एजेन्सी । उत्तर कोरियाका शासक किम जोङ उनले महामारीविरूद्ध सत्तारूढ पार्टीका जिम्मेवार नेताले आफ्नो काम राम्ररी नगरेको भन्दै आलोचना गरेका छन् ।

उत्तर कोरियाको सरकारी समाचार संस्था केसिएनएका अनुसार मंगलबार भएको वर्कर्स पार्टी अफ कोरियाको पोलिटब्युरो बैठकमा किमले आफ्नो जिम्मेवारी पूरा गर्न नसकेर देश र जनतालाई असुरक्षित बनाएको भन्दै नेताहरूलाई गाली गरेका हुन् ।
उत्तर कोरियामा के घटना भयो र त्यसले असुरक्षा सिर्जना ग¥यो भन्नेबारे भने खुलाइएको छैन । ‘भाइरसविरूद्ध राष्ट्रिय आपतकालिन लडाइँका लागि पार्टीले गरेका निर्णयहरूलाई बेवास्ता गर्दै जिम्मेवार अधिकारीहरूले गम्भीर गल्ती गरेका छन् । त्यसले यो राष्ट्र र यहाँका मानिसको सुरक्षामा गम्भीर खतरा उत्पन्न गरेको छ,’ उनको भनाइ उद्धृत गर्दै केसिएनएको समाचारमा लेखिएको छ ।

उत्तर कोरियाले अहिलेसम्म आफ्नो देशमा एक जनालाई पनि कोरोनाभाइरसको संक्रमण नभएको दाबी गर्दै आएको छ । महामारी नियन्त्रणका लागि उसले छिमेकी देशहरूसँगको सीमा महिनौंदेखि शील गरेको छ भने आन्तरिक रूपमा पनि आवात-जावतलाई नियन्त्रणमा राखेको छ ।
विशेष गरी चीनसँगको सीमा बन्द हुँदा र बाढीलगायत प्राकृतिक कारणले उत्पादनमा कमी हुँदा उत्तर कोरियामा खाद्यान्न संकट हुन लागेको बताइएको छ ।







