काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफ्ना नजिकका सांसदहरूसँग आज दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बैठक गरेका छन् । संस्थापन इतर समूहका एक नेताले बैठकको पुष्टि गर्दै हाल छलफल जारी रहेको जानकारी दिए ।
पार्टीभित्रको आन्तरिक समीकरण र भावी रणनीतिबारे विचार विमर्श गर्न कोइरालाले यो बैठक डाकेको बताइएको छ । बैठकको एजेन्डाबारे औपचारिक रुपमा केही खुलाइएको छैन तर पछिल्लो समय कांग्रेसभित्र नेतृत्वको भूमिकालाई लिएर उठिरहेका प्रश्नसँग सम्बन्धित विषयमा छलफल भइरहेको स्रोतको भनाइ छ ।
यता, डा. कोइरालाले पार्टी बाहिरका नेताहरूसँग पनि भेटवार्ता तीव्र पारेका छन् । केही दिनअघि मात्रै उनी पूर्वराष्ट्रपति विद्या भण्डारी र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उनीहरूको निवासमै पुगेर भेटेका थिए ।

कोइराला निकट नेताहरूका अनुसार उनले अन्य दलका शीर्ष नेताहरूसँग समेत संवाद बढाउँदै पार्टी भित्र र बाहिर आफ्नो राजनीतिक हैसियत बलियो बनाउने प्रयास गरिरहेका छन् ।







