९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

केआईआईटी घटना अपडेटः आरोपित हिरासतमा, मोबाइल जफत गरेर प्रमाण खोज्दै प्रहरी



काठमाडौं । भारतको ओडिसास्थित केआईआईटी कलेजमा प्रकृति लम्सालको मृत्यु प्रकरणमा गिरफ्तार भएका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ ।

लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा गिरफ्तार भएका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ । साथै, सोमबारबाट उनको मोबाइल प्रमाणका रुपमा जफत गरिएको भनिएको छ ।

प्रहरीले प्रकृतिको मोबाइल, ल्यापटप र एउटा डायरी पनि लगेको छ । त्यसको डिजिटल जाँच गरेर यो अनुसन्धानमा प्रमाणहरू जुटाइने भनिएको छ ।

२० वर्षीया लम्साल आइतबार अपराह्न होस्टलमा मृत अवस्थमा भेटिएकी थिइन् । त्यसपछि श्रीवास्ताव भागेर कोलकातास्थित घर जान खोजेका थिए । तर, व्यापक दबाबबीच उनी विमानस्थलबाटै पक्राउ परेका थिए ।

आरोपी अड्विक सोही कलेजमा बि–टेक (मेकानिकल) तेस्रो वर्षमा अध्ययनरत थिए । प्रकृतिलाई न्याय माग्दै गरिएको प्रदर्शनलाई प्रशासनले दमन गर्न खोजेपछि यो प्रकरणले थप उग्र रुप लिएको थियो ।

नेपालको प्रतिनिधिसभादेखि ओडिसाको विधानसभासम्ममा यो प्रकरणले अहिले प्रवेश पाएको छ । त्यहाँका सांसद्हरूले कलेजको लापरबाहीका कारण अन्तर्राष्ट्रिय रुपमै ओडिसाको निन्दा भएको भनेका छन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०८१, मंगलबार  ९ : ३१ बजे