लण्डन । आगलागीमा परी बेलायतमा एक नेपाली महिलाको मृत्यु भएको छ । साउथ ईस्ट लण्डनको अर्पिङटन भन्ने ठाउँमा बस्दै आएकी ४५ वर्षीया रञ्जना गुरुङको ज्यान आगलागीबाट मृत्यु भएको हो ।

बेलायती अखबार द सनका अनुसार सोमबार राति भएको आगलागीमा परेर मृतकका श्रीमान् र दुई छोराछोरी घाइते भएका छन् । उनीहरुको अस्पतालमा उपचारत भइरहेको छ।श्रीमान् हिम गुरुङको अवस्था चिन्ताजनक रहेको तर १० वर्षीया छोरी एञ्जल र १७ वर्षका छोरा एलन भने खतरामुक्त रहेको अस्पतालले जनाइएको छ ।
अहिलेसम्म आगलागीबारे खुलेको छैन । बेलायती प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । राति करिब ११ बजेको समयमा हेल्प हेल्प भन्दै मृतक रञ्जनाका श्रीमान् र छोराछोरी चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । त्यसको केही मिनेटभित्रै अग्नी नियन्त्रकसहित प्रहरीको टोली आइपुगेको थियो । १ घण्टा १५ मिनेटभित्र आगो नियन्त्रणमा लिइएको भएपनि त्यतिञ्जेल रञ्जनाको मृत्यु भइसकेको थियो । घरको भुइतला, पहिलो तला र सिंढीको भाग जलेको छ ।
मृतक रञ्जना स्थानीय एक अस्पतालमा क्लिनरको रुपमा कार्यरत थिइन् । उनी विगत १८ वर्षदेखि श्रीमानसँगै बेलायतमा बस्दै आएकी थिइन् । आगलागी भएको उक्त घरमा गुरुङ परिवार विगत ९ वर्षदेखि बस्दै आएको छिमेकीले बताएका छन् ।
१५ जेष्ठ २०७६, बुधबार
91
Shares







