१ बैशाख २०८३, मंगलबार | Wed Apr 15 2026

‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्छु:खेलकुदमन्त्री



काठमाडौँ, १४ भदौ । युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले खेलाडीलाई ‘खेलाडी’ नै भएर बाँच्ने आधार तयार गर्नु आफ्नो लक्ष्य भएको बताएका छन् ।

युवा तथा खेलकुद मन्त्रालयमा मंगलबार ‘४२औँ चेस ओलम्पियाड’ र ‘१६औँ पारा ओलम्पिक’मा भाग लिन जाने खेलाडीलाई सफलताको शुभकामना दिँदै उनले भने “अब नेपाली खेलकुदलाई नीति विधिमार्फत सुधार गर्नेछौँ, ताकि तपाइँमा पनि हामी खेलाडी हौँ भन्ने गर्वको भावना आओस् ।”

यसैबीच यही भदौ १६ देखि २९ गतेसम्म अजरबैजानको बाकुमा हुने ‘चेस ओलम्पियाड’मा भाग लिने १० खेलाडीसहितको टोली बुधबार त्यसतर्फ प्रस्थान गर्दैछ जसमा पाँच पाँच पुरुष तथा महिला छन् । पुरुषमा भूपेन्द्र निरौला, सजिन महर्जन, केशव श्रेष्ठ, क्षितिज भण्डारी र विलमलाल श्रेष्ठ तथा महिलामा सिन्दिरा जोशी, शान्ता थापा, मोनालिसा खम्बू, सुजना लोहनी र अस्मिता अधिकारी छन् ।

त्यस्तै ब्राजिलमा भदौ २२ देखि आगामी असोज २ गतेसम्म हुने ‘पारा ओलम्पिक’मा भाग लिने दुई खेलाडी सहितको टोली पनि बुधबार नै त्यसतर्फ जाँदैछ जसमा पौडीमा लक्ष्मी कुँवर र एथ्लेटिक्समा विक्रमबहादुर रानाले प्रतिस्पर्धा गर्नुहुनेछ । छविलाल चौधरीले रानाको ‘रनर गाइड’का रुपमा काम गर्नुहुनेछ ।

पदाधिकारीको जम्बो टोली

‘पारा ओलम्पिक’मा नेपालका जम्मा दुई खेलाडीले भाग लिँदैछन् तर त्यहाँ १६ जनाको जम्बो टोली जाँदैछ । त्यस्तै ‘चेस ओलम्पियाड’मा १० खेलाडी र दुई कप्तानले सहभागिता जनाउनु हुनेछ तर त्यहाँ पनि १९ सदस्यीय टोलीले सहभागिता जनाउँदैछ । यसरी खेलाडीभन्दा धेरै कामविहीन पदाधिकारी जाने प्रथाले नेपाली खेलकुद क्षेत्र आर्थिक रुपमा झन धराशायी बन्ने जानकार बताउँछन् । रासस

प्रकाशित मिति : १४ भाद्र २०७३, मंगलबार  ९ : ५० बजे