काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त वार्ताको लागि शिक्षक महासंघका नेताहरू पर्खिरहेका छन् ।
आइतबार राति अबेरसम्म भएको वार्ता सहमतिनजिक पुगेको र सोमबार बसेर टुंगो लगाउने भनिएकाले आज पुनः वार्ताका लागि मन्त्री पर्खाइमा छन् । सरकारसँगको वार्ताअघि शिक्षक महासंघ अन्तरिक छलफलमा बसेको छ ।

‘मन्त्रीज्यू बिहानैदेखि मन्त्रालयमा वार्ताको लागि तयार हुनुहुन्छ । शिक्षक महासंघका नेताहरूलाई पर्खिरहनु भएको छ,’ शिक्षा मन्त्रालयका एक अधिकारीले भने, ‘आइतबार राति भएको वार्तामा एक खालको सहमति जुटेको छ । यसलाई अन्तिम रुप दिन बाँकी हो ।’

शिक्षा मन्त्रालयमा एउटा ड्राफ्ट पनि बनेको छ । जसमा मन्त्रिपरिषद्बाट गर्न सकिने निर्णयका बुँदा रहेका छन् । ‘केही विषयमा सहमति जुट्न बाँकी छ । सहमति भएपछि मन्त्रिपरिषद्बाट निर्णय गराउने तय भएको छ,’ मन्त्रालय स्रोतले भन्यो । यसअघि निवर्तमान शिक्षामन्त्री विद्या भट्टराईले ७ बुँदे प्रस्ताव तयार पारेकी थिइन् । त्यसैलाई टेकेर सहमतिको प्रयास भइरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । केही बुँदा थपघट भए पनि त्यसैमा केन्द्रित भएर छलफल अगाडि बढेको उनीहरूको भनाइ छ ।







