४ असार २०८२, बिहिबार | Thu Jun 19 2025

वीरचन्द्र रीन्होः कुलुङका लागि अविस्मरणीय योगदान दिए



निनाम लोवात्ती/दीपेन्द्र थोरेप्पा
संखुवासभाको दुर्गम गाउँ साप्तेल (साबिक ताम्कू गाविस वडा नम्बर-८ (हाल सिलीचोङ गाउँपालिका वडा नम्बर-३) मा बुबा पञ्चकुबेर रीन्हो कुलुङ अनि आमा रामहीरा तोमोछामे कुलुङको कोखबाट विसं १९९८ पुस १५ गते जन्म लिनु भएका वीरचन्द्र रीन्होको मिति २०८१ माघ ३० गते ८४ वर्षमा देहवासन भयो । उहाँको भौतिक शरीरले यस धरतीबाट सँधैसँधैका लविदा लिएको भए तापनि उहाँले समग्रमा कुलुङ समुदाय र कुलुङ समुदायको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थामन संघ (किरात कूलू गूस खम)’ लाई लगाउनु भएको गुण, उहाँले दिनु भएको अमूल्य योगदान एवम् प्रकारले उहाँले दिनु भएको आर्थिक, भौतिक, बौद्धिक, नैतिक लगायत साना साना तथा अनगिन्ती कामहरु उहाँले गर्नु भएको कर्महरुलाई हामीले कदापि पनि बिर्सनु हुँदैन ।

वीरचन्द्र रीन्होको बाल्यकालको अधिकांश समय आफ्नो बुबासंँग गाउँदेखि माथि रहेको खर्क एवम् चरीचरन क्षेत्रमा गाई-भैसी चराएर गोठाले जीवन व्यतित गर्नु भएको थियो । त्यसरी सानो उमेरमा गोठालो गर्ने क्रममा हिउँद याममा किशोरावस्था (लगभग १८ वर्षको उमेरसम्म) उहाँ नून बोक्न धरान बजारको फुस्रे भन्ने ठाउँमा धेरै पटक आउनु भएको थियो । गाउँबाट धरान बजारको फुस्रै आउँदा चिराईतो र सुन्तलाको भारी पनि खेप्ने गर्नु हुन्थ्यो । जसले गर्दा घरको गर्जो टार्नर आफ्नो व्यक्तिगत खर्चमा केही सहयोग पुग्थ्यो । तर, ऊ वेलाको समयमा चुत्ताचप्पल लगाउने चलन थिएन । खालि खुट्टा पैदल हिँडेरै भारी बोकेर त्यति टाढा आउनु पर्दा खुट्टा दुख्ने, सुन्निने, त्यसरी दुःखेको र सुन्निएको खुट्टाले हिँड्नै नसक्ने अवस्था आउँथ्यो । त्यसरी अनेकौ दुःख-कष्टको भारीसँगै बल्लतल्ल फुस्रे आई पुगेको भोलि पल्टै वा त्यही दिन नुन, मरमसला, अन्य आवश्यक घरायसी चिजबिचको भारी बोकेर घर पुर्याउनु हुन्थ्यो । त्यसरी धरानको फुस्रेबाट लगेको भारी पुर्यायो, फेरि जङ्गलको गोठमा बस्न गयो ।दिनचर्या त्यसरी नै बित्ने गथ्यो । हुनत त्यो वेला गाउँघरका जो कोही वर्षमा एक वा दुईपटक धरान किनमेल गर्न आउनैपर्ने हुन्थ्यो । फलतः उहाँको मनमा अब यस्तो दुःखको भारी कसरी बिसाउने ? भन्ने अनेक खालका नानाथरी कुरोहरु मनमा खेल्न थाल्यो । त्यसरी मनमा अनेक थरी कुरोहरु खेल्दाखेल्दै ऊ बेलाको समयमा प्रायः सबै युवाको उत्तम विकल्प भनेको लाहुरे बन्ने हुन्थ्थो । त्यसै क्रममा वीरचन्द्र रीन्हो ज्यूले पनि लाहुरे हुने सपना बुन्न थाल्नु भयो । नभन्दै १९ वर्षको उमेरमा बेलायती सेनामा भर्ती हुनु भयो । उहाँले नयाँ जीवन अर्थात् ‘लाहुरे जीवन’ सुरु गर्नु भयो । बेलायती सेनामा भर्तीपछि त्यही साक्षर बन्दै अगाडि बढ्नु भयो । त्यस क्रममा आफ्नो क्षमता र कार्य कुशलतासहित विभिन्न देशमा जस्तै बेलायत (युके), हङकङ, मलाया लगायतका देशमा आफ्नो कर्म गर्दै जवानीका धेरै समय विदेशी मुलुकमा बिताउनु भयो । हुन पनि उहाँले गाउँ-घरको दुःख-कष्ट राम्रोसँग बुझेको हुनाले उहाँ बेलायती सेनाबाट छुट्टी आउँदाखेरि गाउँका युवाहरूलाई खेलूकुदका सामग्रीका साथै विद्यालयका लागि शैक्षिक सामग्री उपलब्ध ल्याई दिनु हुन्थ्यो । यसरीउहाँले छुट्टीमा आउँदा गाउँ-घरका युवाहरूका लागि भनेर खेलूकुदका सामग्रीका साथै विद्यालयका लागि शैक्षिक सामग्री ल्याई दिएर सामाजिक सेवाको शुभारम्भ गर्नुभएको थियो । स्मरणीय छ, उहाँले बेलायती सेनाबाट निवृत्त भएपश्चात धरान नगरपालिकाको १३ नम्बर वडा, अमरहाटमा स्थायी बसोवास गर्नु भएको थियो ।

लाहुरे जीवनबाट अवकासपछि २०४९ साल पौषमा धरान १० स्थित स्व. क्याप्टेन कृष्ण बहादुर गान्खू कुलुङ ज्यूको घरमा भएको प्रथम ‘किरात कूलू गूसखम’को सम्मेलनबाट संस्थापक कोषाध्यक्ष भई औपचारिक रूपमा कुलुङ समुदायको सेवामा समर्पित हुनु भयो । शून्यबाट शुरु भएको संस्थामा कुलुङ संघको संस्थागत विकासका लागि कार्यलय स्थापना गर्न भनी डटेर लाग्नु भयो । त्यस क्रममा उहाँले ‘मुठ्ठी-दान’को सुरुवात गर्नुभयो । सबैसँंग हातेमालो गर्दै विशेषतः आफ्नो नम्बरी साथीहरु र सिनियरहरुसँंग आर्थिक संकलन गर्नमा महत्वपूर्ण जिम्मेवारी बहन गर्नु भयो । फलतः ऊ वेला पाँकन्या गाविस-५ देवीगाउँमा ५ कठ्ठा जग्गा ‘किरात कूलू गूसखम’को नाममा किन्नु भयो । त्यसलाई तत्कालै किरात कूलू गूसखमको नाममा दर्ता (रजिष्ट्रेशन पास) गराउनु भयो । जग्गा खरिद गरेको दुई वर्षमा (विसं २०५३ मा) एकतले आरसीसी घर ठड्याउन सफल हुनुभयो । उक्त भवन तत्कालीन सरकारका वरिष्ठ मन्त्री बलबहादुर राई ज्यूबाट उदघाटन गराउनु भयो । किरात कूलू गूसखमलाई जिल्ला प्रशासन कार्यलय, सुनसरीको इनरुवाबाट ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ’ भनी आधिकारिक रुपमा दर्ता गराउन भूमिका खेल्नु भयो । कुलुङ समुदायको पहिचानका लागि कुलुङ भाषाका लोक कथा, कथा, नाटक, गीत, संगीत, नृत्य आदिको महत्वबारे कुलुङ जातिलाई बुझाउन र त्यसका लागि कुलुङ समुदायलाई ब्युँझाउन लागी पर्नु भयो । युवाहरुलाई संलग्न गराउन हर तरहले प्रयत्न गर्नु भयो । फलतः विसं २०४५ मै रेडियो नेपालमा कुलुङ भाषाको गीत गाइ सक्नु भएका भरत थोरेप्पा कुलुङ ज्यूको सांगीतिक र सांस्कृतिक नेतृत्वमा निनाम–रीदुम कुलुङ सांस्कृतिक परिवार सुनसरीको विष्णुपादु गाविस-८ बरडाँडामा स्थापना गरिएको ‘कुलुङ सांस्कृतिक समूह’लाई ‘किरात कुलु गुसखम’संँग हातेमालो गराउँदै हरेक वर्ष तिहार पर्वको अवसरमा धरान नगरभित्र (पछि काठमाण्डौंसम्म पनि) देउसी-भैलो कार्यक्रम आयोजन गर्नु भयो । २०५१ सालको पौषमा संखुवासभाको बुधबारे बजारमा भएको दोस्रो अधिवेशनबाट पुनः उहाँ केन्द्रीय कोषाध्यक्षमै निर्वाचित हुनु भयो । त्यसपछि गूसखमको आर्थिक एवम् भौतिक सुधारमा अझ बढी इट्टा थप्न भनी कुलुङ गाउँ-वस्तीहरुमा पुगेर बुझाउन र ब्यूँझाउनलाई अनवरत लागी पर्नु भयो ।

यसरी विस्तारै सबै जिल्लामा कुलुङ संघको जिल्ला कार्य समिति गठन गर्दै कुलुङ जातिका बारेमा चिन्तन-मनन गर्न र विचारमा प्रस्टता ल्याउन अनि उर्जा दिँदै अगाडि बढ्न उहाँको अमूल्य योगदान रहँदै आएको थियो । उहाँमा एक्ला एक्लैभन्दा पनि समूहगत रुपमा काम गर्ने र त्यसैमा गरेर रमाउने र, सबैलाई राजी-खुशीसाथ कुलुङ समुदाय र किरात कूलू गूसखमको यात्रामा अगाडि सर्न जाहने अग्रज पुर्खा, युवा, विद्यार्थी, महिला तथा आम समुदायको मनोभावनालाई बुझेर सोहीनुसार निर्णय गर्न सक्ने एक कुशल नेतृत्वको भूमिका निर्वाह गर्ने क्षमता रहेको थियो । उहाँले कुलुङ समुदायका हकहितका लागि काम गर्ने क्रममा सबैभन्दा महत्वपूर्ण काम गर्नु भएको भनेको केही काममा सुनसरी जिल्लाको धरानको (हाल कूलू गूसखमको केन्द्रीय कार्यलय रहेको स्थानदेखि पूर्व-उत्तरमा) करिव १ किलोमिटर नजिकै रहेको स्थापना एक हो । स्मरणीय छ, पछिल्लो पटक त उहाँ लगातार रुपमा त्यही बस्नु भएको थियो । हुन पनि सुरुमा खाली जग्गा र नाङ्गो डाँडाको रुपमा रहेको सो ठाउँमा वीरचन्द्र ज्यूले अनेक प्रजातिका हजारौं रुख-विरुवा तथा फलफुल लगाएर संघको आमदानी बढाउनका कम्मर कसेर लाग्नु भएको थियो । हाल सो ‘कुलुङ चारी तोसखम’ किरात कूलू गूसखमकै संरक्षणकत्वमा रहेको छ । सो ‘कुलुङ चारी तोसखम’ करिव २.९४१ हेक्टर (११.६२ विघा÷६.१२५८५६ एकड) क्षेत्रफल रहेको छ । सो ‘कुलुङ चारी तोसखम’ क्षेत्रलाई सुन्दर पर्यटकीय र सांस्कृतिक महत्वको भूमिका रुपमा परिचित गराउन सकिन्छ । जुन कामले वीरचन्द्र रीन्हो ज्यूको सम्झनालाई सँधै ताजा र स्मरणीय राख्नका लागि पनि अब हामीले कदम चाल्नुपर्ने हुन्छ ।

विसं २०५४ देखि २०५६ सम्मको समयावधिमा कुलुङ समुदायको संस्थागत विकासमा निरन्तरता दिँदै विसं २०५७ मा कुलुङ संस्कृति संरक्षणका निम्ति ऐतिहासिक कार्यक्रमबारे सोच्नु भएको थियो । जुन पछि गएर साँच्चै ऐतिहासिक बन्यो । त्यो थियो, हाल किरात कूलू गूसखमका वरिष्ठ सविच रहनु भएका दुर्गादास तोमोछा कुलुङले निर्देशन गर्नु भएको र, दीपेन्द्र थोरेप्पा कुलुङले लेख्नु भएको ‘रिदुम सम्सुराम’ (संस्कृति बचाऔं) नामक कुलुङ भाषाको नाटक । सो कुलुङ भाषाको पहिलो नाटकको रुपमा रहेको छ, हो । सो नाटक धरान-१० स्थित सैनिक भवनमा विसं २०५७ बैशाख १० गते मञ्चन गरिएको थियो । जुन नाटकबाट एकै दिनमा ऊ वेला समयमा पनि ५० हजारभन्दा बढी रकम आमदानी भएको थियो । सो नाटकको व्यवस्थापनको जिम्मेवारीमा वीरचन्द्र रिन्होज्यूकै ठूलो योगदान रहेको थियो । उक्त नाटकबाट भएको आमदानीमा देउसी-भैलो खेलेर प्राप्त भएको रकम थपेर सोही वर्ष कुलुङ भाषाको गीत लाइस्पी तुम्खाम हुक्छो शीर्षकको एल्बम धरान म्यूजिक मिडियामा स्वरांकन (रेकर्ड) गरेर काठमाडौंको अनामनगरस्थित म्यूजिक नेपालमा डबिङ गरेर नेपालका कुना-कन्दराका साथै विदेशमा कुलुङ भाषाको गीत प्रवद्र्यन गरियो । त्यस कार्यमा पनि वीरचन्द्र ज्यूको अभिभावकत्व, हौसला अनि व्यवस्थापनको योगदान भुल्न नसकिने रहेको थियो । त्यस्तै विसं २०५७/२०५८ मा कुलुङ संघको गतिविधिहरु विभिन्न सञ्चार माध्यमबाट संप्रेषण गर्न भनी रेडियो नेपालको क्षेत्रीय प्रशारण केन्द्र धनकुटामा अनुरोध गरिएको थियो । त्यसको नेतृत्व वीरचन्द्र ज्यूले गर्नु भएको थियो । तर, पहिले नै ‘राई !’ जातिको भाषाको कार्यक्रम भनेर बान्तावा जातिको भाषाको कार्यक्रम सञ्चालन भई रहेकोले कुलुङ भाषामा अर्को छुट्टै कार्यक्रम गर्न/कुलुङ भाषामा कार्यक्रम सञ्चालन गर्न नमिल्ने भन्दै रेडियो नेपालको क्षेत्रीय प्रशारण धनकुटाले अनुमति नदिएपछि शप्तकोशी एफएमबाट कुलुङ भाषाको कार्यक्रम रोक्तोखोम (इन्द्रेणी) गरिएको थियो ।

विसं २०६३ मा संखुवासभा र भोजपुरको संयुक्त सम्मेलन संखुवासभाको बुधबारे बजारमा भव्यतापूर्वक सम्पन्न गराउन महत्वपूर्ण योगदान रहेको थियो । साथै सिधै सोलुखुम्बुको महाकुलुङ छेस्काममा १८ जना पुर्खाहरु, वौद्धिक व्यक्तित्वहरु यम बहादुर होनित्ती, केन्द्रीय कोषाध्यक्ष भलाकाजी ङोपोचो लगायतका सांस्कृतिक अध्ययन भ्रमण टोलीले तत् समयमा पौष महिनाको १५ गते नयाँ वर्ष चाक्चाकूरसंँगै छेस्काममा सयौं ज्येष्ठ पुर्खाको उपस्थितिमा राज्यले दमन गरेर, उपेक्ष्ष गरेर विलीन भई सकेको मीनारी दाचाम् ‘चाक्चाकुर’ पर्वलाई विधिवत ढंगले ब्यूँझाउने काम औपचारिक रुपमा शुभारम्भ भयो । वीरचन्द्र रीन्हो ज्यूको नेतृत्वमै पुनः शुभारम्भ गरिएको थियो । जुन पुनः जागरणले आज स्वदेश तथा विदेशमा रहेका प्रायः कुलुङ समुदायलाई आफ्नो मौलिक ‘चाड-पर्व’ चाक्चाकूरको अवसरमा गाउँ-घर छाडेर टाढाटाढा गएका कुलुङहरु आफ्नो गाउँ-घरमा सबै भेला भएर हर्षोल्लासका साथ मनाउने गर्छन् ।

प्रकाशित मिति : २७ जेष्ठ २०८२, मंगलबार  ९ : ०६ बजे