सोलुखुम्बु । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सोलुखुम्बु प्रदेश ‘ख’ क्षेत्रिय सभापतिमा प्रेमबहादुर थापामगरले उम्मेदवारी घोषणा गरेका छन् ।

जिल्लाको ५२ वटै वडामा अधिवेशन सकिएसँगै नेता थापामगरले प्रदेश ‘ख’ क्षेत्रिय सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् । उनले बलबहादुर केसीको समूहबाट प्रदेश ‘ख’ सभापतिको उम्मेदवारी घोषणा गरेको बताए । थापामगर यसअघि पनि सोलुखुम्बु प्रदेश ‘ख’ तदर्थ समितिको क्षेत्रिय सभापति थिए ।
को हुन प्रेमबहादुर थापामगर ?

सोलुखुम्बु जिल्लाको उत्तर पश्चिमस्थित साविकको जुभिङ गाउँ विकास समिति (हाल खुम्बु पासाङल्हामु १)को खरिखोलामा वि.सं. २०१५ सालमा उनको जन्म भएको थियो । तत्कालिन विद्यार्थी राजनीतिदेखिनै सक्रिय राजनीतिमा होमिएका मगरले वि.सं. २०३६ सालमै नेपाली कांग्रेसको सक्रिय सदस्य लिएर औपचारिक राजनैतिक यात्राको शुरुवात गरेका थिए ।

पार्टीको क्रियाशिल सदस्य लिएपछि उनले साविकको जुभिङ गाविसमा संगठन बिस्तार गर्दै लगे । जिल्लामा पनि उनलाई संगठन बिस्तार गर्न सक्ने युवा नेताको रुपमा परिचित भए । तत्कालिन समयमा नेपाली कांग्रेसले शसस्त्र बिद्रोह त्यागेर बुलेटबाट होइन ब्यालेटबाटनै आम जनताको मन जित्न सकिन्छ भनेर शान्तिपूर्ण राजनीतिमा आएको ५ वर्ष मात्रै भएको थियो । नेपाली कांग्रेसले वि.सं. २०३१ सालमा सोलुखुम्बुको टिम्बुरबोटे घटनापछि शान्तिपूर्ण राजनैतिक मूलधारमा आएको थियो ।
उनलाई टिम्बुरबोटे घटनाको पनि राम्रै ज्ञान छ । उनी विद्यार्थी राजनीतिमा लाग्दाखेरी नेपाली कांग्रेस हुँ भन्ने बित्तिकै की गोली खानु पथ्र्यो, की जेल बस्नु पथ्र्यो । नेपाली कांग्रेस शान्तिपूर्ण राजनीतिमा आएपछि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री बलबहादुर केसी र मगर सोलुखुम्बुको एकै समयमा राजनैतिक सहकर्मी भएर नेपाली कांग्रेसको राजनीतिमा सार्वजनिक भएका थिए । केन्द्रीय सदस्य केसी तत्कालिन समयमा शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको केन्द्रीय अधिवेशन गर्न नसकेर कार्यबाहक अध्यक्ष केसी भएर नेविसंघको अधिवेशन सफलतापूर्वक सम्पन्न गराएका थिए ।
१३ वर्षसम्म मगरले जिल्लामा संगठन बिस्तार गरेपछि वि.सं. २०४९ सालको तत्कालिन स्थानीय निकाय अन्तर्गत जुभिङ गाविसको अध्यक्षमा नेपाली कांग्रेसको तर्फबाट अत्याधिक बहुमतका साथ चुनाव जिते । उनले गाविस अध्यक्ष भएपछि गाविसको स्रोतले भ्याएसम्मको विकास र आम जनताको सेवा गरे ।
उनले गरेको संगठन बिस्तार र जनप्रिय कामले वि.सं. २०५३ सालमा नेपाली कांग्रेसको जिल्ला सदस्य भए । उनको लोकप्रियता अझै चुलिदै गयो । वि.सं. २०५७ सालमा कोषाध्यक्ष भए । त्यसैगरी वि.सं. २०६२ सालमा जिल्ला सचिव, १२ औं महाधिवेशनमा महाधिवेशन प्रतिनिधी भएका थिए ।

उनी पनि तत्कालिन माओवादीको द्धन्द्धबाट अछुतो रहन सकेनन् । उनलाई माओवादीले अपहरण गरेर लगे । बारम्बार भौतिक तथा मानसिक यातना दिए । माओवादीको भौतिक यातनाले उनि अझैसम्म राम्ररी सुन्न सक्दैनन् । विभिन्न मानसिक यातना त कत्ति हो कत्ति ? कत्ति समय त उनले बाँच्ने आशानै मारिसकेका थिए । तर, उनी बाँच्न सफल भए । गाविस अध्यक्ष हुँदा जनताको प्रिय बनेका उनलाई माओवादीले धेरै दुःख दिएपनि उनको जनप्रिय काम र लोकप्रियतालाई केहि गर्न सकेनन् ।
उनी राजनीतिमा मात्रै होइन सामाजिक काममा पनि उत्तिकै सक्रिय छन् । उनी नेपाल मगर संघको केन्द्रीय सदस्य भएर समुदायको हक, अधिकार र समावेशी मुद्धामा चट्टान भएर उभिए । स्थानीय खरिखोला माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर गाउँमा शिक्षाको ज्योति छरे ।
तत्कालिन समयमा खरिखोला आसपासमा कुनै विद्युत थिएन । उनले व्यत्तिगत लगानीमा खरिखोला लगायत आसपासका क्षेत्रमा विद्युत उत्पादन गरेर वितरण गरे । यस कार्यले उनको आम नागरिकप्रति सम्मान र नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्ने क्षमता थप प्रमाणित गरेर उनी झन जनप्रिय भए । उनी विभिन्न अन्य सामाजिक संस्थामा पनि नेतृत्वदायी भूमिका निभाएका छन् । ‘सबैको आग्रहमा प्रदेश ‘ख’ क्षेत्रिय सभापतिमा उम्मेदवारी दिएको छु, सबैले मत दिएर जिताउनु हुन्छ भन्ने पूर्ण विश्वासमा छु ।’ मगरले भने ।
यो पनि पढ्नुहोस
सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा धनजन राईको उम्मेदवारी घोषणा
१४ औं महाधिवेशन: सोलुखुम्बु प्रदेश ‘क’ सभापतिमा रोशनबाबु थुलुङको उम्मेदवारी








