काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) को नेतृत्वमा कुनै परिवर्तन नगरी रञ्जिता श्रेष्ठलाई नै अध्यक्षका रूपमा कायम राख्ने निर्वाचन आयोगले निर्णय गरेको छ ।
आयोगको हालै सम्पन्न बैठकले अध्यक्ष पदमा हेरफेर भएको भन्दै प्राप्त विवरणहरू प्रक्रिया अनुसार नभएको ठहर गर्दै पुरानै अभिलेख यथावत् राख्ने निर्णय गरेको हो । आयोगका एक अधिकारीका अनुसार, अध्यक्ष परिवर्तनको जानकारीसहित अद्यावधिक गर्न माग गर्दै पत्र आएको भए पनि, सो प्रक्रिया कानूनी रूपमा पूरा नभएको कारण मान्य नहुने निष्कर्ष निकालिएको हो ।
यसअघि, नाउपाभित्र उत्पन्न विवादपछि साउन १४ र १५ गते काठमाडौंमा आयोजित राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई अध्यक्ष पदबाट हटाई लालवीर चौधरीलाई नयाँ अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सो निर्णयअनुसार पार्टीले आयोगमा अद्यावधिकको माग गरेको थियो, तर आयोगले प्रक्रिया अपूर्ण रहेको भन्दै पुरानै अवस्थालाई निरन्तरता दिने जनाएको छ ।








