तरुण दल सोलुले उपत्यकामा राहत वितरण गर्ने

काठमाडौं । नेपाल तरुण दल सोलुखुम्बुले काठमाडौं उपत्यकामा राहत वितरण गर्ने भएको छ ।

सोलुखुम्बु स्थायी घर भई उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बसोबास गरिरहेका दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुलाई दैनिक उपभोग्य खाद्यान्न राहत स्वरुप वितरण गर्न लागेको हो । विश्व व्यापी महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)का कारण अति समस्यामा परेका उपत्यकाबासी सोलुखुम्बेली मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्न लागेको तरुण दल सोलुखुम्बुका अध्यक्ष अशोक झाले बताए ।

‘तरुण दल सोलुखुम्बुले जिल्लाबाट उपत्यकाभित्र आई दैनिक ज्यालादारी गरिरहेका मजदुर र विभिन्न क्याम्पसमा अध्ययन गरिरहेका सोलुखुम्बेली विद्यार्थीहरुलाई राहत वितरण गर्न लागेका हौं’ अध्यक्ष झाले भने, ‘तरुण दल सोलुको समन्वय र पहलमा सफल पर्यटन व्यवसायी एवं नेपाली कांग्रेस सोलुखुम्बुका नेता आङछिरिङ शेर्पाद्धारा अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गर्न लागेका हौं ।’

पहिलो चरणको लकडाउनमा जिल्लामा विभिन्न संघसंस्था, पार्टी र स्थानीय तहले उपत्यकामा बसोबास गरिरहेका अति समस्यामा परेका मजदुर र विद्यार्थीहरुलाई राहत वितरण गरे पनि दोस्रो चरणको निषेधाज्ञामा कसैले राहत नदिएकाले तरुण दल सोलुले अगुवाई गरेको अध्यक्ष झाले बताए । ‘हामी राजनीति मात्रै होइन, यस्तो महासंकटको बेला यो पार्टी र त्यो पार्टी नभनिकन अति समस्यामा परेका सबै उपत्यका बासी सोलुखुम्बेलीहरुलाई राहत बाड्नेछौं’ अध्यक्ष झाले भने, ‘पहिले दुःख र समस्यामा परेका आम जनता बाँच्नु पर्यो, अनि मात्रै राजनीति हो ।’

उपत्यका भित्र बसोबास गरिरहेका सोलुखुम्बेली दैनिक ज्यालादारी मजदुर र विद्यार्थीहरुले तरुणदल सोलुखुम्बुका अध्यक्ष अशोक झालाई ९८५१२३४११३ मा सम्पर्क गर्न पनि अनुरोध गरिएको छ ।

यो पनि पढ्नुहोस ।

व्यवसायी आङछिरिङले गरे त्रिविका १०० विद्यार्थीलाई राहत वितरण

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार