१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

छिट्टै नियमित उडानमा फर्किने सौर्य एयरलाइन्सको प्रतिबद्धता


सगरमाथा अनलाईन

१४ श्रावण २०८१, सोमबार  

119
Shares

काठमाडौं । साउन ९ गतेको ठुलो दुर्घटनापछि सौर्य एयरलाइन्सले छिट्टै उडानमा फर्किने प्रतिबद्धता जनाएको छ। विज्ञप्ति सार्वजनिक गर्दै यरलाइन्सका अध्यक्ष दीपककुमार पोखरेलले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सार्वजनिक विज्ञप्तिमा उनले भनेका छन्, ‘हामी अहिले शोकको घडीमा छौं । अब छिट्टै नै नियमित उडानमार्फत् पुनः यात्रु महानुभावहरुसँग जोडिने छौँ ।’ अध्यक्ष पोखरेलले एयरलाइन्सका कर्मचारीलाई उच्च मनोबलका साथ यात्रुलाई सुरक्षित र सेवाप्रति अझै मजबुत भएर अगाडि बढ्न आग्रह गरेका छन्। उनले यात्रुको सुरक्षा र भरपर्दो यात्राका लागि निरन्तर सुधार र सतर्कता अपनाउँदै आगामी दिनमा सबैको विश्वास, सहयोग र समर्थन प्राप्त गर्ने अपेक्षा राखेका छन् ।

दुर्घटनापछि सहयोग गर्ने नेपाल सरकार सुरक्षा निकाय, अस्पताल र चिकित्सकलाई धन्यवाद दिँदै एयरलाइन्सले दुर्घटनाबाट पुगेको असुविधाप्रति यात्रु तथा यात्रुका परिवार र समग्र नेपाली नागरिकसँग क्षमासमेत मागेको छ ।

Sagarmatha

अध्यक्षले हस्ताक्षर गरेको विज्ञप्तिमा दुर्घटनामा ज्यान गुमाएका १८ जनामध्ये एक जना विदेशी नागरिकबाहेक सबैको शव आफन्तलाई बुझाइसकिएको जानकारी गराइएको छ ।

एयरलाइन्सले यात्रुले प्राप्त गर्ने बिमाको सम्पूर्ण प्रक्रिया अगाडि बढिसकेको बताएको छ। विज्ञप्तिमा बिमाबाहेक नेपाल सरकारबाट नियमअनुसार प्राप्त गर्ने सम्पूर्ण सुविधा उपलब्ध गराउने जनाएको छ ।

साउन ९ गते सौर्य एयरलाइन्स प्रा.लिको ९ एन–एनएमई कलसाइनको विमान नियमित प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखराका लागि उडे लगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त हुँदा १८ जनाको मृत्यु भएको छ । एक जना पाइलटको भने उपचार भइरहेको छ । पाइटलको स्वास्थ्य अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ५ : १७ बजे