९ बुँदे घोषणापत्र जारी गर्दै सकियो प्रदेश १ को महिला भेला

Facebook Debugger

धनकुटा । नेपाल पत्रकार महासंघ एक नम्बर प्रदेश समितिको आयोजनामा प्रदेशस्तरीय अगुवा महिला पत्रकार भेला ९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको छ । असार १६ र १७ गते धनकुटाको पाख्रिवास नगरपालिका स्थित कृषि अनुसन्धान केन्द्रमा आयोजना गरेको प्रदेश स्तरीय अगुवा महिला पत्रकार भेलाले प्रेस तथा अभिव्यत्ति स्वतन्त्रता, महिला पत्रकारहरुको क्षमता अभिवृद्धि, लैगिक समावेशिता लगायको ९ बुँदे घोषणापत्र जारी गर्दै भेला सकिएको हो ।


पाख्रिवास घोषणा पत्र-२०७६
१. प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने गरी संसदमा पेश भएको मिडिया काउन्सिल विधेयक, सूचना प्रविधि,विज्ञापन सम्बन्धि नीति लगायत प्रेस स्वतन्त्रता विरोधी विधेयक तथा कानून तत्काल फिर्ता लिएर प्रेस स्वतन्त्रताको विश्वव्यापी मूल्यमान्यता र लोकतान्त्रिक विधिको सम्मान गर्न यो भेला सरकारसंग जोडदार माग गर्दछ ।
२. महिला पत्रकारहरुको क्षतमा अभिबृद्धिका लागि स्थानीय,प्रदेश र संघीय सरकारलाई बजेटको निश्चित प्रतिशत रकम छुट्याउन माग गर्दै समान सहभागीताको सुनिश्चितता, पेशागत सुरक्षा र श्रमजीवी ऐन कार्यान्वनयका लागि यो भेला सरोकारवालाको ध्यानाकर्षण गराउँछ ।
३. पत्रकारितामा विषयवस्तु र लैङ्गिक समावेशीताका लागि सवै वर्ग, क्षेत्रको समानुपातिक सहभागिता वृद्धि गर्न यो भेला सञ्चारमाध्यमसँग जोडदार माग गर्दछ ।
४. श्रमजीवी ऐन कार्यान्वयनका लागि सञ्चार संस्थालाई बलीयो बनाउने नीति अवलम्बन गर्न तीनै तहका सरकारको ध्यानाकर्षण गराउँदै सञ्चारमैत्री कानून निर्माण र समानुपातिक विज्ञापन वितरणको नीति अवलम्बन गर्न यो भेला माग गर्दछ ।


५. पत्रकार महिलाहरुको नेतृत्वमा सञ्चालित स्वरोजगारमूलक सञ्चार माध्यमलाई विशेष सुविधा उपलब्ध गराई ब्यवसायिक बनाउन यो भेला जोडदार माग गर्दछ ।
६. नेपाल पत्रकार महासंघका सवै संरचनामा हाल कायम समावेशी कोटा यथावत राख्दै मुख्य पदहरु अध्यक्ष, महासचिव वा सचिवमध्ये एक पद महिलाका लागि सुनिश्चित गर्दै कार्यसमितिमा ३३ प्रतिशत सहभागिता अनिवार्य गर्न यो भेला माग गर्दछ ।
७. सञ्चार संस्थाभित्र मुख्य गरी पत्रकार महिलामाथि लिङ्गकै आधारमा हुने शारीरिक वा मानसिक हिंसा तत्काल अन्त्य गर्न यो भेला जोडदार माग गर्दछ । साथै महिलाहरुलाई विशेष परिस्थिति (गर्भवति, सुत्केरी वा अन्य) मा विदा, उपदान लगायतका विशेष ब्यवस्थापन गर्न महिला मैत्री नीति निर्माण र कार्यान्वयन गर्न यो भेला सञ्चार संस्थाको ध्यानाकर्षण गराउँछ ।
८. अधिवेशनलाई लक्षित गरी राजनीतिक भागवण्डाका आधारमा पत्रकार महासंघमा सदस्यता वितरण गर्ने प्रचलनको अन्त्य गर्न यो भेला नेपाल पत्रकार महासंघसँग जोडदार माग गर्दछ । अधिवेशन आयोजना हुनुभन्दा ६ महिना अगावै सदस्यता वितरण गरिसक्न पनि यो भेला ध्यानाकर्षण गराउँछ ।
९. पर्यटकीय क्षेत्रको रुपमा स्थापित पाख्रिवास कृषि अनुसन्धान केन्द्रको प्रचार प्रसार र कृषि उपजको विकास र प्रवद्र्धन गर्न यो भेला प्रतिबद्धता व्यक्त गर्दछ । साथै प्रदेशका पत्रकार महिलाहरुको भेला गराउन आतिथ्यताको भूमिका निर्वाह गर्ने नेपाल पत्रकार महासंघ धनकुटा शाखा र पाख्रिबास नगरपालिका, पाख्रिवास कृषि अनुसन्धान केन्द्रसहित स्थानीय संघसंस्था तथा सहयोगी सबैमा यो भेला धन्यवाद ज्ञापन गर्दछ ।

Published On:
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार