काठमाडौं । पछिल्लो समय लगातार नम्बर वान ट्रेन्डिङमा परेको चर्चित म्यूजिक भिडियो गलबन्दी सबैभन्दा छोटो समयमा एक करोड भ्यू पाउने भिडियो भएको छ । सर्वाधिक चर्चा पाएको लोकगीत ‘गलबन्दी’लाई एक करोडभन्दा बढि दर्शकले हेरिसकेका छन् ।

चर्चित लोक गायक प्रकाश सपूत र शान्ति श्री परियारको स्वर रहेको गीत पछिल्लो समयको सर्वाधिक लोकप्रिय गीत हो । यो गीत नेपाली संगीत क्षेत्रमा युट्युबमा अपलोड गरिएका भिडियोमध्ये सबैभन्दा छिटो एक करोडले हेरेको गीतको रेकर्ड बनाउन सफल भएको छ । प्रकाश सपूतले बजारमा ल्याएको यसअघि ‘बोल माया’ पनि नेपालीमाझ निकै लाकेप्रिय भएको थियो ।
‘गलबन्दी’को भिडियोमा अञ्जली अधिकारी र प्रकाश सपूतको अभिनय जीवन्त रहेको छ । गीतभन्दा अगाडि भएका संवादहरु पछिल्लो समय दर्शकहरुले खुबै रुचाइएका छन् । गीतमा अञ्जली अधिकारीको लजाएको अभिनयलाई दर्शकले खुब मन पराएका छन् ।
म्युजिक भिडियोलाई प्रकाश सपूतले नै निर्देशन गरेका थिए । रोधीमा गाइने गीतको शैलीमा तयार पारिएको यो गीतलाई सबै वर्गका दर्शकले उत्तिकै रुचाएका छन् । उनको गीतलाई देश विदेशबाट दर्शकहरुबाट प्रशंसा ओइरो लागेको छ ।













