काठमाडौं । कोस्टारिकाको नयाँ राष्ट्रपतिको रूपमा लाउरा फर्नान्डेजले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सान जोसस्थित नेशनल स्टेडियममा शुक्रबार आयोजित एक विशेष समारोहका बीच उनले आगामी ४ वर्षका लागि राष्ट्रपतिको कार्यभार सम्हालेकी हुन् ।
३९ वर्षीया फर्नान्डेजलाई निवर्तमान राष्ट्रपति रोड्रिगो चाभेसले राष्ट्रपतीय ओहोदाको प्रतीक स्यास हस्तान्तरण गरेका थिए । उक्त समारोहमा विभिन्न देशका विशिष्ट अतिथिहरूसहित करिब २० हजार सर्वसाधारणको उपस्थिति रहेको थियो ।
सोभरेन पिपल्स पार्टी (पीपीएसओ) का तर्फबाट उम्मेदवार बनेकी फर्नान्डेजले गत फेब्रुअरी १ मा भएको निर्वाचनमा धेरै उम्मेदवारहरूलाई पछि पार्दै जित हासिल गरेकी थिइन् । राजनीतिशास्त्री रहेकी उनको पार्टीले ५७ सिटको संसद्मा ३१ सिट जितेर पूर्ण बहुमतसमेत हासिल गरेको छ ।

यसअघि उनले राष्ट्रिय योजना तथा आर्थिक नीति मन्त्री र त्यसपछि राष्ट्रपतीय मन्त्रीका रूपमा जिम्मेवारी सम्हालिसकेकी छन् ।







