२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

दुर्घटनामा घाइतेको उपचारक्रममा मृत्यु


२७ आश्विन २०७३, बिहिबार  

7
Shares

कञ्चनपुर, २७ असोज । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ टाउनमा मोटरसाइकलले ठक्कर दिँदा घाइते भएका ८० वर्षीय देवबहादुर थापाको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको छ ।

मङ्गलबार साँझ से ३ प ३५६५ नंको मोटरसाइकलको ठक्करबाट घाइते भएका पुनर्वास नगरपालिका–६ का ८० वर्षीय थापाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पैदलयात्रा गरिरहेका थापालाई ठक्कर दिने मोटरसाइकल चालक फरार रहेकाले उनको खोजी कार्य भइरहेको छ । ठक्कर दिने मोटरसाइकल र मोटरसाइकलमा पछाडि सवार एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sagarmatha

किशोरीको सीमा नाकाबाट उद्धार

यसैबीच, माइती नेपाल कञ्चनपुरले गड्डाचौकी नाकाबाट बुधबार साँझ एकजना किशोरीको उद्धार गरेको छ ।

कैलालीको टीकापुर नगरपालिका–५ की १७ वर्षीया किशोरीलाई कैलालीकै गोदावरी गाविसका दीपक रोक्कामगरसँग भारततर्फ गइरहेका बेला सीमा नाकाबाट उद्धार गरिएको हो । “किशोरीका बुबाले छोरी हराएको खबर गरेपछि सीमा क्षेत्रमा निगरानी बढाएर किशोरीको उद्धार गरेका छौंँ”, माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले भन्नुभयो ।

उहाँका अनुसार किशोरीलाई भारततर्फ लैजान लागेका दीपक रोक्कामगरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको नियन्त्रणमा राखिएको छ । उद्धार गरिएकी किशोरी माइती नेपालको संरक्षणमा छिन् । भारतको हल्द्वानी जान भनी हिँडेका बेला बेचबिखनको जोखिममा पर्नसक्ने भन्दै सीमा क्षेत्रबाट उद्धार गरिएको माइती नेपालका संयोजक भट्टले बताउनुभयो । रासस

प्रकाशित मिति : २७ आश्विन २०७३, बिहिबार  ४ : २६ बजे