ओखलढुंगा । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ओखलढुंगामा एक जनाको मृत्यु भएको छ ।

सिद्धिचरण नगरपालिका ११ की ५८ वर्षीया महिलाको सोमबार ओखलढुंगा सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य कार्यलय ओखलढुंगाका अधिकारीले बताएका छन् ।
संक्रमित महिलालाई जेठ ७ गते कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले बताए । श्वासप्रश्वासमा समस्या भएर अस्पतालमा भर्ना गरिएको श्रेष्ठको अक्सिजन लेवलसमेत कम रहेको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

ओखलढुंगा स्थायी ठेगाना भई कामको शिलशिलामा जिल्लाबाहिर गएकामध्ये कोरोना संक्रमणबाट ६ जनाको मृत्यु भइसकेको भए पनि जिल्लामै कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो ।







