८ असार २०८३, सोमबार | Tue Jun 23 2026

प्रहरीको बन्दुक खोस्नेसहित १०५ जना गिरफ्तार



काठमाडौं । राजावादीहरूले काठमाडौंको तीनकुनेमा शुक्रबार गरेको प्रदर्शन, तोडफोड र आगजनीमा संलग्न पक्राउ पर्ने क्रम जारी छ।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार शनिबार बिहानसम्म १०५ जना पक्राउ परेका छन्। प्रहरीको बन्दुक खोस्ने व्यक्ति पनि पक्राउ परिसकेको उनले बताए। तर, उनको नाम भने खुलाइएको छैन। अमानवीय, अमर्यादित एवं गैरकानुनी अपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

राप्रपाका नेताहरू रवीन्द्र मिश्र, धवलशम्शेर राणाका साथै स्वागत नेपाललगायतका राजावादी अभियन्ताहरू शुक्रबार राति नै पक्राउ परेका छन्। राजतन्त्र पुनर्स्थापनाका लागि आन्दोलन समितिका संयोजक नवराज सुवेदीलाई घरमै नजरबन्द गरिएको छ।

Sagarmatha

आन्दोलन भड्काउने मुख्य व्यक्ति दुर्गा प्रसाईं भने फरार भएका छन्। शान्ति सुरक्षा कायम राख्नका लागि सुरक्षा निकाय उच्च सतर्कतामा रहेको प्रशासनले जनाएको छ। राजधानीमा अवस्था सामान्य बन्दै गएपछि प्रशासनले कर्फ्यु हटाउने निर्णय गरेको हो।

प्रकाशित मिति : १५ चैत्र २०८१, शनिबार  ४ : ५४ बजे