
यसरी हेर्दा नेपालका सबै जातजाति, भाषाभाषी, धर्म, वर्ग लिंगका मानिसहरुले आगामी विसं २०७८ मा हुने राष्ट्रिय जनगणनादेखि जनगणनामा खपत हुने मानवस्रोत वा भनौं गणक आ–आप्mनो जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय जन समुदाय वा जन समूहबाटै खटाउने व्यवस्था गर्नुपर्ने भनी नेपाल सरकारसँग माग राख्नुपर्ने देखिन्छ । यसो गर्न सकेको खण्डमा मात्रै आ–आप्mनो जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय जनसंख्याको सही तथ्यांक आउने देखिन्छ । यसका लागि आजैदेखि हामी सबैले आ–आप्mनो क्षेत्रबाट लाग्नुपर्ने देखिन्छ । बरु यसका लागि (गणकका रुपमा खपत हुने अस्थाई कर्मचारीका लागि) केतविले बेला छँदै नेपालका जातीय, भाषिक, धार्मिक, ंिलंगीय, वर्गीय समुदाय वा समूहका मानिसहरुलाई तालिमको व्यवस्था गर्नुपर्ने देखिन्छ ।
हुन त यो लेखको शीर्षक “जनगणना २०७८ः गणक को खटाउने ?” राख्नुको कारण के हो भने, विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा विगतमा जस्तो शिक्षकहरु गणकको रुपमा नखटाएर प्लस टु वा सो भन्दा माथि पढेका/पढ्दै गरेका विद्यार्थीहरु खटाउने कि ? भन्ने पनि छलफल बहसमा रहेको भन्ने सुन्नमा÷पढ्नमा आएको छ । तर, केतविले त्यसरी जनगणनामा जाँदा भन्दा सम्बन्धित जात, जाति, भाषाभाषी, धार्मिक समूह, महिला, तेस्रो लिंगी आदिका संघ–संस्थाहरुसँग समन्यय गरेर उनीहरुकै अगुवाहरुलाई जनगणना सम्बन्धी तालिम दिएर गणकको रुपमा खटाउँदा राम्रो हुने देखिन्छ । यसले सम्बन्धित जात, जाति, भाषाभाषी, धर्म लिंग आदिको सही तथ्यांक आउने संभावना पनि बढ्छ । यहाँ २०६८ को जनगणनामा थप भएका नयाँ किराती जातिहरुको नाम र जनसंख्याको विवरण दिइएको छः
१, कुलुङ–२८,६१३ । २, नाछिरिङ–७,१५४ । ३, याम्फु–६,९३३ । ४, चाम्लिङ–६,६६८ । ५, आठपहरिया–५९७७ । ६, बान्तावा–४,९०४ । ७, थुलुङ–३,५३५ । , ८, मेवाहाङ–३,१०० । ९, बायुङ–३,०९६ । १०, साम्पाङ–१,६८१ । ११, खालिङ–१,५७१ । १२, लोहोरुङ–१,१५३ ।

स्रोतः केन्द्रीय तथ्यांक विभाग २०६८

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार