यूवा आरोहीको रुपमा विश्व किर्तीमान राख्छु : ङिमानुरु शेर्पा

२१ पटक सगरमाथाको आरोहणमा कहिल्यै दुर्घटनामा परिन

  बुद्धवीर बाहिङ
973 Shares

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको २१ पटक सफल आरोहण गरेका आरोही ङिमानुरु शेर्पाले आरोहणको क्रममा कहिल्यै डरलाग्दो दुर्घटनामा परेनन् । बरु उनीसँगै अघिपछि गएका क्लाईमिङ शेर्पा र आरोहीहरु दुर्घटनामा परेको बेला उनीहरुको उद्धार गरेर जीवनदान दिए ।

‘२१ पटक सगरमाथाको सफल आरोहण गरे, तर अहिलेसम्म कहिल्यै दुर्घटनामा परेको छैन’ आरोही शेर्पाले भने, ‘हिमाल आरोहणमा होसियारी पूर्वक गयो भने कहिल्यै दुर्घटनामा परिदैन भन्ने आत्माविश्वास बढेको छ ।’
सोलुखुम्बु जिल्लाको खुम्बुपासाङल्हामु गाउँपालिका नाम्चेस्थित ठेसोमा जन्मिएका शेर्पा सानै उमेरदेखि हिमाल आरोहणप्रति आकर्षित भएका थिए । उनको दाई समेत हिमाल आरोही भएकाले उनको मनमा पनि हिमाल आरोहणप्रति रुची जाग्नु कुनै नौलो विषय होइन । त्यत्ति मात्र होईन तेञ्जिङ नोर्गे शेर्पा समेत उनकै गाउँ नजिकैको थामे गाउँको भएकाले पनि उनमा हिमाल आरोहणप्रति अझ बढी रुची बढेको थियो । विद्यालयको पाठ्यक्रममा समेत पहिलो हिमाल आरोही तेञ्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीको बारेमा पढेपछि त उनले सानैदेखि हिमाल आरोहणलाई नै मुख्य पेशा बनाउने तिब्र इच्छा साँचेका थिए ।
ठेसो समुन्द्र सतहदेखि ३ हजार २ सय ५० मिटरको उचाई रहेको छ । थामे आधारभूत विद्यालयमा प्रारम्भिक शिक्षा हासिल गरेका थिए । उनले कक्षा ५ सम्म थामेमै पढेका थिए । ६ कक्षादेखि खुम्जुङ माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए । तर उनले औपचारिक शिक्षालाई बीचैमा छोडेर आरोहण क्षेत्रमा लागेका थिए ।
सन् १९९९ बाट उनको हिमाल आराहणको यात्रा शुरु भएको थियो । उनले आइसल्याण्ड पिकबाट आरोहणको शुरुवात गरेका थिए । १६ वर्षको उमेरदेखि हिमाल आरोहणमा होमिएका शेर्पाले सोही वर्षको नोभेम्बरमा आमाडब्लम हिमाल सफल रुपमा आरोहण गरेका थिए । उनले शुरुवातमा किचेन वईको रुपमा हिमाल आरोहणको यात्रा शुरु गरेका थिए ।

सन् २००० बाट उनले सगरमाथा हिमालको आरोहण यात्रा तय गरेका थिए । पहिलो पटक सगरमाथा आरोहणदलमा उनी किचेन वईको रुपमै गएका थिए । किचेन वर्ईको रुपमा हिमाल आरोहणको अनुभवले उनलाई क्लाईमिङ शेर्पामा बढुवा गर्ने अवसर पाए । किचेन वईको रुपमा काम गर्दै गर्दा उनले सगरमाथा आधार शिविरमा क्लाईमिङ शेर्पाहरुसँग तालिम समेत लिएका थिए ।
‘प्रत्येक वर्ष खुम्बु आईफलमा बाटो परिवर्तन भैरहन्छ, एक वर्ष राम्रो बाटो छ भने अर्को वर्ष त्यस्तै बाटो राम्रो हुँदैन, किनभने बाटो परिवर्तन भैरहन्छ, पहिलेको तुलनामा बाटो अहिले धेरै फरक छ, सायद जलवायु परिवर्तनले गर्दा होला, तापक्रम बृद्धिसँगै खुम्बु आईसफलमा आइसहरु पग्लिएर जाने भएकाले धेरै खतरा छ’ शेर्पाले भने ।
उनले पहिलो पटक सगरमाथा आरोहण सन् २००१ मा गरेका थिए । त्यसबेला उनले तिब्बती मोहडाबाट विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको थिए । जुनबेला उनीसँगै उनका जेठा दाई पनि आरोहणमा सहभागी थिए । उनले नेपाली मोहडाबाट ९ पटक र तिब्बती मोहडाबाट १२ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
‘हिमाल आरोहण सजिलो काम त होइन, तर नेपाल र तिब्बती मोहडामा तुलना गर्दा नेपालभन्दा तिब्बती मोहडाबाटै सजिलो हुन्छ’ उनले भने, ‘किनभने नेपाली मोहडामा खुम्बु आईफल छ, जहाँ पलपलमा हिउँपहिरो आइरहने र ग्लासियर पग्लिएर बाटो भत्किरहन्छ ।’
उनले ५ सिजनमा दुई÷दुई पटक सगरमाथाहो सफल आरोहण गरेका छन् । सन् २००५, २००६, २००७, २०११ र २०१४ सालमा एकै सिजनमा दुई पटक सगरमाथाको आरोहण गरेका थिए ।

‘विश्व किर्तीमानको लागि प्रतिस्पर्धात्मक रुपमा कहिल्यै जान्न, मेरो पेशा नै हिमाल आरोही भएकाले चढ्दै जाऔं, समय र परिस्थितिले साथ दियो भने अवश्य मेरो नाम पनि विश्व किर्तीमानीको रुपमा रहन सक्छ’ उनले भने, ‘अहिलेसम्म जत्तिले विश्व किर्तीमान कायम गर्नु भएको छ, म उनीहरुभन्दा यूवा आरोहीको रुपमा विश्व किर्तीमान राख्न मन छ, ‘मोष्ट समिटेड ईन्द योङ्ग एज’ को विश्व किर्तीमानी राख्ने लक्ष्य छ ।’
पाँच दाजुभाई र दुई दिदी बहिनीमध्ये जेठा दाई पनि हिमाल आरोही नै थिए । उनले १९ पटक सफल सगरमाथाको आरोहण गरिसकेका थिए । तर विडम्बना हिमाल आरोहणकै क्रममा बरुञ्चे एक्सपीडिसनमा उनको जेठा दाईको मृत्यु भयो । यदि उनको मृत्यु भएको थिएन भने अहिलेसम्म २८ पटकभन्दा बढी सगरमाथाको सफल आरोहण गरिसक्ने थिए । उनको कान्छा भाई पनि हिमाल आरोहीकै रुपमा छबि बनाएका छन् । उनले पनि ४ पटक सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
शेर्पालाई परिवारबाट हिमाल नचढ्न दबाब आईरहेको छ । ‘हिमाल आरोहीको परिवारका सदस्यले हिमाल चढ्न जो कसैले पनि जानुस भनेर भन्दैनन्’ उनले भने, ‘हिमाल आरोहण गर्ने काम एकदमै कठिन र जोखिमपूर्ण छ, हिमालमा हरेक किसिमको दुर्घटना हुन्छ, त्यस्तो बेला धेरै चिन्ता परिवारमा हुन्छ ।’

हिमाल आरोहणको क्रममा कम्तिमा पनि दुई महिनादेखि बढिमा साँढे दुई महिनासम्म हिमालमै बस्नु पर्ने भएकाले नेपाली मोहडाबाट आरोहण गर्दा घरमा फोन गर्दा समस्या हुँदैन । तर तिब्बती मोहडाबाट चाँही भनेको समयमा फोन गर्न सकिदैन । त्यो बेला चाँही अलि नरमाईलो लाग्छ । उनले तीतो अनुभव सुनाए ।
सन् २०१४ मा खुम्बु आईफलमा हिमपहिरो जाँदा १६ जना आरोही तथा क्लाईमिङ शेर्पाले ज्यान गुमाएका थिए । तर त्यो समयमा म चाँहि तिब्बती मोहडाबाट सगरमाथाको आरोहण गर्दै थिए । नेपाली मोहडाबाट सगरमाथा आरोहण स्थगित गरिएको थियो । तर तिब्बती मोहडाबाट चाँही आरोहणलाई निरन्तरता दिइयो । त्यो समयमा पनि मैले सफल रुपमा सगरमाथाको आरोहण गरे ।
हिलारी स्टेपलाई अहिले हिलारी रिच भन्ने गरिन्छ । पहिले घुमेर माथी जानु पथ्र्यो भने अहिले सिधै जान सकिन्छ । त्यसैले हिलारी स्टेपलाई हिलारी रिच भनिएको हो । पहिले घुमेर जाँदा हिलारी स्टेपमा धेरै ट्राफिक जाम हने गथ्र्यो तर अहिले सिधै बाटो बनाएपछि त्यहाँ ट्राफिक जाम पर्दैन ।
‘म आफूलाई भाग्यमानी ठान्छु, हिमाल आरोहणमा अहिलेसम्म कहिल्यै दुर्घटनामा परेको छैन, बरु आराहणको क्रममा धेरै क्लामिङ शेर्पा र आरोहीहरुलाई उद्धार गरेको छु’ उनले भने, ‘म आरोहणको क्रममा धेरै चनाखो भएर यताउती हेर्दै क्रेभासको बाटो पार गर्ने गरेको छु, मैले ठेसोकै क्लाईमिङ शेर्पा आङफुर्वा शेर्पालाई खुम्बु आईसफलमा ठूलो दुर्घटनाबाट बचाएको छु, त्यो क्षणलाई म जीवनमा कहिल्यै बिर्सन सक्दिन ।’
२१ पटकसम्म विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको क्रममा शेर्पाको आरोहण दलको सदस्य २ जना मात्र गुमाएका छन् । एक जना जापानिज र एक जना भारतीय नागरिक । नेपाली भने उनको दलबाट अहिलेसम्म कुनै अप्रिय दुर्घटनामा परेका छैनन् ।
सन् २०१९ को स्प्रिङ सिजनमा पनि उनी फेरी सगरमाथा आरोहणको २२ औं पटक सगरमाथा आरोहणमा जाने सोच बनाएका छन् । अझै १० वर्षसम्म सगरमाथा आरोहणमै बिताउने उनको योजना छ । ‘शरीरले साथ दिएसम्म हिमाल आरोहण गरिरहने छु’ उनले भने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार