२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

चोलापासमा फलामको लठ्ठा लगाएर बाटो बनाइदै


बुद्धवीर बाहिङ

१३ जेष्ठ २०७६, सोमबार  

217
Shares

सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा पर्ने साहसिक पर्यटकीय पदमार्ग चोलापासमा फलामको लठ्ला लगाएर बाटो बनाउन शुरु गरिएको छ । खुम्बुपासाङल्हामु गाउँपालिकाको आर्थिक सहयोगमा सगरमाथा क्षेत्रकै खतरनाक मानिने चोलापासमा बाटो बनाउन शुरु गरिएको हो ।

गाउँपालिकाको ३० लाख रुपीयाँमा चोलापासमा खिया नलाग्ने फलामको लठ्ठा लगाएर बाटो बनाउँन शुरु गरिएको खुम्बुपासाङल्हामु गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष लक्ष्मण अधिकारीले बताए । बाटो यसै आर्थिक वर्षभित्र बनाइसक्ने पनि अध्यक्ष अधिकारीले बताए ।
गोक्यो क्षेत्र भ्रमणमा जाने पर्यटकहरुलाई सगरमाथाको आधारशिविरतर्फ जानको लागि सहज होस भनेर चोलापासमा फलामको लठ्ठा लगाउन लागिएको अध्यक्ष अधिकारीले बताए । केहि वर्षअघि अत्याधिक हिमपातका कारण चोलापासको पश्चिमी भागमा पहिरो गएका कारण पर्यटकहरुलाई आवतजावत गर्न कठिनाइ हुने गरेकाले पनि करिब दुई सय मिटर लामो फलामको लठ्ठा लगाइने अधिकारीले बताए ।

समुन्द्र सतहदेखि ५ हजार ४ सय २० मिटरको उचाइमा रहेको चोलापासमा भनेको जति काम गर्न नसक्दा अलि ढिला हुन सक्ने पनि उनले बताए । चोलापासको पश्चिमी साइडको क्षेत्रमा फलामे लठ्ठा बनाइसकेपछि अर्को वर्ष चोलापासको पूर्वी साइडमा पनि लठ्ठा लगाइने अध्यक्ष अधिकारीले बताए । अहिले ८ जना शेर्पा कामदारले चोलापासमा बाटो बनाइरहेका छन् ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार  १० : ४९ बजे