पोखरा । नेपालको प्रमुख र लोकप्रिय पर्यटकीय गन्तव्य हो, पोखरा । आन्तरिक तथा बाह्य दुवै पर्यटकलाई आकर्षित गर्न सक्ने प्राकृतिक सुन्दरता तथा भौतिक पूर्वाधारले भरिपूर्ण पोखरामा ‘सेक्स टुरिजम’ विकास गर्नुपर्ने बहस बेला–बेला उठ्ने गर्छ । केही वर्षअघि तत्कालीन पर्यटनमन्त्री शरदसिंह भण्डारी पोखरामा ‘सेक्स टुरिजम’ पनि थपिनुपर्ने अभिव्यक्ति दिएका कारण विवादमा परेका थिए ।

पोखरामा लामो समयदेखि पर्यटन व्यवसाय गर्दै आएका केही व्यवसायी पनि ‘सेक्स टुरिजम’ हुनुपर्ने विषयमा कुरा गर्छन् । पछिल्लो समय गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पोखरामा ‘रेड लाइट एरिया’ हुनुपर्छ वा पर्दैन भन्ने विषयमा बहस गर्न सकिन्छ, भनेपछि ‘सेक्स टुरिजम’ का पक्ष-विपक्षमा फेरि बहस सुरु भएको छ । पोखराको प्राकृतिक सुन्दरता तथा सांस्कृतिक पक्षलाई उजागर गरेर पर्यटन व्यवसाय फैलाउनुपर्ने तर्क गर्नेहरूले ‘सेक्स टुरिजम’ को अवधारणालाई चर्को विरोध गरिरहेका छन् । कानुनी रूपमा नेपालमा यौन व्यापार वर्जित छ ।
नेपाली छोरी÷चेलीको शरीर बेचेर पर्यटनमा उधुम होला र देशले विकासको फड्को मार्ला भनेर सोच्नु नै गलत भएको तर्क गर्नेहरू थुप्रै छन् पोखरामा । तर, कानुनले वर्जित गरे पनि राजधानीलगायत देशका मुख्य शहर तथा राजमार्गमा सेक्सको किनबेच भने निर्बाध रूपमा चलिरहेकै छ ।
सम्पूर्णले राजधानीमा संगठित रूपमा ‘सेक्स धन्दा’ सञ्चालन भइरहेका स्थानमा स्थलगत निगरानीसहित दुई वटा कभर स्टोरी प्रकाशित गरेको थियो । जीर्ण तथा थोत्रा घर एवं खाजापसलको आवरणमा भइरहेको यौनधन्दाको बारेमा सम्पूर्णले कभर स्टोरी गरेको थियो । सम्पूर्णको वर्ष २ अंक ७० मा प्रकाशित ‘टेको लगाएको घरमा यौनधन्दा’ र अंक ८३ मा प्रकाशित ‘खाजाघरमा यौन तमासा’ स्थलगत निगरानीका आधारमा तयार पारिएका रिपोर्ट थिए । यस पटक हामीले काठमाडौँबाहिर पोखरामा रहेका केही ‘सेक्स प्वाइन्ट’को स्थलगत रिर्पो्टिङ गरेका छौँ । पोखरामा यौनधन्दा कसरी र कुन रूपमा सञ्चालन भइरहेको छ भन्ने बारेमा हामीले गत हप्ता बुधबार, बिहीबार र शुक्रबार पोखराका केही ‘सेक्स प्वाइन्ट’मा निगरानी गरेका थियौँ ।
जेठ ८ गते, बुधबार, अपराह्न ३ बजे
पोखरा एयरपोर्टबाट पृथ्वीचोकतिर जाँदा नागढुंगा भन्ने ठाउँ पार गर्दै जानुपर्छ । नागढुंगामा थोरै उकालो छ । यहाँका केही रेस्टुरेन्टमा यौनधन्दा सञ्चालन हुन्छ भन्ने जानकारीका आधारमा हामीले बुधबार यहाँ ‘रेकी’ गरेका थियौँ । रेस्टुरेन्टभन्दा ठीक पारिपट्टि उभिएर करिब एक घण्टा निगरानी गर्दा दुई वटा रेस्टुरेन्टमा पुरुषहरूको आवतजावत बाक्लो देखियो ।
भित्र पस्ने र बाहिर निस्कने अवधि छिटो/छिटो थियो । खानपिनका लागि आएको हो भने त पक्कै पनि केही समय बिताउनुपर्ने हो । तर, भित्र पसेका पुरुषहरू बढीमा १० देखि १५ मिनेटमा बाहिर निस्किएको देखेपछि हामीले नागढुंगाका दुई वटा रेस्टुरेन्टमा निगरानी गर्ने निधो र्गयौँ ।
निगरानी नम्बर १, जेठ ९ गते, बिहीबार, बिहान ९ बजे, न्यू रेस्टुरेन्ट, नागढुंगा

पोखरा एयरपोर्टबाट पृथ्वीचोकतिर जाँदा नागढुंगाको उकालो पार गरेपछि बायाँतिर छ, यो रेस्टुरेन्ट । दुईतले घरमा एउटा सटरमा देव फ्रेस हाउस लेखिएको मासुपसल छ । एकातिर होटल र अर्को्तिर न्यू रेस्टुरेन्ट लेखिएको बीचमा ढोका छ । ढोकाबाहिर खानाका परिकारका नाम लेखिएका छन् । हामी निगरानीका लागि न्यू रेस्टुरेन्टभित्र र्छियौँ । निकै फराकिलो स्पेस भएको यो रेस्टुरेन्टमा एकातिर काउन्टर थियो भने दायाँबायाँ टेबुल–कुर्सी राखिएका थिए । एक र अर्को टेबुलको बीचमा पर्दा हालेर एकअर्कालाई झ्वाट्टै नदेख्ने बनाइएको थियो ।
रेस्टुरेन्टमा दुई युवती मोबाइल चलाएर बसिरहेका थिए । हामीले चिया÷खाजा के खान पाइन्छ भनेर सोध्यौँ । दुईमध्ये एक युवतीले ‘यहाँ चियाखाजा त केही छैन’ भनिन् । कोल्ड ड्रिंक्स, जुस, बियर मात्रै पाइने जानकारी गराइन् । ‘बिहानको ९ मात्रै बजेको छ । केको बियर खानु ? हामी त खाजा खान पाइन्छ कि भनेर आएको ?’ हामीले भन्यौँ । ‘खाजा त छैन, जुस खानुस,’ ती युवतीले भनिन् ।
हामीले दुई वटा रियल जुस र एक बोतल पानी माग्यौँ । त्यति नै बेला एक युवती रातोपिरो हुँदै आइपुगिन् । हामीलाई जुस र पानी दिने युवतीले माथि रहेकी साथीलाई तल पुलिस आएको भनेर अत्याएर आएकी रहेछिन् । हामीलाई देखेर पुलिस होइन भन्ने लागेपछि लामो सास फेरिन् र साथीलाई गाली गरिन् । ‘र्हे न ! अर्कोपल्ट तँलाई पनि यसै गरी सातो लिन्छु,’ उनले आफ्नी साथीलाई भनिन् ।
‘किन तपाईंहरू डराउनुभएको ? यहाँ के गर्न आउँछन् र पुलिस ?’ हामीले प्रश्न र्गयौँ । ‘आउँछन् नि बेला–बेलामा हामीलाई पक्रन’ युवतीले भनिन् । ‘किन पक्रनु नि ? रेस्टुरेन्टमा काम गर्नेलाई ?’ हामीले केही थाहा नपाएजसरी प्रश्न र्गयौँ । ‘तपाईंहरू यहाँ पहिला आउनुभएको थिएन र ?’ एक युवतीले उल्टै प्रश्न तेस्र्याइन् । हामी दुईमध्ये एक जनाले पहिला पनि धेरै पटक आइसकेको बताएपछि ‘त्यसो भए त थाहा होला नि ! यहाँ विशेष काम हुन्छ’ भनेर ती युवतीले हामीलाई रेस्टुरेन्टमा हुने हर्कतबारे बुझाउन खोजिरहेकी थिइन् । हामी दुईमध्ये एक जनाले चिरपरिचितजस्तै व्यवहार गरेपछि दुई जना युवती चुरोट सल्काउँदै नजिकै कुर्सीमा बसेर ‘बियर खाऊँ न’ भन्न थाले । हामीले ‘बियर त हामी खाँदैनौँ, जुस खाने भए खानुस’ भनेपछि तीनै जनाले जुस खान थाले ।
‘बिहानै आउनुभएको छ । बोहनी नबिर्गानुस् है’ भन्दै युवतीहरू जुस र चुरोट खान थाले । त्यति नै बेला उनीहरूले ‘आमा’ भनेर सम्बोधन गर्ने एक जना महिला कोठाभित्रबाट बाहिर आइन् । उनी नै यो रेस्टुरेन्टकी सञ्चालक रहेको उनीहरूले बताए । घरबाट भागेर आएको बताउँदै एक युवती ‘आमा’ रेस्टुरेन्ट सञ्चालिकाले आफूलाई धेरै सुधारेको बताउँदै थिइन् । आमाबुबा नै वैदेशिक रोजगारीमा गएको र घरमा दाइ र आफू मात्रै भएको बताउने ती युवती आमाले ‘काम’ दिएपछि आफूलाई ढुक्क भएको बताउँदै थिइन् ।
‘खाजा, खाना केही पनि नपाइने ठाउँमा चार÷चार जना स्टाफ किन चाहियो नि ?’ हामीले भन्यौँ । ‘दाइहरू कति ल्याङ हानिरा’को । थाहा पाएर पनि थाहा नपाएजस्तो । हाम्रो काम नै अर्को हो । कति बेला हामी चारै जना व्यस्त हुन्छौँ । अहिलेलाई दुई जना व्यस्त हुनुपर्ला । तपाईंहरू दुई जना मात्रै आउनुभएको छ ।’
उनीहरूले सीधा–सीधा सेक्स प्रस्ताव गरिसकेका थिए । हामी केही समय अलमल गर्ने र कुराकानी गरेर फुत्किने योजनामा थियौँ । उनीहरू ‘माथि जाऔँ’ भनिरहेका थिए । ‘हामीले यहाँ त नबस्ने डर हुन्छ’ भन्यौँ । उनीहरूले ‘यो रेस्टुरेन्ट सञ्चालकको गेस्टहाउस पनि छ त्यहाँ जाऔँ’ भने । दुई हजारमा सबै काम फत्ते हुने भन्दै युवतीहरू बिहानको बोहनी राम्रो बनाउन लागिपरेका थिए । हामीले रेस्टुरेन्टभन्दा माथिको सेटअप हेर्नका लागि ‘माथि हेरुँ अनि मात्र बसुँला’ भन्यौँ । एक जनाले हामीलाई माथि लगिन् । चार वटा चिटिक्क परेका कोठा थिए । ‘यहीँ हो बस्ने, डर मान्नुपर्दैन’ भन्दै युवती हामीलाई मनाउने प्रयास गरिरहेकी थिइन् । हामीले अरू दुई जना साथी पनि रहेको र उनीहरूलाई लिएर आउने भन्दै बाहिर निस्कन खोज्यौँ । चारमध्ये एक युवतीले ढोकामा उभिएर बाहिर निस्कन दिइनन् । ‘दुई बोतल बियर किनेर दिनुस् अनि मात्र बाहिर जान पाइन्छ’ भन्दै ढोकामा उभिएर बाटो छेकिन् । उनले भनेजस्तै दुई बोतल बियर किनिदिएर त्यहाँबाट हामी उम्कियौँ ।
निगरानी नम्बर २, जेठ ९ गते, बिहीबार, बिहान १० बजे, निर्भाना रेस्टुरेन्ट, नागढुंगा
निर्भाना र न्यू रेस्टुरेन्ट बीचमा कबाडी संकलन केन्द्र छ । निर्भाना, न्यू रेस्टुरेन्टबाट पोखरा एयरपोर्टतिर छ । एकतले यो घरको छतमा पिल्लर ठडिएका छन् । युनिक होटल एन्ड थकाली किचेनसँग जोडिएको छ । बिहानको १० बजे यो रेस्टुरेन्ट छिर्दा यहाँको माहोल मदिरामय थियो । दुई वटा टेबुलमा एक÷एक जोडी बियर खाएर बसिरहेका थिए । यो रेस्टुरेन्ट पनि फराकिलो नै थियो । भित्रको सेटअप पनि आकर्षक देखिन्थ्यो । हामीले खानाका परिकार हेर्नका लागि मेनु माग्यौँ । तर, त्यहाँ रहेकी युवतीले ‘केको मेनु चाहियो र ? बियर, हार्ड ड्रिंक्स के खाने भन्नुस् न’ भनिन् । ‘हामी त खाजा खान पाइन्छ कि भनेर आएको,’ हामीले भन्यौँ ।
‘यस्तो ठाउँमा पनि भोकै आउने हो त ? यहाँ त शक्तिशाली भएर आउने र शिथिल भएर जाने हो,’ ती युवतीले जिस्किँदै भनिन् । अन्दाजी तीन वर्षको बच्चा लिएर एक युवती अधबैँसे पुरुषसँग बसेर बियर पिउँदै थिइन् । काखमा छोरो च्यापेर चुरोटको धुँवा उडाउँदै बियर पिउँदै गरेकी ती युवतीले दूध खुवाउनुपर्ने बच्चालाई बियरको घुट्को लगाइदिइन् । बच्चालाई बियर खुवाएको देखेपछि हामीले ‘किन बहिनी, यति सानो बच्चालाई बियर खुवाएको ?’ भन्यौँ । बियरले मातेकी उनी ‘तिमीहरूलाई के मतलब ? मेरो बच्चा हो । म जे खान्छु, त्यही खुवाउने हो’ भन्दै कराउन थालिन् । बच्चा काखमा लिएर ग्राहकसँग बसेर बियर खाइरहेकी ती युवतीलाई हामीले ‘यो बच्चाको बाउ होलान् नि ?’ भनेर सोध्यौँ ।
उनले जंगिँदै ‘छैन बाउसाउ, तिमीहरू बाउ बन्ने भए बन, होइन भने नकराओ’ भन्दै हामीलाई हपारिन् । हामीसँग टेबुलमा बसिरहेकी अर्की युवती हामीलाई ‘उसको बच्चा हो जेसुकै गरोस, हामी हाम्रो काम गरुँ न’ भनिरहेकी थिइन् । हामीसँग दुई जना युवती दिए । उनीहरूलाई एक÷एक बोतल बियर किनिदिएर हामी केही बेर गफ गर्न थाल्यौँ । उनीहरूले बियर खाँदै गर्दा निर्भानामा हुने यौनधन्दाको बारेमा बताए । भित्रपट्टि सुरक्षित कोठा रहेको र एक पटक यौन सम्पर्क राखेको दुई हजार लिने गरेको जानकारी दिए । दुई हजारमा रेस्टुरेन्ट सञ्चालकले आधा लिने गरेको जानकारी उनीहरूले दिए । बिहान १० बज्दा नबज्दै निर्भानामा पनि चार जना युवती कामका लागि आइसकेका थिए ।
निगरानी नम्बर ३, जेठ १० गते, शुक्रबार, ए वान रेस्टुरेन्ट, शान्तिनगर

जिरो किलोमिटरबाट हलनचोक जाँदा बीचतिर पर्छ, शान्तिनगर । यही शान्तिनगरमा छ, ए वान रेस्टुरेन्ट । बाहिरबाट हेर्दा नामजस्तै देखिन्छ ‘ए वान’ रेस्टुरेन्ट । दुईतले यो रेस्टुरेन्टको बाहिरी लुक्स पनि भव्य देखिन्छ । ढोकामा हात जोडेर नमस्कार गरिरहेकी युवतीको स्केच छ । एकातिर भित्र राखिएका मदिराका बोतल देखिन्छन् भने अर्को्तिर कालो सिसा छ । यति भव्य देखिने रेस्टुरेन्टमा परिकार पक्कै पनि स्वादिष्ट होलान् भनेर पस्न खोज्नुभयो भने तपाईंले सजिलै प्रवेश पाउने सम्भावना निकै कम हुन्छ । किनकि, यो रेस्टुरेन्टमा सधैँ भित्रबाट चुकुल लगाइएको हुन्छ ।
ए वानबारे जानकारी दिनेले हामीलाई भित्र पस्न मुश्किल पर्ने पहिले नै बताएका थिए । बाहिरबाट हेर्दा भित्र केही नदेखिने तर भित्रबाट हेर्दा बाहिर सबै देखिने खालको कालो सिसा लगाइएको यो रेस्टुरेन्टमा चिरपरिचितले मात्रै प्रवेश पाउँछन् । निगरानीका लागि गएका हामी रेस्टुरेन्टको साइडमा आधा घण्टाजति उभियौँ । कोही यस्तो व्यक्ति आओस् जसका लागि ढोका खुल्दा ऊसँगै हामी पनि फुत्त भित्र छिर्ने योजनामा रेस्टुरेन्टको साइडमा उभिएका थियौँ । एक जना पुरुष ढोकामा उभिए । हामी पनि उनको पछि उभियौँ । ढोका खुल्नेबित्तिकै उनैसँग हामी पनि सधैँ आउने÷जाने जस्तै गरेर ‘के छ हाउ हालखबर ?’ भन्दै भित्र पस्यौँ । तीन जना युवती चाउचाउ साँधेर खाँदै थिए । हामी भित्र पसेपछि उनीहरूले साँधेको चाउचाउ खान छोडेर हामीलाई नियाल्न थाले । हामीभन्दा अघिअघि पसेका पुरुष र एक जना युवती माथितिर उक्लिए । सोफामा एक युवती सुतिरहेकी थिइन् ।
रेस्टुरेन्टको इन्टेरियर र सेटअप निकै भव्य लाग्थ्यो । काउन्टर आकर्षक बनाइएको थियो । सीसीटीभी क्यामरा जडान गरिएको छ । चिभास रिगलको ठूलो बोतल काउन्टरअगाडि सजाएर राखिएको, आरामदायी सोफा राखिएको निकै भव्य देखिन्छ रेस्टुरेन्ट । ‘चिसो खाऊँ न’ भन्दै हामी टेबुलमा बस्यौँ । एक युवती फ्यान्टा लिएर आइन् । उनले ‘तपाईंहरूलाई चुरोट पनि चाहिन्छ कि ?’ भनेर सोधिन् । हामीले ‘तपाईं खाने हो भने खानुस’ भन्यौँ । ‘खाने नि’ भन्दै उनी चुरोट लिएर आइन् । चुरोट लिएर आएकी युवतीको चालढाल अन्य युवतीको भन्दा फरक थियो । ‘भित्र रुम छ, त्यता बसुँ न’ भनेर भित्र लगिन् । साइडमा स–साना लो बेड भएको र टेबुल–कुर्सीको सेटिङ पनि भएको ठाउँमा उनले हामीलाई राखिन् । तीन जना युवती आएर वरिपरि बसे ।
उनीहरूले कत्ति पनि ढिला नगरी ए वानमा उपलब्ध सेवाबारे हामीलाई जानकारी दिए– यहाँ रेड बुल हालेर बियर खाने हो र मस्ती गरेर जाने हो । ‘तपाईंहरू पहिला पनि आएकाले मात्रै ढोका खोलेको हो’ भन्दै उनीहरूले हामीलाई पहिला नै चिनेको जसरी गफ दिए । तीन जना युवतीका लागि तीन वटा बियर र तीन वटै रेडबुल अर्डर गरियो । बियर तीतो हुने भएकाले रेड बुल हालेर खाँदा स्वाद आउने र फरक खालको ट्रिप दिने भन्दै उनीहरू बियर खान थाले ।
कञ्चन थापामगरको नाममा पोखरा महानगरपालिकामा यो रेस्टुरेन्ट दर्ता छ । हामीसँग बसेर बियर खाइरहेका बेला रेस्टुरेन्ट सञ्चालक महिला कराउँदै आइन् । ‘के हो केटीहरू, कुना कुनामा बस्ने ? केटा मान्छेसँग किन नजिक बसेको ? अलि पर–पर बसेर खान सकिँदैन’ भनेर कराइन् । रेस्टुरेन्ट साहुनी कोठाबाहिर गएपछि युवतीहरू ‘गेस्टसँग सुत्न पठाउन चाहिँ हुने, अहिले कराउनुपर्ने’ भन्दै साहुनीलाई गाली गर्न थाले । ‘तपाईंहरू नयाँ देखेर नाटक गरेकी हो । अहिले मिलाएर बस्नुहोला भन्दै आउँछिन’ भन्दै थिए उनीहरू ।
उनीहरूले बियर खाइसक्दा नसक्दै रोजेकोसँग माथि जान अफर गरिरहेका थिए। ‘यस्तो मध्यदिनमा हामी त नबस्ने । डर हुन्छ । पुलिस आयो भने’ भन्दै टारिरहेका थियौँ । ‘पुलिसले केही गर्दैन,’ उनीहरू निर्धक्क भन्दै थिए, ‘हामीलाई कहिलेकाहीँ पक्रेर लान्छ । केही बेरमा छोडिदिन्छ । बेलुका हामीसँगै रोमान्स गर्न आउँछ पुलिस । त्यही भएर चिन्ता लिनुपर्दैन ।’
होटलजस्तै व्यवस्थित चार वटा रुम भएको ए वानमा रातदिन यौनधन्दा हुन्छ । राति बस्ने व्यवस्थासमेत भएको युवतीहरूले बताए । ‘यहाँ बसे पनि हुन्छ,’ उनीहरू भन्दै थिए, ‘तपाईंहरू बसेको होटलमा बोलाए पनि हुन्छ । हामीले चिनेको होटलमा गए पनि हुन्छ । च्वाइस तपाईंहरूको ।’ उनीहरू ए वानले दिने यौन सेवाबारे सविस्तार बताउँदै थिए । ‘यहाँ बस्यो भने दुई हजार हो,’ एक युवतीले भनिन्, ‘राति होटलमा हामीलाई बोलाउनेले कम्तीमा पनि १० हजार तिर्छन् । राम्रो होटलमा बसेर ब्रोकरमार्फत खोज्दा हाम्रो भाउ त दशौँ गुणा बढी हुन्छ ।’ उनीहरूले आफ्नो रेट बताए । ‘यस्तो सीसीटीभी क्यामरा जडान गरेको ठाउँमा पनि कसैले सेक्स गर्छ ?’ भन्ने हाम्रो प्रश्नमा एक युवतीले भनिन्, ‘यो क्यामरा तलका लागि मात्र हो । देखाउनका लागि माथि कोठामा केही हुँदैन ।’
उनीहरू ‘बसौँ–बसौँ’ भनेर कर गरिरहेका थिए । ‘अर्को पटक आउँदा हामी यहाँ नहुन सक्छौँ’ भन्दै उनीहरूले तीन÷तीन महिनामा शहर फेर्ने गरेको बताए। काठमाडौँ, पोखरा, बुटबल, नेपालगञ्ज विभिन्न शहरमा कन्ट्याक्टमा जाने गरेको बताए । एकै ठाउँमा बस्दा पुरानै केटी रहिछ भनेर ग्राहक पनि घट्ने र आम्दानी पनि कम हुने भएकाले ठाउँ परिवर्तन गरी–गरी काम गर्ने गरेको उनीहरूले बताए । तीनमध्ये अलि मोटी खालकी केटी भन्दै थिइन्, ‘मलाई सेक्स फाप्छ । अनि, त यसरी मोटाएकी छु ।’ उनीहरूले ग्राहकले बुक गरेर तीन÷चार दिनको प्याकेजमा बाहिर लाने गरेको पनि बताए । ‘हामी यहाँ मात्र बस्ने होइन, कसैले काठमाडौँ बोलायो भने उतै जान्छौँ । बुटवलबाट काम आयो भने त्यतै लाग्छौँ,’ उनीहरूले भने ।
उनीहरूले बियर खाइसक्दा सोफामा सुतिरहेकी युवती पनि उठिन् । उनी पनि धन्दा गर्ने नै रहिछिन् । साहुनीलाई कसैले फोन र्गयो । उनले ती युवतीलाई होटलको नाम र ठेगाना दिएर धन्दाका लागि जान भनिन् । ‘यी दिदी पनि कता–कता पठाउँछिन्’ भन्दै उनी स्कुटी स्टार्ट गरेर यौनधन्दाका लागि बाहिर निस्किइन् । ‘स्कुटीवाली मन परेको भए ऊसँगै बसे हुन्छ । ऊ टिप लागेर बाहिर गएकी छे,’ बियर पिउँदै गरेका युवतीहरू भन्दै थिए । हामी अरू दुई जना साथी लिएर आउँछौँ भनेर ए वानबाट बाहिरियौँ ।
निगरानी नं. ४, जेठ १० गते, शुक्रबार
शान्तिनगरमै रहेको यो रेस्टुरेन्टको कुनै नाम छैन । काउन्टरमा केही मदिरा सजाएर राखिएको छ । यहाँ पनि चार जना केटी फुलटाइम यौनधन्दाका लागि राखिएका छन् । ग्राहकलाई रोजाएर यौनधन्दा गराउने गरिएको भेटियो । हामीले यहाँ पनि चियाखाजा खान खोजेका थियौँ । छैन भनियो । यस्ता रेस्टुरेन्टमा मदिरा भने खोजेजस्तै पाइने रहेछ । रेस्टुरेन्ट सञ्चालक फोनबाट ग्राहक बुकिङ गर्ने, लोकेसन देखाउने र रातिका लागि कुन होटलमा युवती पठाउने भनेर चाँजोपाँजो मिलाउँदै थिए । दिउँसो रेस्टुरेन्टमा यौनधन्दा गर्ने युवती राति भने विभिन्न होटलमा ग्राहकको डिमान्डअनुसार यौनधन्दाका लागि पुग्ने गरेको निगरानीका क्रममा पत्ता लाग्यो ।
सम्पर्क व्यक्तिमार्फत भेटिन्छन् यौनकर्मी
यौनधन्दा हुने केही सेक्स प्वाइन्टको निगरानीपछि हामीले सम्पर्क व्यक्तिमार्फत यौनकर्मी भेट्नका लागि बिहीबार राति ११ बजेसम्म पोखराका विभिन्न चोक र गल्ली चर्हायौँ । ट्याक्सी चालकमार्फत यौनकर्मी भेट्न खोज्दा निकै समय लाग्यो । सुरुमा ट्याक्सी चालक आफूलाई यो विषयमा केही थाहा नभएको भन्दै पन्छिन्थे । एक जना ट्याक्सी चालकले ‘मेरो नाम लिनू’ भनेर एक जना महिलाको नम्बर दिए । फलानो दाइले नम्बर दिनुभएको भन्नेबित्तिकै ती महिलाले फोनमा भनिन्, ‘ए ल ल कुरा बुझेँ, एक घण्टापछि फोन गर्छु ।’ तर, उनले फोन नगरेपछि हामीले पुनः ती महिलालाई फोन र्गयौँ । उनीहरूले केटीहरू व्यस्त भएकाले समय लाग्ने बताइन् ।
हामीलाई ‘केटीहरू सिर्जना चोकमा आउँछन्’ भनिएको थियो । हामी तीन पटक सिर्जना चोक जाँदै÷फर्किंदै र्गयौँ । ती महिलाले राति १० बजे यौनकर्मी युवतीको फोन नम्बर दिइन् । ‘फलानी दिदीले दिनुभएको’ भन्दै फोन गरेपछि उनीहरू आउन राजी भए । राति ११ बजे उनीहरू सिर्जना चोक आए । दिउँसो कपडा पसलमा काम गर्ने उनीहरूले राति मात्र यौनधन्दा गर्ने गरेको बताए । हामीले ‘आज निकै ढिला भयो, भोलि दिउँसो भेटौँ’ भन्यौँ । उनीहरू ‘दिउँसो भ्याइँदैन, बस्ने भए राति नै बसौँ’ भन्दै फर्किए । सम्पर्क व्यक्तिमार्फत होटलको कोठासम्मै यौनकर्मी पुग्ने गरेका छन् ।
बाग्लुङ बसपार्कको यौनधन्दा बन्द

कुनै समय पोखराको बाग्लुङ बसपार्क रेड लाइट एरियाभन्दा कम थिएन । बसपार्क आसपास खुलेका दर्जनौँ होटलका ढोकामा अर्धनग्न युवती ग्राहकको प्रतीक्षा गरिरहेका हुन्थे । २०७१ सालमा वसन्त लामा कास्की जिल्लामा प्रहरी प्रमुख थिए । स्थानीयको सहयोगमा उनले नै कडाइ गरेपछि बाग्लुङ बसपार्कको यौनधन्दा बन्द भएको थियो । बसपार्कवरिपरि रहेका ७५ वटा होटलमा यौनधन्दा हुने गरेको थियो । पोखराको मुख्य यौनधन्दा हुने अखडा बन्द भए पनि शहरका विभिन्न चोकमा रहेका रेस्टुरेन्टमा अहिले निर्बाध रूपमा यौनधन्दा हुने गरेको ‘सम्पूर्ण’को निगरानीमा देखियो । सम्पूर्ण साप्ताहिकबाट ।
२० जेष्ठ २०७६, सोमबार
63
Shares







