कामीरितालाई पछ्याउँदै आरोही ङिमानुरु शेर्पा, सगरमाथाको शिखरमा २२ औं पटक पुगे !

  बुद्धवीर बाहिङ
56 Shares

सोलुखुम्बु । विश्व कीर्तिमानी आरोही कामीरिता शेर्पाले यो वसन्त ऋतुमा दुई पटक सगरमाथा चढ्दै २४ औं पटक पुर्याए । उनलाई पछ्याउँदै चर्चित आरोही ङिमानुरु शेर्पाले पनि मे २३ को विहान ४ बजेर ३० मिनेट २२ औं पटक सगरमाथाको शिखरमा पुगेको रेकर्ड कायम गरेका छन् । तिब्बती क्षेत्रबाट ङिमानुरुले यो सिजनको वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्दै २२ औं पटक पुर्याएका हुन् ।

कामीरिताले अर्को वर्ष अर्थात सन् २०२० को वसन्त ऋतुमा अन्तिम पटक सगरमाथाको आरोहण गर्दै २५ औं पटक पुर्याउने घोषणा गरेका छन् । उमेरका कारण उनले हिमाल आरोहणबाट सन्यास लिनुअघि अन्तिम पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न लागेका हुन् । उनी अहिले ४९ वर्षका भए ।
चर्चित आरोही ङिमानुरु भने भर्खर ३७ वर्ष लागेका छन् । यसै सिजनमा उनले पनि दुई पटक सगरमाथा आरोहणको लागि अनुमति लिएका थिए । तर मौसम प्रतिकुलता र पहिलेको वर्षभन्दा अगाडिनै रोप फिक्सिङ गरिएको डोरी निकालिएकाले उनले एक पटकभन्दा सगरमाथा चढ्न पाएनन् । उनी अर्को वर्ष अर्थात सन् २०२० को वसन्त ऋतुमा पनि सगरमाथा आरोहणमा जाने घोषणा गरिसकेका छन् । ‘उमेर र स्वास्थ्यले साथ दिएसम्म प्रत्येक वर्षको वसन्त ऋतुमा सगरमाथाको आरोहण गर्ने मेरो सोच छ’ आरोही शेर्पाले भने ।

सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हमु गाउँपालिका वडा नं. ५ नाम्चेस्थित ठेसोमा जन्मिएका ङिमानुरु सानै उमेरदेखि हिमाल आरोहणमा आकर्षित भएका थिए । २२ औं पटकसम्म सगरमाथा आरोहणमा जाँदा कुनै अप्रिय घटना उनले देख्नु वा भोक्नु परेन । अहिलेसम्म उनीसँग सगरमाथा आरोहण गर्दा एक भारतीय र एक जापानीज आरोहीले मात्र ज्यान गुमाएका छन् । अझै १० वर्षसम्म सगरमाथा आरोहण गर्ने उनको लक्ष्य छ ।

यो पनि पढ्नुहोस ।

यूवा आरोहीको रुपमा विश्व किर्तीमान राख्छु : ङिमानुरु शेर्पा

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार