‘सगरमाथामा कुनै पनि समय हिउँपहिरो जानसक्छ,’ : एचआरए इञ्चार्ज लाक्पानोर्बु शेर्पा

Facebook Debugger

सोलुखुम्बु । हिमालयन उद्धार संघ नेपालका वेशक्याम्प इञ्चार्ज तथा हेलिकोप्टर रेस्क्यू स्पेसलिष्ट लाक्पानोर्बु शेर्पाले सगरमाथा आधारशिविरको पूर्वीदक्षिणमा रहेको नुप्से हिमालबाट कुनैपनि समय हिउँको ठूलो ढिस्को खस्दा भयानक हिउँपहिरो जान सक्ने सम्भावना रहेको बताएका छन् । सोमबार रेस्क्यू गर्न सगरमाथाको माथिल्लो आधारशिविर क्याम्प २ हेलिकोप्टरबाट जाँदा शेर्पाले नुप्से हिमालको पश्चिमी साइडको ठूलठूला हिउँको ढिस्को चर्किएको देखेपछि सबैलाई सतर्क रहन सचेत गराएका छन् ।

सोहि स्थानबाट सोमबार आधारशिविरतर्फ हिउँपहिरो झरेको थियो । ‘अझैपनि नुप्से हिमालको साईडबाट हिउँको ठूलो ढिस्को खस्ने ९० प्रतिशत सम्भावना छ । त्यसैले मैले सबै साथीहरु चनाखो हुनु होला, भनेर भनेको छु ।’ इञ्चार्ज शेर्पाले भने, ‘म हिजो हिउँपहिरो झरेको केहि समयपछि रेस्क्यूको लागि हेलिकोप्टरबाट माथिल्लो शिविर क्याम्प २ गएको थिए । नुप्से हिमाल नजिकै पुग्दा ठूलठूला हिउँका ढिस्कोहरु चर्किएको देखे । ती चर्किएका हिउँको ढिस्को कुनै पनि बेला झर्न सक्छन् । त्यसैले मैले साथीहरुलाई सतर्क रहनुहोला भनेको छु ।’

केहि दिन अघि प्रतिकुल भएको मौसम सुधार भएपछि सोमबार एक्कासी हिउँ पहिरो गएको सगरमाथाको आधारशिविरमा रहेका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । ‘सोमबार विहानै मज्जाले घाम लागेकाले हामी घाम तापिरहेका थियौं, एक्कासी ठूलो आवाज आयो, यसो सगरमाथातिर हेर्दा नुप्सेफेसबाट हिउँपहिरो झरेको देख्यौं ।’ सम्पर्क अधिकृत श्रेष्ठले भने, ‘तर कुनै मानवीय क्षति भने भएन, त्यसमा हामी खुशी छौं ।’

भारतमा आएको ‘फानी’को प्रभावका कारण केहि दिनअघि प्रतिकुल भएको मौसमले सगरमाथाको माथिल्लो शिविर क्याम्प टू र थ्रीमा एक सयभन्दा बढि आरोहीका लागि टाँगिएका त्रिपाल उडाएको थियो । ठिक्क पारिएको त्रिपाल उडाउँदा लाखौंको क्षति भएको बताइएको छ । जसले गर्दा आरोहीहरुको हिमाल आरोहणको तालिका समेत केहि फेरबदल हुनसक्ने श्रेष्ठले बताए ।

तस्वीरः भिडियो : लाक्पानोर्बु शेर्पा 

Published On:  789पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार