एजेन्सी । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको १ सय वर्ष पूरा भएको छ । कम्युनिस्ट पार्टीको स्थापनाको १ सय वर्ष पूरा भएको अवसरमा चिनियाँ राष्ट्रपति सि जिनपिङले टियानान्मेनमा जम्मा भएको समूहलाई सम्बोधन गरेका छन् ।

सम्बोधनको क्रममा जिनपिङले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टी चीनको विकासको कहानीको केन्द्रमा रहेको बताए । साथै उनले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने बताएका छन् ।
टियानान्मेनमा पार्टीको १ सय वर्षगाँठ मनाउन करिब ७० हजार मानिसहरु उपस्थित भएका थिए । त्यहाँ सुरक्षा व्यवस्था निकै कडा बनाइएको छ । उनीहरु कसैले पनि मास्क लगाएका थिएनन् ।

बिहीबार बिहान आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई बढावा दिने गरी चिनियाँ सञ्चारमाध्यमहरुले पनि प्रचार गरिरहेका छन् । कम्युनिस्ट पार्टीको स्थापना सन् १९२१ मा भएको थियो ।







