सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिकामा सोनामग्याल्जेन शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् ।

नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तरगत असोज ९ गते हुने नगर अधिवेशनमा शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका हुन् । नेपाली काग्रेसको १४ औं महाधिवेशन युवा पुस्ताको भएको भन्दै शेर्पाले सभापतिको उमेदवार भएको बताए ।
‘कांग्रेसको १४ औं महाधिवेशन युवा पुस्ताको लागि हो । अब पनि युवा नेताले नेतृत्वमा हस्तक्षेपकारी भूमिका नखेल्ने हो भने देश विकासले गति लिन सक्दैन ।’ शेर्पाले भने, ‘म नगर सभापति हुनको लागि सक्षम छु । मसँग नगरको नेतृत्व लिनसक्ने स्पष्ट दृष्टिको र कार्ययोजना छ ।’

शेर्पाले आङगेलुको समूहबाट नगर सभापतिमा उमेदवारी दिएको बताए । नगरपालिकाको ११ वटा वडामा ९९ प्रतिशत नै आङगेलु समूहको सभापति र क्षेत्रिय प्रतिनिधी निर्वाचित भएकाले आफ्नो जीत सुनिश्चित भएको पनि शेर्पाले बताए ।
शेर्पाले वि.सं. २०५७ सालमा नेपाली कांग्रेस पार्टीको क्रियाशिल सदस्य लिएका थिए । उनको संयोजकत्वमा सोलुखुम्बुको ८ वटै स्थानीय तहमा युवाहरुलाई स्वरोजगार बनाउन बीउ पूजीँको रुपमा प्रत्येक स्थानीय तहलाई ५०/५० हजार रुपैयाँ प्रदान गरिएको थियो । साथै उनले नेपाली कांग्रेस सोलुखुम्बु काठमाडौं सम्पर्क समितिको कोषाध्यक्षको रुपमा पनि काम गरेका छन् । अहिले उनी सोलुदुधकुण्ड नगरपालिकाको कार्यसमिति सदस्य छन् ।
यसैबीच पूर्वमन्त्री एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बलबहादुर केसीको समूहबाट मिङमार शेर्पाले नगर सभापतिको उमेदवारी घोषणा गरेका छन् । उनी सोलुदुधकुण्ड नगरपालिका वडा नं. २ का वडा अध्यक्ष समेत हुन् ।







