७ कार्तिक २०८३, शुक्रबार | Fri Oct 23 2026

धान सखाप पारे फौजी कीराले किसान चिन्तित


१७ भाद्र २०७६, मंगलबार  

21
Shares

सुरुङ्गा । धानबालीमा फौजी कीराको प्रकोप देखिएपछि दक्षिणी झापाका किसान चिन्तित बनेका छन् । गौरादह नगरपालिकाका किसानले लगाएको धानबालीमा फैजी कीराको प्रकोप देखिएपछि त्यहाँका किसान चिन्तित बनेका हुन् ।

गौराहद–६ का कृषक यादवकुमार बस्नेतले फौजी कीराले आफ्नो डेढ बिघा क्षेत्रफलमा लगाएको धानबाली पाँच दिनमै सखाप पारेको बताए । “पहिलोपटक यस्तो कीराको प्रकोप देखापरेको छ”, उहाँले भने, “दिनमा भन्दा रातिमा धेरै यो कीराले बाली नष्ट गर्दोरहेछ ।” स्थानीय खड्गबहादुर कार्कीले आफूले धानखेती गरेको ६० वर्ष बिते पनि यस्तो प्रकोप पहिलोपटक देखेको बताए । “यो कीराले दुई÷तीन दिनभित्रै धान काटेर सखाप पार्दोरहेछ”, उहाँले भन्नुभयो, “धानको टुप्पो काटेर ठुट्टो बनाएको छ अब के गर्ने रु”

गौरादह–६ को वीरबलचोकमा फौजी कीराको प्रकोप धेरै रहेको स्थानीयवासी शारदा प्रसाईँ पराजुलीले बताए । किसानले लगाएको धान फौजी कीराका कारण नष्ट भएपछि कुन औषधि प्रयोग गर्ने भन्ने विषयमा समेत आफूहरुलाई थाहा नभएको उहाँको भनाइ छ । “दिनभरि धानको गाँजमा लुक्ने र रात परेपछि यो कीराले धानका टुप्पा काटेर भुइँमा झार्दोरहेछ”, अर्का किसान चन्द्रप्रसाद पराजुलीले भने, “मेरो पाँच बिघा क्षेत्रफलमा लगाएको धानबाली सखाप बनायो ।

Sagarmatha

नगरपालिकाका किसानले दुई बाली धानखेती गर्दै आएका छन् । प्रतिबिघा ९० मनसम्म उत्पादन हुने धानमा फौजी कीराको प्रकोप देखिएपछि अब यसको समाधान कसरी गर्ने भन्ने विषयमा नगरपालिकाले छलफललाई तीव्रता दिँदै समाधानको बाटो खोज्न सुरु गरेको वडाध्यक्ष खड्गप्रसाद पराजुलीले बताए । उहाँले भने, “फौजी कीराको प्रकोपका कारण १०० भन्दा बढी किसान मारमा परेका छन्, यसको बेलैमा समाधान नखोजे यहाँ भयावह स्थिति आउन सक्छ ।”

फौजी कीराले धानबाली नष्ट गरेपछि वर्षभरि खाने अन्न कसरी जोहो गर्ने भन्दै स्थानीयवासी किसान हेमसागर ओझाले चिन्ता व्यक्त गरे । धानबालीमा फौजी कीराको प्रकोपका कारण समस्या सिर्जना भएसँगै स्थानीय भेटेरेनरी सञ्चालक बालकृष्ण दाहालले औषधि प्रयोग गर्न किसानलाई सिकाएको बताए ।

सो नगरपालिका क्षेत्रमा फोजी कीराको समस्या देखिएपछि सोमबार कृषि ज्ञान केन्द्रको टोलीले समेत स्थलगत अवलोकन गरेको छ । विराटनगरस्थित बाली संरक्षण प्रयोगशालाका निमित्त प्रमुख मुकेशकुमार यादव, कृषि विकास निर्देशनालयकी अधिकृत सरस्वती श्रेष्ठलगायतको टोलीले समेत गौरादह पुगेर फौजी कीराको प्रकोपको विषयमा अवलोकन गरेको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७६, मंगलबार  ६ : ५९ बजे