२०७४ को मत अनुसार सोलुदुधकुण्ड नगरपालिकामा कुन राजनीतिक दलको स्थिति के छ ?

सोलुखुम्बुको एक मात्र नगरपालिकाको कुन वडामा कस्तो अवस्था छ ?

  बुद्धवीर बाहिङ
5.9k Shares

सोलुखुम्बु । वि.सं. २०७४ सालमा सम्पन्न पहिलो स्थानीय तहको निर्वाचनमा जिल्लाको एक मात्र नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार नाम्गेलजाङबु शेर्पाले झिनो मतान्तरले विजयी हासिल गरेका थिए ।

मेयरमा विजयी शेर्पाले २ हजार ७ सय ५१ मत प्राप्त गरेका थिए । उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका आङइगेले शेर्पाले २ हजार ६ सय १ मत प्राप्त गरेका थिए । एमालेका उम्मेदवार शेर्पाभन्दा कांग्रेसका उम्मेदवारले १ सय ५० मतले मात्रै विजयी भएका थिए ।

त्यस्तै नेकपा माओवादी केन्द्रका उम्मेदवार ङिमातेण्डुप शेर्पाले १ हजार ५ सय ३७ मत प्राप्त गरेका थिए । कुनै दलमा आबद्ध नभई स्वतन्त्र रुपमा उम्मेदवार बनेका आङदोर्जे शेर्पाले २ सय १४ मत प्राप्त गरेका थिए । त्यस्तै नयाँ शक्ति पार्टी नेपालका नेमी तामाङले ८१ मत र नेपाल मजदुर किसान पार्टीका पूर्णबहादुर मगरले २५ मत प्राप्त गरेका थिए ।

त्यस्तै ०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका उम्मेदवार कल्पना राई उपमेयरमा विजयी भएका थिए । उपमेयर राई पनि उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका  उपमेयरभन्दा अझै झिनो मतान्तर ४३ मतले मात्रै विजयी भएका थिए । उपमेयर राईले २ हजार ७ सय ६० मत प्राप्त गरेका थिए । उनको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार छिण्डील्हमु शेर्पाले २ हजार ७ सय १७ मत प्राप्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरका उम्मेदवार बनेका निमागेलु लामाले १ हजार ३ सय ९० मत प्राप्त गरेका थिए । उता स्वतन्त्र रुपमा उम्मेदवारी दिएका पेमादिकु शेर्पाले १ सय ५६ मत प्राप्त गरेका थिए ।

तत्कालिन स्थानीय तहको निर्वाचनमा सोलुदुधकुण्ड नगरपालिकामा १० वटा वडा थियो । तर, पछिल्लो समय साविकको तिङ्ला गाविस नगरपालिकाकै ११ नं. वडाको रुपमा गाभिएपछि अहिले ११ वटा वडा पुगेको छ । ०७४ सालको स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा साविक तिङला गाविसका मतदाता मतदान प्रक्रियामा भाग नलिई निर्वाचननै बहिस्कार गरेका थिए ।

०७४ को स्थानीय तह निर्वाचनमा नगरपालिकाको १० वडाको मतपरिणाम यस्तो छ

वडा नं. १ मा नेपाली कांग्रेसले वडा अध्यक्ष सहित ४ सदस्य पदमा जित हात पारेको थियो । वडा नं. २ मा पनि वडा अध्यक्ष सहित ४ सदस्य पदमा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो ।

त्यसैगरी वडा नं. ३ मा वडा अध्यक्ष नेकपा एमालेले जितेको थियो । भने, अन्य ४ सदस्य पदमा नेपाली कांग्रेसका उम्मेदवारले जितेका थिए । वडा नं. ४ मा पनि वडा अध्यक्षसहित ४ सदस्य पदमा नेपाली कांग्रेसले नै जितेको थियो । वडा नं. ५ मा वडा अध्यक्ष र एक सदस्य नेकपा एमालेले जितेको छ, भने ३ सदस्य नेपाली कांग्रेसले जितेको छ ।

वडा नं. ६, ७, ८ र १० मा वडा अध्यक्षसहित अन्य सबै वडा सदस्यहरु नेकपा एमालेले जितेको छ । त्यस्तै वडा नं. ९ मा वडा अध्यक्ष सहित सबै सदस्य नेपाली कांग्रेसले जितेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार