नाम्चे । सगरमाथाको माथिल्लो आधारशिविरमा टाँगीएको आरोहीहरुको पाल हुरीले उडाएको छ । समुद्री चक्रवात ‘फानी’ र पश्चिमी वायुको प्रभावका कारण बिहीबार बेलुका र शुक्रबार विहान आएको हावाहुरीले क्याम्प टु र थ्रीमा रहेका १८ वटा पाल उडाएको हो ।

क्याम्प टुमा हुरीले केही पाल उडाए पनि मानवीय क्षति भने नभएको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । करिब ६ हजार २ सय मिटरको उचाइमा रहेको क्याम्प टुमा चुचुरो पुग्ने बेलाका लागि आवश्यक खाद्यान्न, अक्सिजन सिलिन्डर र अन्य बन्दोबस्तीका सामान भण्डारण गरिन्छ । सामाग्री राखिएको पाल उडाएकाले मानवीय क्षति हुन नपाएको सम्पर्क अधिकृत श्रेष्ठले बताए ।

सगरमाथाको माथिल्लो आधारशिविरमा हिउँमाथि नै पाल टाँग्नुपर्ने भएकाले पालको डण्डीलाई ढुंगाले थिचेर राखिन्छ । आधारशिविरमा अहिले सगरमाथासहित लोत्से र नुप्से हिमाल चढ्ने ४ सयभन्दा बढी आरोही छन् । उनीहरूका सहयोगी क्लाइमिङ शेर्पा, उचाईको कामदार, भान्से र आधारशिविर व्यवस्थापन गर्नेहरूलगायत करिब १ हजार ३ सयजना पालको साहारामा आधारशिविरमै बसिरहेका छन् ।
२१ बैशाख २०७६, शनिबार
126
Shares







