किरात प्रदेशमा किन निर्णय ?

Facebook Debugger

किरात प्रदेश नामाकरण गरेर राईको ईतिहास बचाउने की हिन्दुको ? प्रदेश एकको सवालमा यहाँका जनप्रतिनिधि देखि अधिकांश नागरिकहरु दुविधामा छन् । जनप्रतिनिधिमा डर पनि छ की आज एउटा नाम प्रस्ताव ल्याउँला भोली जनताले तिरस्कार गर्ने पो–हो–की ? यस्तै–यस्तै अनुत्तरित कौतुहलले भरिएर आज प्रदेश नम्बर एक बेनामे भएर बसिरहेको छ । प्रदेश एकको नामाकरण गर्ने विषयमा भ्रम र यथार्थ, केही उदाहरण, असर, र विकल्प बारे यहाँ चर्चा गर्रौ ।
नेपालको पुर्वी भेगमा पुरानो बसोवास रहेको किरात समुदाय भनेर चिनिने विभिद जातिहरु राई, लिम्बु, सुनुवार, याक्खा र अन्य छन् । यी अधिकांशले एक नम्बर प्रदेशको नाम किरात भए मेरो पहिचान र ईतिहास जोगिरहने छ भन्ने विश्वास लिन्छन् । कतिपयले सोँचेका छन्, नाम भएपछि सवैमा किरातीको अधिपत्य हुने विश्वास लिन्छन् । त्यसैगरी किरात जाति भित्र नपरेको ठान्ने अन्य अधिकांशले किरात नाम भएपछि हाम्रो अधिकार संकटमा पर्छ, त्यसैले कसैको पनि ईतिहास नखुल्ने अमुक नाम दिउँ भन्ने दाउपेचमा तल्लिन छन् । ईतिहास खुल्ने नाम दिँदैमा कसैको अधिकार खोसिएला त ? अमेरिकाको उदाहरण हेरौ डाकोटा, मिसौरी, मिनिसोडा, उथा र अरु धेरै राज्यहरुको नामांकन त्यहाँका आदिवासीको साना–साना पुरानो देशको नाम बाट समेटिएको छ । यसले अमेरिकाको ईतिहासलाई बुझाउन सजिलो भएको छ । के त्यहाँ नाम राख्दैमा बाहिरबाट आएकाहरुलाई अपमान भएको छ ? उनिहरुले गोराहरुलाई लखेटे त ? अमेरिका मात्र हैन संसारको कुनैपनि प्रजातान्त्रिक मुलुकले आपसमा विभेद गर्ने भन्ने अहिलेको युगमा अकल्पनिय छ । त्यहाँ यतिमात्र हो आदिवासीहरुलाई गाँस, वास, कपास, रोजगार लगायतमा भने सहुलियती छ । त्यो त नेपालले पनि सुरु गरिसकेकै छ ।
किरातको यथार्थ के हो त ? सर्व प्रथम किरात शब्द कहाँ बाट उत्पत्ति भयो ? यस बारे प्रष्ट हुन जरुरी छ । धेरै ऐतिहासिक नामहरुमा दुविधा भएपनि किरातमा समानता छ । तथापि अधिकांशलाई थाहा छैन, किराती सब्द कसरी स्थापित भयो भनेर । किरात सब्द वास्तवमा किरातीको न मुन्दुममा छ , न यो उनिहरुको ईच्छा थियो । किराती भनिएको समुदायको मुन्दुममा त यलखोम छ । त्यसोभए यलखोम राज्य खोज्नु पर्नेथियो, किन किरात स्वीकार्न तम्सियो त ? यसमा प्रष्ट जवाफ एउटै मात्र छ, किरात सब्द हिन्दुकै उपज हो । हिन्दुको ईतिहास वा शास्त्रले किरातीको देश भनेर यलाखोमलाई अर्को नाम दियो । जसरी बेलायती सरकारले भारतलाई ईन्डिया नामाकरण गरेपछि कालान्तरमा उसको नाम ईन्डिया भनेर चिनाउन बाध्य भयो । त्यसरी नै यलाखोमवासीले अहिले आफुलाई किरात भनेर चिनाउन बाध्य भएको हो । ईण्डिया नामको ईतिहास दुईसय वर्षको मात्र हो । तर हिन्दुको शास्त्र अनुसार किरातको ईतिहास सत्य युग देखिको निरन्तर छ । यती लामो ईतिहास बोकेको नेपालमा किरात भन्ने प्रदेशको नाम सम्म रहेन भने हिन्दुको बेद शास्त्र पनि गलत छ भन्ने आधार हुने छ । हिन्दुको गलत ईतिहासको एउटा उदाहरण, राम जन्मिएको भनिएको अयोध्यामा उत्खनन् पछि पत्ता लागेको छ । उत्खनन्ले त्यहाँ सवै बौद्ध सम्बन्धि मात्र प्रमाणहरु फेला परेपछि हिन्दुहरुमा तरंग छाएको छ । के हिन्दुले ब्याख्या गर्ने किरात पनि यस्तै गलत हो ? हैन भने खासमा हिन्दुहरुको लागि किरात प्रदेश हुनु सुनौलो मौका हो । यहाँ कुनै प्रमाण जुटाउनु जरुरी पनि छैन ।
यहाँ किरातको विकल्पमा गरमाथा वा कोशी भनेर पनि प्रचारमा ल्याईने गरेको छ । सम्भब हरेक शब्दमा हुन्छ, तर यसको ऐतिहासिक प्रमाणिकरण ईतिहासलाई कसरी गराउने ? भविष्यमा ईतिहास कसरी थाहापाउने ? यसबारे राजनीति गर्नेले ध्यान दिनु पर्छकी पर्दैन ? कोशी र सगरमाथा दुवैको नामाकरण गरिएको ईतिहास हेर्ने हो भने ८० देखि १०० वर्ष भन्दा पर छँदै छैन । मानौं, यी मध्ये एकको नामाकरण भयो तर नामाकरणले के अर्थ दियो त ? यसमा हामी सवै अनुत्तरित छौं । जहिल्यै कुहिरोको काग जस्तो हुने ? अव अनुत्तरित हुनुहुँदैन कोशी र सगरमाथा जतिबेला नामाकरण भयो त्यो भन्दा पहिले त्यहाँ अर्कौ नाम थियो । कोशीलाई वालाम्ता र सगरमाथालाई चोमोलुङ्मा यलखोमबासीले भन्दथे र अहिले पनि चलनमा छ र जसले अध्यायन गरिरहेका छन् उनिहरुलाई पनि थाहा छ ।

कोशी नामको अर्थ र सम्भावना बारे चर्चा गरौं । कोष (सानो ईकाई) सँग शी शब्द समास गरेर कोशी शब्द हुन्छ । यसले नदीको नाम वा भुगोलको नाम भनेर खास अर्थ दिँदैन तर अंग्रेजीमा अयबकत (कोष्ट्, कोष्टी)को अर्थ समुद्र क्षेत्रको भुभाग र शी भनेको समुद्र हुन्छ । नेपालसंग अंग्रेजको सम्बन्ध दुई सय वर्ष ज्यादा लामो छ । यो अवधिमा उनिहरु कोशी नदी धेरै तरेका छन् । नेपालमा समुद्री भाग नहुँदा कुनै अंग्रेज कुटनितिज्ञले कोशीलाई देखेपछि कोष्ट्–शी भनेको हुनु पर्छ । यो नै नेपालीले पछि कोशी भनेर चिनाएको हुन सक्छ । आजकाल अधिकांश नेपालीले कोशीको अर्थ ठूला नदिहरु भन्ने बुझ्नुले पनि कोशी नामले एक नम्बर प्रदेशको नदी वा क्षेत्रलाई मात्र समेट्दैन । अर्को अर्थमा भन्नु पर्दा धेरै टाढाको ठाउँलाई ईङ्गित गर्दा पनि कोश भन्ने गरिन्छ । काठमाण्डौं वस्ने वा सर्वसाधारणले पुर्वी भेगलाई टाढा भनेर चिन्न पनि कोशी नाम गरेको हुन सक्छन् । अर्को सम्भावित कोशी संग मेल खाने नाम काँशी छ । यो भारतको एतिहासिक शहर जसलाई नेपाली हिन्दुले पनि सम्मान गर्छन । त्यसैलाई सापटी ल्याएर नेपालमा नामांकन गर्न खोजेको भए त्यो पनि प्रष्ट उल्लेख गर्नु पर्छ । मानौं भारतमा गोर्खाल्याण्ड राज्य माग भैरहेको छ । गोर्खाल्याण्ड शब्द नेपालीसंग जोडिएको भनेर उनिहरुले प्रष्ट खुलाएका छन् । फरक सत्य यती हो गोर्खाल्याण्ड माग्नेहरु त्यहाँका पहिलो बासिन्दा हुन् । तर काँशीलाई मान्नेहरु आयातित हुन् ।

केही भारतको राज्यहरुसंग तुलना गरेर पनि नेपालमा प्रदेशको नामाकरण लाई सहज बनाउन सकिन्छ । धेरै उदाहरण मध्ये केही लियौं । भारतमा आशाम राज्यको नाम ब्रम्हपुत्र किन हुन सकेन ? विहार किन घागरा वा गंगा प्रदेश भएन ? वा कस्मिर किन लद्दाख हिमालको नामबाट राखिएन ? किनकी आशाममा आसामीको ईतिहास राख्नु छ, विहारमा बौद्धको ईतिहास बचाउनु छ, कस्मिरमा मुस्लिमको ईतिहास राख्नुछ । विहार राज्य जहाँ भनिएको छ त्यो बुद्धको विहारहरुलाई संरक्षण गरेर राखेकाले विहार नामांकन भएको हो । आश्चर्य के छ भने विहार राज्यमा एक प्रतिशत पनि बौद्ध धर्मावलम्भीहरु छैनन् । भारतको यो उदाहरणले के पुष्टि हुन्छ भने नदीको नाम नदीसंगै वा पाहाडको नाम पाहाठड संगैछ, राज्यको लागि अर्को नाम हुन जरुरी छ । जसले त्यहाँको ईतिहासलाई वचाईराखेको होस् । सगरमाथा नाम कसरी रहयो यसको ऐतिहासिकता के हो अधिकांशलाई ज्ञन छ । सगर को अर्थ आकाश माथा को अर्थ शिर समास गर्दा सगरमाथा भयो । अर्थपुर्ण नाम भएपनि यो नाम स्वीकार्य हुन्न । किन हुन्न भन्ने एउट उदाहरण, चार्लेस बाबागेले कम्प्युटर बनाए, कम्प्युतटरलाई नेपालीले स्वचालित मेसिन भनेर बुझाउन सकिन्छ तर नाम दिन मिल्दैन । तात्पर्य बाबुराम आचार्यले सगरमाथा भनेको नाम राख्न उनको कुनै योगदान छैन ।

अन्तमा, सगरमाथा वा कोशी जस्ता नाम राखिएमा यसको नकारात्मक असरहरु प्रसस्ती हुनेछन् । सर्वप्रथम कोशी वा सगरमाथा नामको अर्थ कसैले प्रष्ट बनाउन नसक्नु, दोश्रो पुरानै राजाकै प्रदेश त आयो भन्ने हिनता बोध हुनु, ईतिहास तोडमोड गराएकाले आत्मग्लानी हनु जस्ता नकारात्मक असरहरु पर्नेछन् । यस्ता कथा विनाको प्रदेशको नामको गाथा जनताले कहिल्यै गाउने छैनन् । अर्थ विनाको राज्यको नाम आएमा किरात जन्य संगठन र पहिचानवादी संगठनहरुले रुष्टता पोख्नेमा दुविधा छैन । दल भित्रै बाट समेत यस्ता अर्थनवर्थको नाम विरुद्ध आवाज उठाउने प्रष्टै देखियो । यसले एक नम्बर प्रदेशमा राजनीतिमा असहज हुने निश्चित छ । असहज राजनीतिले हरेक विकासमा बाधा पुर्याउँछ । त्यसकारण, भ्रममा नपरी, यथार्थको पक्षमा प्रदेश संसदले निर्णय लिनुको विकल्प छैन । नेपालको सवैभन्दा पुराने ईतिहास किरात प्रदेश नामाकरण गर्नमा गर्व गरौं । यसका लागि सवै जनताले खवरदारी गर्नुको विकल्प छैन । कसैलेपनि मुख्यमंत्री वा सभामुदको मुख नताक्नुस् । उनिहरु अन्तिममा विकल्प दिने मात्र हुन् । फेरिपनि, डिजिटल जमानामा नेपाली मात्र हैन विदेशीले समेत संसारको कुना–कुनामा बसेर नेपाली बारे अध्यायन गरिरहेका छन् । किरात प्रदेश नामाकरण गर्ने अवसर पाएर पनि नामाकरण भएन भने किरात प्रदेशको माग हराउनेवाला छैन । कालान्तरले किरात प्रदेश नामाकरण गराउन सक्छ । कालान्तर सम्म तपाईं एकनम्बरको जनप्रतिनिधि साँचिकै एकनम्बरमा सम्मानित हुने कि अपमानित ? स्वतन्त्र विचार गरी निर्णय लियौं ।

Published On:  449पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार